Hamro Patra
समाचार प्रभावः अन्ततः नमूना ब्लक निर्माण कार्य शुरु

टीकापुर, मंसिर २२

टीकापुर नगरपालिका वडा नं. १ को ब्लक ए निर्माण कार्य आजदेखि शुरु भएको छ । निर्माण कम्पनी महालक्ष्मी एम.के.जेभीले अस्पताल लाइनबाट निर्माण शुरु गरेको हो ।

तीन वर्षअघि शुरु भएको निर्माण कार्य झण्डै ६ महिनादेखि ठप्प भएको थियो । काम ठप्प गरेर निर्माण कम्पनी गुमनाम भएपछि हाम्रोपत्रले लगातार समाचार प्रकाशित गरेको थियो । निर्माण कम्पनीका प्राविधिक जयराम थापाले आजदेखि निर्माण कार्य शुरु भएको बताए ।

Khadga Memorial And Janajagriti

‘आजदेखि हामीले ग्रेडिङको काम शुरु गरेका छौं, चार पाँच दिनपछि यो सुकेपछि हामी खड्गचोकबाटै कालोपत्रे शुरु गर्छौं’ थापाले भने ‘चिसोका कारण कालोपत्रे गर्न अवरोध नपुगे काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’

डेढ वर्षभित्रै सम्पन्न गर्ने गरी तीन वर्ष अघि निर्माण कार्य शुरु गरेको निर्माण कम्पनीले आजदेखि ग्रेडिङ कार्य शुरु गरेपछि स्थानीय काम शुचारु हुनेमा आशावादी भएको स्थानीय व्यवसायी गंगाराम चपाईले बताए । ‘तपाईहरुले निरन्तर समाचार लेखेपछि यो शुरु भएको हो, हामी निकै खुशी भएका छौं’ चपाईले सुझाए ‘फेरि पनि तपाईहरु चुप नलागि दिनुहोला ।’

सडक निर्माण कार्य शुरु भएसँगै आजै नै शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका आयोजना प्रमुख डिभिजनल इञ्जिनियर रमेश थिङ लगायतको प्राविधिक टोलीले निर्माण कार्यको अनुगमन गरेको छ ।

‘सरकारको निणर्यका कारण सडक केही समय अवरुद्ध भए पनि आयोजनाबाटै सम्पन्न हुने गरी काम शुरु भएको छ’ आयोजना प्रमुख थिङले भने ‘अब पनि समयमै काम सम्पन्न नभए निर्माण कम्पनीलाई जरिवाना गर्नेछौं ।’

नगरको मुख्य बजार क्षेत्रमै निर्माण भइरहेको नमूना ब्लक निर्माण कार्य तथा जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक समेत टोलीले अनुगमन गरेको हो । टोलीले आयोजनाको काम बारे टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहसँग छलफल समेत गरेको छ । उपप्रमुख शाहले सडक निर्माण कार्यको निरन्तर अनुगमन र गुणस्तरीय निर्माणमा नगरपालिकाले ध्यान दिइरहेको बताए ।

‘हामीले निर्माण कम्पनी, आयोजना कार्यालय लगायतसँग निरन्तर ताकेता गरिरहेका थियौं’ उप-प्रमुख शाहले भने ‘हाम्रै आग्रहमा आयोजनाका प्रमुखसहित टोली फिल्डमा आएको हो, उहाँले यो टीकापुरबासीको समस्यालाई समाधान गर्नु हुनेछ भन्ने विश्वास छ ।’

नमूना ब्लक अन्तर्गत मुख्य बजार क्षेत्रको झण्डै ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण गर्नुपर्ने छ । ब्लक ए को तीन तिरको मुख्य सडक र केही भित्री सडक समेत कालोपत्रे हुनेछन ।

https://www.youtube.com/watch?v=ZJUwmigdYgg

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update