Hamro Patra
छ लेन सडक-६ः तार र पोल हटाउँदै टेलिकम

टीकापुर, मंसिर १४

नेपाल टेलिकमले छ लेन सडकमा पर्ने टेलिफोनको पोल र तार हटाउने भएको छ । टीकापुरको मुख्य बजार क्षेत्रमा पर्ने झण्डै २ किलोमिटर छ लेन सडकमा पर्ने टेलिकमका तार र पोलका कारण निर्माणमा समस्या भएको समाचार प्रकाशित भएपछि टेलिकलले तत्काल पोल हटाउने तयारी गरेको छ ।

Khadga Memorial And Janajagriti

नेपाल टेलिकमको टीकापुरस्थित कार्यालयका प्रमुख जलेश्वर श्रेष्ठले निर्माण कम्पनी रमण केएस जेभीले सडकमा पर्ने टेलिकमका तार र पोल हटाउन पत्राचार गरेसँगै धनगढीस्थित कार्यालयबाट प्राविधिक बोलाएर पोल र तार हटाउने तयारी गरिएको बताए ।

‘सडकमा रहेका पोल हटाउन टीकापुर कार्यालयबाटै काम हुने भए पनि भूमिगत तार तथा सिस्टमका लागि धनगढीबाट प्राविधिक आउँदै छन्’ कार्यालय प्रमुख श्रेष्ठले भने ‘स्टिमेट तयार गरेर पर्सीदेखि नै तार र पोल हटाउने कार्य शुरु गर्दैछौं ।’

नेपाल टेलिकम टीकापुरले यसअघि असार, भदौमा समेत धनगढीस्थित कार्यालयलाई पोल र तार हटाउनका लागि पत्राचार गरेको थियो । सडक निर्माणमा तार र पोलले अवरोध भइरहेको विषयमा हाम्रोपत्रमा समाचार प्रकाशित भएपछि धनगढीस्थित कार्यालयले समेत प्राविधिक पठाएको छ ।

दुई वर्षमै सम्पन्न हुनुपर्ने छ लेन सडक विद्युत, टेलिकम लगायतका कारण समेत निर्माणमा ढिलाई भएको निर्माण कम्पनी रमण केएस जेभीले बताउँदै आएको छ ।

जमरा पुलदेखि ब्लक नं. १३ सम्म पर्ने १९ वटा पोलमा नेपाल टेकिलम, केबल प्रसारण लाइन र इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु रहेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीबाट निर्माण भइरहेको छ लेन सडक स्मार्टसिटी कार्यक्रममा पर्छ ।

२०७५ असोज ११ गते शुरु भएको दुई लेन सडक २०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको थियो । संघीय सरकारको २० करोड रूपैयाँको लागतमा निर्माण हुने जमरा पुलदेखि बसपार्कसम्मको २ दशमलव ३ किलोमिटर छ लेन सडक चार चार वर्ष बितिसक्दा समेत पूरा हुन नसकेको विषयलाई हाम्रोपत्र डटकमले निरन्तर प्रकाशित तथा प्रसारण गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update