परमानन्द पाण्डे
टीकापुर, जेठ २७
प्राकृतिक तालतलैया धेरै भएको जिल्लाका रुपमा चिनिने कैलालीका तालहरु संरक्षणको अभावमा सुक्दै जान थालेका छन् ।
प्राकृतिक तालहरुमा मानवीय अतिक्रमण बढेसँगै संरक्षणको अभावमा रहेका तालहरु सुक्दै र नासिँदै जान थालेका हुन् । जैविक विविधताका लागि महत्वपूर्ण मानिने तालहरु मध्ये केहीको अस्तित्व नामेट भएको छ भने कतिपय तालहरु सुक्दै जान थालेका छन् ।
विश्वमै लोपहुने अवस्थामा रहेको सारसको बासस्थानका रुपमा परिचित भजनीनगरपालिका वडा नं. ७ को पुरैना तालले अस्तित्व नै गुमाएको छ । ६६ हेक्टर क्षेत्रफलमा फैलिएको पुरैना प्राकृतिक ताल हाल कृषियोग्य जमिनमा परिणत भएको छ । स्थानीयले केहीवर्ष यता उक्त तालमा खेती गर्दै आइरहेका छन् ।
भजनीनगरपालिका वडा नं. ३ मा रहेको भगरहियाताल र वडा नं. ५ को पिप्रहवाताल समेत सुकेर खेतीयोग्यजमिनमा परिणत भएको हो ।
खैलाडस्थित झण्डै ८० हेक्टरमा फैलिएको लौकाहाभौकाहा, ४० हेक्टरमा फैलिएको सोनिया, ६० हेक्टरमा फैलिएको घोडताल, रतनपुरस्थित ३५ हेक्टरमा फैलिएको खौरहवा ताल पहिलेको तुलनामा धेरै खुम्चिएका छन् ।
स्थानीय तहले प्राकृतिक तालहरुलाई माछापालनका लागि ठेक्का दिन थालेपछि कैलालीमा रहेका प्राकृतिक तालहरुमा असर परेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।
‘प्राकृतिक तालहरुको प्राकृतिक रुपमै संरक्षण गर्नु पर्नेमा माछापालनका लागि ठेक्कामा दिएर अप्राकृतिक रुपमा दोहन हुनाले तालहरु सुक्दै गएका छन्’, श्रेष्ठले भने–‘फलस्वरुप, कैलालीमा रहेका कैयौं तालहरुको अस्तित्व पुरिएर वा सुकेर समाप्त भएको छ भने भएका पनि सुक्ने क्रममा छन् ।’
प्राकृतिक तालहरु सुक्दै जाँदा सारस लगायतका बसाईसराई गरी आउने चराचुरुंगीको बासस्थान नाश भएको छ भने पानीको मुहानहरु सुक्दै जानथालेका छन् ।
यता, टीकापुर नगरपालिका वडा नं. ७ स्थित ओजुवातालसमेत विगत केही वर्षयता सुक्दै जान थालेको छ । सीमसार क्षेत्रका रुपमा रहेको अजुवाताल क्षेत्रमा मानवीय अतिक्रमण बढेसँगै ताल सुक्दै जान थालेको स्थानीय संरक्षणकर्मी भोजराज ढुंगानाले बताए ।
‘प्राकृतिक तालहरुको उचित संरक्षण हुननसक्नु र नदीमा आउने बाढीका कारण सीमावर्ती क्षेत्रमा रहेका प्राकृतिक तालहरु संकटमा परेका छन्’, ढुंगानाले भने–‘केहीवर्ष पहिले सम्म वर्षैभरि पानी रहने तालहरु अहिले सुक्दै जान थालेका छन् ।’
भारतीय सीमा क्षेत्रसँग जोडिएको बसन्ता कोरिडोर क्षेत्रमा रहेका पाँचवटा ठूला तालहरुको अस्तित्व समाप्त भइसकेको बताइन्छ । एक शय भन्दा बढी ताल रहेको बसन्ता कोरीडोरमा पर्ने प्राकृतिक तालहरुको अप्राकृतिक रुपमा दोहन, वन अतिक्रमण, जथाभावी चरिचरन लगायतका कारणले तालहरुको अस्तित्व सङ्कटमा परेको स्थानीय संरक्षणकर्मीहरु बताउँछन् ।
भजनीनगरपालिका, कैलारी गाउँपालिकालगायतका स्थानीयतहले बसन्ता कोरिडोरमा रहेका तालहरुलाई माछा पालनका लागि ठेक्कादिँदै आएका छन् । बसन्ता कोरिडोर क्षेत्रमा रहेका तालहरुको संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०६४÷०६५ मा बसन्ता कोरिडोरलाई संरक्षित क्षेत्र घोषणा गरेको थियो ।
कैलालीमा रहेका ढोङ्ग्रहवा, नुक्ली, तलबेलुवा, बञ्जरिया, रखौना, जम्नेहटा, चम्रैया, सोनिया, रुपियालगायत सबै तालमा माछा पालन हुने गरेको छ ।
संरक्षित क्षेत्रभित्र पर्ने तालहरुलाई ठेक्कामा लगाउन पाइँदैन । यद्यपि, संरक्षित क्षेत्रको मर्म र अवधारण विपरीत सरकारकै निकायहरुले प्राकृतिक तालहरुलाई माछा पालनका लागि ठेक्कामा दिँदै आएका छन् । जसले गर्दा प्राकृतिक तालहरुको दोहन हुन गइ सिमसार क्षेत्र नै समाप्तहुने खतरा बढेको छ ।
तालमा माछापालन गर्दा माटो बगेर जाने, चुनाको प्रयोग गर्नाले मुलहरु सुक्ने हुँदातालहरु विस्तारै संकटमा पर्दै गएकाहुन् ।
कैलालीमा ७९ वटा ठूला प्राकृतिक तालहरु रहेकोमा केही नाममा मात्रै सीमित हुने अवस्थामा छन् भने कतिपय साँघुरिँदै गएका छन् । प्राकृतिक तालहरुको उचित संरक्षण भने स्थानीय तहले ध्यान दिन सकेका छैनन् ।