Hamro Patra
नागरिकले भत्कायो कम्युनिष्टको किल्ला

टीकापुर, मंसिर ७

कम्युनिष्टको किल्लाका रुपमा चिनिने कैलाली क्षेत्र नं. ३ मा नागरिक उम्मुक्ति पार्टीले क्लिप स्वीप गर्दै किल्ला भत्काएको छ । २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनबाट कम्युनिष्ट किल्ला हुँदै आएको कैलाली क्षेत्र नं. ३ मा पार्टी स्थापनाको ९ महिना नबित्दै उन्मुक्तिले प्रतिनिधि सभा र दुबै प्रदेश सभामा जीत निकाल्दै कम्युनिष्ट किल्ला भत्काएको हो ।

Khadga Memorial And Janajagriti

क्षेत्र नं. ३ मा २०७४ मा सम्पन्न प्रतिनिधि सभामा माओवादी केन्द्रका गौरीशंकर चौधरी २४ हजार ८७९ मतसहित विजयी भएका थिए । त्यस्तै प्रदेश १ मा माओवादीकै विरमान चौधरी १५ हजार ८७३ मतसहित विजयी भए भने प्रदेश २ मा नेकपा एमालेका अमरबहादुर साउँद ११ हजार ८७७ मतसहित विजयी भए । २०७४ मा नेकपा एमाले र माओवादीबिच चुनावी तालमेल थियो ।

क्षेत्र नं. ३ मा २०७० मा सम्पन्न संविधान सभा निर्वाचनमा समेत गौरीशंकर चौधरी तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका थिए । २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका कृष्णकुमार चौधरी २०७९ मा गठबन्धनको साथ पाउँदा समेत नागरिक उन्मुक्तिका गंगारामसँग पराजित हुन पुगे ।

नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी ५ हजार ३७१ मतान्तरसहित विजयी भएका छन् । उनले २३ हजार १२० मत पाएका छन भने निकटतम प्रतिद्वन्दी गठबन्धनका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका  छन ।

उनले हेभिवेट उम्मेदवार गठबन्धनका तर्फबाट संविधान सभा सदस्य कृष्णकुमार चौधरी र नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गौरीशंकर थारुलाई पराजित गरेका छन । १ लाख ७ हजार ६५९ मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ४ हजार २१ मत बदर भएको छ ।

त्यस्तै प्रदेश ३ (१) मा घनश्याम चौधरी र ३(२) मा खुशीराम डगौरा थारु विजयी भएका छन् । प्रदेश (क) मा चौधरीले गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका उम्मेदवार खेमराज डगौरालाई पराजित गरेका हुन । विजयी भएका चौधरीले १३ हजार ९२३ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका डगौराले ११ हजार ५७२ मत प्राप्त गरेका छन् । चौधरी २ हजार ३५१ मतान्तरले विजयी भएका छन् ।

त्यस्तै प्रदेश (ख) मा विजयी भएका थारुले ७ हजार ५३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर साउँदले ६ हजार ६१९ मत प्राप्त गरेका छन् । थारुले ९२० मतान्तरले साउँदलाई पराजित गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update