Hamro Patra
... र उदायो नागरिक उन्मुक्ति

टीकापुर, मंसिर ८

तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा थरुहट थारुवान राज्य परिकल्पना गरियो । जनयुद्धमा झण्डै ५ हजार बढी थारुहरुले ज्यान गुमाए । २०६४ मा पहिलो दल बनेको माओवादीले संविधान जारी हुँदासम्म जातीय र वर्गीय मुद्दालाई वेवास्ता गर्यो । २०७२ सालमा संविधान जारी हुन पूर्व आफ्नो पहिचान जोडिएको राज्य माग गर्दै आन्दोलनहरु भए ।

अखण्ड सुदूरपश्चिम, अखण्ड मध्यपश्चिम लगायत आन्दोलन शुरु भएपछि तराईलाई थरुहट थारुवान राज्य हुनुपर्ने माग गर्दै थारु समुदाय आन्दोलनमा उत्रियो । झण्डै महिना दिनसम्म चलेको आन्दोलनकै क्रममा २०७२ भदौ ७ गते टीकापुर घटना भयो ।

Khadga Memorial And Janajagriti

आन्दोलनकारीको आक्रमणमा परी ८ सुरक्षाकर्मीसहित एक नाबालकले ज्यान गुमाए । भदौ ८ गते अखण्ड सुदूरपश्चिम पक्षधरहरुले थारु समुदायका घर, पसलमा आगजनी गरे । रेशमलाल चौधरीको फुलबारी रिसोर्ट, फूलबारी एफएम लगायतमा आगजनी भयो ।

टीकापुर घटनामा संलग्न रहेको आरोपमा थुप्रै थारु अगुवाहरु पक्राउ परे । घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरी भूमिगत भए । २०७४ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्यमा भूमिगत अवस्थामै ३४ हजार ४३१ मत ल्याएर राष्टिय जनता पार्टीबाट विजयी भए । उक्त पार्टीले समेत टीकापुर घटनाका बन्दीहरुको मुद्दा सम्बोधनका लागि पहल नगरेपछि रेशमलाल चौधरीको संरक्षकत्वमा २०७८ पौषमा रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन भयो ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कैलाली क्षेत्र नं. १ का चार पालिकामा जीत हात पार्यो । नागरिक उन्मुक्तिले टीकापुर र भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा जित निकाल्यो । गठबन्धन बनाएर चुनावमा होमिएका काँग्रेस, नेकपा माओवादी, समाजवादीका उम्मेदवारहरुले नागरिकलाई उछिन्न सकेनन् । त्यही नतिजाले हौसिएका थारु अगुवा जातीय पहिचानको मुद्दालाई अघि बढाउँदै संगठनमा लागे ।

जनसंख्याका हिसाबले थारु बाहुल रहेको क्षेत्रमा उन्मुक्तिले मुद्दालाई स्थापित गरेको छ । पार्टी अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले संक्षेप विजयी र्यामीमा संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् ‘टीकापुर घटनाको उचित छानविन र पहिचानको मुद्दा नै हाम्रो प्राथमिकता हो ।’

नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य रेशम विश्वकर्माले जातीय पहिचान, उत्पीडित वर्गको उत्थान र उन्मुक्तिको मुद्दालाई यस क्षेत्रका मतदाताले अनुमोदन गरेको बताए । ‘यस क्षेत्रमा रहेका बहु जातीय पहिचान, विभिन्न उत्पीडित वर्गको उत्थान र उनीहरुको उन्मुक्ति नै हाम्रो मुद्दा हो’ विश्वकर्माले भने ‘यसलाई पश्चिम तराईका मतदाताले अनुमोदन गरेका छन् ।’

नागरिक उन्मुक्तिको जीतपछि नाम उल्लेख नगर्ने शर्तमा एक सामाजिक अगुवाले भने ‘संविधान सभा देखि नै थारु समुदायले उठाउँदै आएको पहिचानको माग उन्मुक्तिको जीतले प्रष्ट गरेको छ । कुनै न कुनै रुपले उत्पीडनमा परेका समुदायलाई राज्यले सम्बोधन गर्नुपर्ने देखिन्छ ।’

२०७२ सालको टीकापुर घटनामा संलग्न रहेको आरोपमा रेशमलाल चौधरीसहित दर्जन बढी थारु अधिकारकर्मीविरुद्ध ज्यान मुद्दा चलाइएको छ । उक्त मुद्दा राजनीतिक मुद्दाका रुपमा लिँदै बन्दी थारु अधिकारकर्मीलाई रिहाई गर्नुपर्ने माग उन्मुक्तिले उठाउँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update