Hamro Patra
डल्फिन क्षेत्रमा भ्यू टावरको शिलान्यास

टीकापुर, जेठ २८
टीकापुर नगरपालिका–७ बैदीमा डल्फिन भ्यू टावर निर्माण हुने भएको छ । भ्यू टावरको आज एक समारोहकाबीच सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले शिलान्यास गरेका छन ।

रावलकै पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्र्तगत १४ लाखको लागतमा भ्यू टावर निर्माण गरिन लागेको हो । भ्यू टावरको शिलान्यासका क्रममा बोल्दै साँसद रावलले डल्फिनलाई पर्यटनसँग जोड्नुपर्ने बताए ।

Khadga Memorial And Janajagriti

उनले संसारमै लोप भैसकेको डल्फिन मोहना र पथरैया नदीको दोभानमा सहजै देख्न सकिने भएकाले यसको संरक्षणमा स्थानीय जुट्न आग्रह गरे । उनले नदी नाला सफा राखेर डल्फिनको बासस्थानलाई सुरक्षित पार्नुपर्नेमा जोड दिए ।

सो अवसरमा साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिँह कडायतले डल्फिन क्षेत्र बाढी प्रभावित क्षेत्र समेत भएकाले यहाँका जनताको जीविकोपार्जनमा सहयोग पुग्ने खालका कार्यक्रम समेत सञ्चालन गर्न आवश्यक रहेको बताए ।

टीकापुर नगरपालिका वडा नं. ७ का वडा सदस्य यमलाल रेग्मीले तेरो मेरो नभनेर विकासका काममा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

भ्यू टावर निर्माणका लागि स्थानीय टोपबहादुर केसीले निशुल्क १ कठ्ठा जमिन दिएका छन । उनकै अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर भ्यू टावर निर्माणको काम भैरहेको छ ।

भ्यू टावर निर्माणको काम आगामी साउन २० गतेसम्ममा सम्पन्न हुने बताईएको छ । यसै वर्षायाममा भ्यू टावर चढेर मोहना र पथरैया नदीमा डल्फिन अवलोकन गर्न सकिने बताईन्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update