Hamro Patra
खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण हुँदै

टीकापुर, मंसिर १६

खानेपानीको मुख्य पाइपमाथि टीकापुरमा वर्षाते पानी व्यवस्थापन नाला (ड्रेन) निर्माण हुने भएको छ । टीकापुर नगरपालिका वडा नं. १ को खडक चोक नजिकै निर्माण भइरहेको सतही नाला खानेपानीको मुख्य पाइप (डीआई) माथि निर्माण हुने भएको हो ।

वर्षायाममा हुने डुबानको व्यवस्थापनका लागि निर्माण भइरहेको नाला खानेपानीको मुख्य पाइपमाथि निर्माण हुन लागेपछि स्थानीयले आपत्ती जनाएका छन् ।

Khadga Memorial And Janajagriti

स्थानीय व्यापारी तपेन्द्र क्षेत्रीले खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण हुनु दुःखद् भएको बताए । ‘खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण भइरहेको छ, भोलि पाइप मर्मत गर्नुपर्ने अवस्थामा नाला नै भत्काउनु पर्ने हुनसक्छ’ उनले भने ‘पाइपको दायाँबायाँ नाला निर्माण गर्नुको साटो पाइपमाथि नै निर्माण हुनुले बनाउने र बिगार्ने काम मात्रै हुने भयो ।’

स्थानीय युवा प्रकाश खत्रीले खानेपानीको पाइप विस्तारका क्रममा अन्दाजका भरमा पाइप हालेका कारण निर्माणमा समस्या आइरहेको बताए । ‘अन्दाजका भरमा पाइप हालिएको छ, निर्माण हुँदा कयौंपटक पाइप फुट्छ’ खत्रीले भने ‘हुँदा हुँदा मुख्य पाइपमाथि नै नाला बन्ने भएछ ।’

टीकापुर नगरपालिकाका इञ्जिनियर नवराज जोशीले खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न नहुने बताए । ‘हामी अहिले नै यसबारेमा बुझ्छौं, पाइपमाथि नाला निर्माण गर्न मिल्दैन’ उनले भने ‘निर्माण कम्पनीले पाइप सारेर नाला बनाउनु पर्छ ।’

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी खानेपानी आयोजना व्यवस्थापन कार्यालयले निर्माणको अनुगमन गरिरहेको छ । खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न नमिल्ने बताउँदै बताउँदै टीकापुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नरेशकुमार खत्रीले उक्त पाइप दायाँबायाँ सारेर मात्रै नाला निर्माण गर्नुपर्ने बताए ।

‘निर्माण कम्पनीसँग हामी कुरा गर्दैछौं’ अध्यक्ष खत्रीले भने ‘खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न मिल्दैन, पाइप सार्नुको विकल्प छैन ।’
वर्षाते पानी व्यवस्थापनका लागि तुँदी कन्स्ट्रक्सनले नाला निर्माण गरिरहेको छ । निर्माण कम्पनीका इञ्जिनियर उदय पोखरेलले खानेपानीको मुख्य पाइप (डिआइ) भएका कारणले नाला निर्माण हुँदा कुनै समस्या नहुने बताए ।

‘यो पाइपको आयु लामो हुन्छ, यसबाट पानी वितरण नहुने भएकाले समस्या हुँदैन’ उनले भने ‘हामीलाई नगरपालिकाले दिएको मापदण्ड अनुसार सडकको ३८ मिटर चौडाईमा नाला निर्माण गरिरहेका छौं, यसले खासै समस्या हुँदैन ।’

निर्माण कम्पनीले खानेपानीको पाइप सार्ने दायित्व र जिम्मा आफूहरुको नभएको जिकिर गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update