Hamro Patra
मेयर शाहीले किन्न लगाईन आफ्नै शोरुमबाट मोटरसाइकल

टीकापुर, मंसिर १६

कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही मोटरसाइकल खरिद प्रकृयामा विवादमा तानिएकी छन । उनले लम्की बजारस्थित आफ्नै शोरुमबाट नगरपालिकाका लागि झण्डै ४० लाख रुपैयाँ बराबरको मोटरसाइकल खरिद गर्न ठाडो निर्देशन दिएको आरोप छ ।

मेयर शाही लम्की बजारमा रहेको जी.एस.एस. टे्रडर्सकी सञ्चालक हुन । उनी मेयर भैसकेपछि सो शोरुमबाट जनप्रतिनिधिका नाममा पटक पटक गरी ७ वटा मोटरसाइकल र २ वटा स्कुटी खरिद भएको छ । ती मोटरसाइकल र स्कुटी वडाध्यक्षहरुको लागि खरिद गरिएको भनिएको    छ ।

Khadga Memorial And Janajagriti

लम्कीचुहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लोकेन्द्र कठायतले खरिद गरिएको मोटरसाइकल नलग्ने भनेपछि मोटरसाइकल खरिदको घटना सार्वजनिक भएको हो । उनी पूरानै मोटरसाइकल चढिरहेका छन ।

मोटरसाइकल खरिदको विषयलाई लिएर चर्को विरोध भएपछि वडा नं. १ का वडाध्यक्ष नेत्रप्रसाद खनाल र वडा नं. २ का वडाध्यक्ष सन्तोषकुमार ओलीले मोटरसाइकल फिर्ता गरेका छन । उनीहरुले नगरपालिका कम्पाण्डमा मोटरसाइकल राख्नुका साथै जिन्सी शाखामा चाभी छोडेर हिँडेको जिन्सी शाखा प्रमुख लिलबहादुर खत्रीले जानकारी दिए ।

जिन्सी शाखा प्रमुख खत्रीले आफू कहाँ दाखिला नभएको सामान बुझ्न अस्विकार गरेका छन । उनले दाखिला नै नभएको सामान बुझ्दा समस्या हुने भएकाले त्यसो गरेको बताए ।

वडा नं. १ का वडाध्यक्ष खनालले आफूलाई झुक्याएर जबरजस्ती मोटरसाइकल बुझ्न लगाएको दावी गरे । ॅकसरी किनेको हो केही थाहा छैन’ उनले भने -ॅशोरुममा गएर मोटरसाइकल लैजानुस भने लगेर गयौं ।’ उनले आफूले मोटरसाइकलको माग समेत नगरेको बताए ।

नगर सभाले मोटरसाइकल खरिदका लागि ५० लाख रुपैयाँ छुट्याएको थियो । सोही रकमबाट मोटरसाइकल र स्कुटी खरिद गरिएको वडा नं. ३ का वडाध्यक्ष तथा प्रवक्ता लव शाहीले जानकारी दिए । उनी समेत मोटरसाइकल बुझ्ने वडाध्यक्ष भित्र पर्छन । तर उनले आफूले भने मोटरसाइकल नलगेको दावी गरेका छन ।

नगरपालिकाले मोटरसाइकल खरिदमा सार्वजनिक खरिद ऐनलाई मिचेको पाईएको छ । एकै पटक मोटरसाइकल खरिद गर्दा टेण्डर गर्नुपर्ने भएकाले कोटेशन मार्फत पटक पटक मोटरसाइकल खरिद गरिएको छ । कोटेशन माग गर्दा समेत नजिकका सबै शोरुमलाई सार्वजनिक सूचना मार्फत कोटेशन आह्वान गर्नुपर्नेमा त्यसो गरेको पाईदैन । मेयर शाही सञ्चालक रहेको शोरुमले कागजात मिलाएर कोटेशन भरेको स्रोतको दावी  छ ।

प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बुढाले यस बारेमा आफूलाई सबै कुराको जानकारी नभएको बताए । उनले आफूले ४ वटा मोटरसाइकलको भुक्तानी दिएको र २ वटाको भुक्तानी दिन बाँकी रहेको जानकारी दिए । ॅमलाई धेरैकुरा थाहा छैन । म भदौ २१ गते हाजिर भएको हुँ’ उनले भने -ॅकेही मोटरसाइकल त्यसअघि नै खरिद भैसकेको भन्ने सुनेको छुँ ।’

उनले मोटरसाइकल खरिदमा केही कमिकमजोरी भएको स्विकारेका छन । उनले नियम सबैले मान्नुपर्ने भन्दै घुमाउरो पारामा आफू दवावमा रहेको छनक दिएका छन । स्रोतका अनुसार नगरपालिका कर्मचारीहरुका लागि समेत सोही शोरुमबाट थप मोटरसाइकल खरिद भएको छ । ती मोटरसाइकलका बारेमा भने खाशै चर्चा हुने गरेको छैन ।

अहिलेसम्म कतिवटा मोटरसाइकल खरिद भयो भन्ने बारेमा नगरपालिकाको जिन्सी शाखाका प्रमुख खत्रीले प्रष्ट जवाफ दिएनन् । उनले आफू हालै मात्र शाखा प्रमुख भएर आएकाले धेरै कुरा थाहा नभएको बताए । ॅम बरबुझारथकै क्रममा छुँ । मलाई धेरै कुरा जानकारी छैन’ उनले भने -ॅसबै कुरा थाहा पाएपछि मात्रै भन्न सक्छु ।’

नगरपालिकाले महंगो मोटरसाइकल खरिद गरेको छ । हालै बजारमा आएको यामाहा कम्पनीको ४ लाख ४० हजार रुपैयाँ पर्ने मोटरसाइकल खरिद गरिएको बताईएको छ । आफ्नो व्यवशायलाई केन्द्रमा राखेर मेयर शाहीले वडाध्यक्षका लागि महंगो मोटरसाइकल खरिद गर्न लगाएको भन्दै चर्को आलोचना भैरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update