फेरी अर्को कुरा लेख्न मन लाग्यो । शेरबहादुर देउवाले जुन रुपमा सुदूरपश्चिमको विकास गर्नसक्नु पथ्र्यो, त्यो अनुसार गर्न सकेनन् । यसमा मेरो पनि समर्थन छ । तर डडेल्धुराको रुवाखोला जहाँ राम्ररी घाम समेत लाग्दैन । त्यो विकट ठाउँमा जन्मिएका देउवा यो देशको पाँच पटक प्रधानमन्त्री र दुई पटक काँग्रेसको सभापति भैसके । उनलाई डडेल्धुराबासीले २०४८ सालदेखि निरन्तर जिताईरहेका छन ।
यो बिचमा उनले कति संघर्ष गरे होलान् जसको हामी कल्पना समेत गर्न सक्दैनौं । सुदूरको एक विकट बस्तीबाट उठेको एक ठिटो राज्य व्यवस्थाका विरुद्ध लड्नु सामान्य कुरा थिएन । २०४६ सालको परिवर्तन पछि पनि उनको लडाई सकिएन । उनी पार्टीको आन्तरिक संघर्षमा लडे । काँग्रेसको विरासत कोइराला परिवारको काँधमा थियो । कोइराला परिवार पनि राणा र शाह परिवार जस्तै नेपाली राजनीतिको मियो हो । कोइराला परिवारको हातबाट पार्टीको नेतृत्व खोस्नु देउवाका लागि फलामको चिउरा चपाउनु जस्तै थियो । उनी थाकेनन् । पार्टी विभाजन गरे । पुनः पार्टी एकता गरे । पार्टी भित्र आफ्नो ४० प्रतिशत शक्ति स्थापित गरे । उनको शक्तिको चर्चा चुलियो । उनी पार्टीको नेतृत्वमा पुगेरै छोडे ।
सत्य कुरा के हो भने देउवाले नै सुदूरपश्चिमलाई राष्ट्रिय राजनीतिको चर्चामा ल्याएका हुन । यदि उनी मात्रै नहुने हो भने आजका मितिसम्म पनि सुदूरपश्चिम राष्ट्रिय राजनीतिबाट धेरै टाढा रहन्थ्यो । सुदूरपश्चिमबाट नेपाली राजनीतिमा उनी जत्तिको पात्र जन्मिन अब सय वर्ष लाग्न सक्छ । केही व्यक्ति पञ्चायत र त्यसपछि पनि सुदूरपश्चिमबाट सत्ताको नेतृत्वमा पुगेका थिए । तर उनीहरुले राष्ट्रिय राजनीतिलाई सुदूरपश्चिमतर्फ आकर्षित गर्न सकेनन् ।
देउवाका पनि व्यक्तिगत कमि कमजोरी होलान् । उनी छोटो बोल्छन । खरो बोल्छन । झर्केर बोल्छन । कसैसँग मिठो भलाकुसारी गरेको देखिदैन । तर चिल्ला कुरा गरेर कसैलाई अपमान पनि गर्दैनन् । पार्टी भित्र र बाहिर उनका थुप्रै विरोधी छन । तिनलाई देउवाले कहिल्यै सत्तोसराप गरेर गाली गरेको सुनिदैन । बरु उल्टै उनले पार्टी भित्र र बाहिरका विरोधी शक्तिलाई बेलाबेलामा आफ्नो साथमा राखेका छन । उनी आफूसँग असन्तुष्ट बनेकाहरुलाई कसरी फकाउने भन्ने कुरामा माहिर छन । अफ्ठ्यारो बेला कसै न कसैको साथ लिएर उनी आफू सफल पनि बनेका छन । यो देउवाको क्षमता हो ।
बिबिसी नेपाली सेवाको साझा सवालमा देउवा अतिथि थिए । उनी तत्कालिन अवस्थामा पनि प्रधानमन्त्री नै थिए । सोही कार्यक्रममा सागर ढकालले बेलायतमा अक्सफोर्ड विश्वविद्यालयबाट उत्तीर्ण गरेकाहरुले लामो समय सत्ताको नेतृत्व गरेका छन तर नेपालमा त्यस्तो किन हुँदैन भनेर प्रश्न सोधे । देउवाले त्यस्ता व्यक्ति कहाँबाट खोजेर ल्याउ भनेर जवाफ फर्काए । ढकालले व्यक्तिगत रुपमै देउवालाई आक्षेप लगाए पछि उनी झर्किए । त्यसले ढकालको मनमा चोट पुग्यो ।
