Hamro Patra
कैलाली क्षेत्र नं. १ मा झण्डै ६५ हजार मत खस्यो

टीकापुर, मंसिर ४

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज भएको निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा झण्डै ६५ हजार मत खसेको छ । क्षेत्र नं. १ मा १ लाख ७ हजार ६ शय ७२ मतदाता रहेका छन् । यस क्षेत्रमा ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानको प्रारम्भिक मत विवरण अनुसार क्षेत्र नं. १ मा ६४ हजार ९ शय ५४ मत खसेको छ । क्षेत्र नं. १ कै प्रदेश १ मा ३५ हजार १ शय ६२ मत र प्रदेश २ मा २९ हजार ८ शय ३६ मत खसेको हो ।

Khadga Memorial And Janajagriti

प्रदेश १ मा पर्ने जानकी गाउँपालिकाका ५ वडाबाट १२ हजार १ शय ९२, जोशीपुर गाउँपालिकाका ७ वडाबाट १७ हजार ४ शय ७९ र भजनी नगरपालिकाका २ वडाबाट ५ हजार ४ शय ९१ मत खसेको छ ।

यता प्रदेश २ मा पर्ने टीकापुर नगरपालिकाका ९ वटै वडाबाट २९ हजार ८ शय ३७ मत खसेको बताइएको छ ।

क्षेत्र नं. १ को निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रबाट मतपेटिका आउने क्रम जारी रहेको छ । सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार सबै केन्द्रबाट मतपेटिका संकलन भएलगत्तै मतगणनाको प्रक्रिया अगाडि बढाइने छ ।

यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रामजनम चौधरी, नेकपा एमालेबाट टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी लगायतका उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । श्रेष्ठ निलम्बित सांसद रेशमलाल चौधरीको धर्मपत्नी हुन् ।

त्यसैगरी प्रदेश १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दीर्घ विनाडी, एमालेको समर्थनमा राष्टिय जनता पार्टीका भगतराम चौधरी, नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलगायतका उम्मेदवारहरु चुनावी स्पर्धामा छन् ।

यता, प्रदेश २ मा गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री डा.रणबहादुर रावल, नेकपा एमालेका द्धारिकाप्रसाद न्यौपाने, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी लगायतका उम्मेदवारहरु स्पर्धामा छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update