उनले देउवाको जवाफलाई ईख माने । अक्सफोर्डमा पढ्ने तयारी गरे । पूर्ण छात्रवृत्तीमा अक्सफोर्डको अध्ययन पूरा गरे । केही देशमा आफ्नो विज्ञता प्रस्तुत गरेका ढकाल स्वदेश फर्किए । आम निर्वाचनको माहौल नजिकिएको थियो । उनी चार महिना अघि चुनाव लड्न डडेल्धुरा पुगे । देउवासँग चुनावी प्रतिस्पर्धा गर्न ढकालले उम्मेदवारी दर्ता गराए । डडेल्धुराबासीले ढकालको उम्मेदवारीलाई सामान्य रुपमा लिए । सुरु सुरुमा उनको उम्मेदवारी केवल उपस्थिति मात्रै हो भनियो ।
ढकालले डडेल्धुराका बस्ती बस्ती चहारे । घर घरमा पुगेर भोट मागे । उनले आफू भविष्यको प्रधानमन्त्री हुँ समेत भन्न भ्याए । यो कुरालाई धेरैले हाँसोमा उडाए । तर देउवा विरुद्ध ढकालको उम्मेदवारी अर्थपूर्ण थियो । उनलाई मिडियाले निकै साथ दियो । सामाजिक सञ्जालमा ढकालका पक्षमा माहौल तयार गरियो । देशभरबाट ढकालको जय जयकार गरिन थाल्यो ।
निर्वाचन परिणाम आयो । ढकाल देउवाका निकटतम प्रतिद्वन्दी भए । डडेल्धुराबासीले ढकाललाई सम्माजनक मत दिए । तर त्यसको बदलामा भेडाको उपाधी पाए । अहिले सामाजिक सञ्जालमा डडेल्धुराबासीलाई सत्तोसराप गरिदैछ । सामाजिक सञ्जालमा ढकालले जसरी पनि देउवालाई हराउनु पथ्र्यो भन्नेहरु धेरै छन । उनीहरुको चिन्ता ढकाल हारेकोमा हैन । देउवा जितेकोमा हो । देउवाले नेपाली राजनीतिमा आफ्नो छाप छोड्न सफल भएकोमा ईष्र्या हो । किनभने यदि ढकाल जस्तै युवा जित्नु पर्ने चिन्ता हो भने किन अरु ठाउँमा लडेका युवाहरुको पक्षमा कोही बोल्दैन ? के अरु युवाहरुले हार्नु स्वभाविक हो ? ढकाल जस्तै अक्सफोर्डबाट पढेर आएका नहोलान तर देश र जनताका सुखदुःखमा साथ दिएका धेरै होनहार युवा हारेका छन । यता कसैको चिन्ता र चासो छैन ।
उमेरले पाका भैसकेका नेताहरु अब अभिभावक बन्नुपर्छ । सत्ताको नेतृत्वमा युवाहरु पुग्नुपर्छ भन्ने कुरामा मेरो पनि सहमति छ । मंसिर ४ को चुनावी परिणामले पनि यस्तो सन्देश दिएको देखिन्छ । धेरै युवाहरु जितेका पनि छन । जस्तै काँग्रेस भित्रै पनि विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल लगायत क्षमताले भरिपूर्ण कैयौं युवाहरु विजयी भएका छन । ती व्यक्तिहरु नेतृत्वमा पुग्नुपर्छ । पछिल्लो मत परिणामले निरासा तर्फ धकेलिएको नेपालको राजनीतिमा आशाका किरण देखिएका छन । म जस्तै धेरैलाई अब केही परिवर्तन हुन्छ कि भन्ने आशा पलाएको छ । त्यसका लागि शिर्ष नेतृत्व अभिभावकीय भूमिकामा बस्नुपर्छ भन्ने नै हो । तर अवस्था त्यत्ति सहज भने छैन ।
कुनै एक दलको स्पष्ट बहुमत आउने सम्भावना देखिँदैन । यदि त्यसो भयो भने फेरि पनि मिलिजुली अघि बढ्नुपर्ने हुनसक्छ । त्यसो भयो भने उनै शिर्ष नेताहरु निर्णायक तहमा हुनेछन । उनीहरुले नै युवालाई नेतृत्वबाट बञ्चित गर्नेछन । तर नेपाली राजनीतिमा एउटा विरासत बोकेको संघर्षको पर्याय देउवाले त्यसो गर्ने छैनन् । उनले सत्ताको नेतृत्व युवाहरुलाई सुम्पेर आफू अभिभावकको भूमिकामा बस्नेछन । यसले देउवाको मान प्रतिष्ठा उँचो हुनेछ । एक राजनेताका रुपमा देउवाको नाम स्थापित हुनेछ । आफ्नो जीवनको उत्तरार्धमा देउवाले देश र जनताको आवश्यकतालाई बुझेर महत्वपूर्ण निर्णय गर्नेछन र गर्नु पर्नेछ । देउवाको यही त्यागको बिन्दुबाट देश र जनताले सम्वृद्धिको बाटो तय गर्नेछन ।