Hamro Patra
कैलाली -१ प्रदेश ‘ख’ मा को जित्ला ?

टीकापुर, कात्तिक २३

राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन । उनीहरु यतिबेला मतदाताका घरदैलोमा भोट मागिरहेका छन । उम्मेदवारले आ-आफ्ना एजेण्डा मतदातालाई सुनाईरहेका छन । कसैले विकासका कुरा गर्ने गरेका छन भने कसैले विकृत राजनीतिक अवस्थालाई सुदृढ बनाउने वाचा गरिरहेका छन ।

मतदाता भने मंसिर ४ गतेको पखाईमा छन । उनीहरु कसलाई आफ्नो मत जाहेर गर्छन भन्ने कुरा अहिले अनुमान मात्रै गर्न सकिन्छ । कैलाली क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को अवस्था पनि त्यस्तै छ । उम्मेदवारहरु आफ्नो जित निश्चित भैसकेको दावी गरिरहेका छन ।

Khadga Memorial And Janajagriti

यो प्रदेश निर्वाचन क्षेत्रमा टीकापुर नगरपालिकाका नौवटा वडा रहेका छन । त्यसकारण यो प्रदेशको अंक गणितलाई हालै सम्पन्न स्थानीय तहको निर्वाचनसँग जोडेर हेर्नुपर्ने हुन्छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत र मेयर, उपमेयरले प्राप्त गरेको मतको आँकडा भिन्न छ ।

वडाध्यक्षको मतलाई आधार मान्ने हो भने गठबन्धनको अवस्था मजबुत देखिन्छ । उसको १० हजार ६८२ मत छ । जसमध्ये वडा नं. १ बाहेकका ८ वडामा काँग्रेसको ५ हजार १५ र माओवादीको ३ हजार ७१५ मत छ । वडा नं. १ मा भने गठबन्धनले १ हजार ९५२ मत प्राप्त गरेको थियो ।

गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य डा. रणबहादुर रावल दोहोरिने प्रयासमा छन । उनी २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी हाल सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री रहेका छन । लामो समय प्रमुख प्रतिपक्षी दलको नेता रहेका रावल मुख्यमन्त्रीका दावेदार समेत हुन ।

वडाध्यक्षले आफूले प्राप्त गरेको मतलाई मात्रै सुरक्षित राख्न सके गठबन्धनको जित निश्चित प्रायः रहेको स्रोतको भनाई छ । त्यतिमात्रै नभई जितका लागि गठबन्धन भित्रको इमान्दारिता पनि कायम रहन जरुरी हुने मतदाता बताउँछन ।

गठबन्धन दलले अन्र्तघातको कुनै सम्भावना नरहेको बताउने गरेका छन । स्थानीय तहको निर्वाचनमा भने मेयर र उपमेयरका हकमा अन्र्तघात भएको देखिन्छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार काँग्रेसका नवराज रावल पराजित भए भने उपमेयरका उम्मेदवार माओवादीका खडक शाह विजयी भएका थिए ।

काँग्रेस प्रदेश ‘ख’ का सभापति बलिराम चौधरीले गठबन्धन भित्र कुनै समस्या नरहेको बताए । उनले काँग्रेस भित्रको अन्र्तविरोध समेत अन्त्य भएकाले आफ्नो उम्मेदवार जित्ने दावी गरे । उनको भनाईमा माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका बालकृष्ण चौधरी विकासले समेत समर्थन जनाएका छन । उनले समेत गठबन्धन भित्र अन्र्तघात नहुने बताए । ‘त्यसो हुन नदिन हामी सचेत छौं’ उनले भने -‘गठबन्धन भित्र अरुले भने जस्तो समस्या छैन ।’

नागरिक उन्मुक्ति पार्टीको वडाध्यक्षले प्राप्त गरेको मत भने ७ हजार १३९ रहेको छ । उसले एक्लै जित निकाल्न सक्ने दावी गर्दै आएको छ । पार्टीले आफ्ना उम्मेदवार लक्ष्मण किशोर चौधरीको जित निश्चित भैसकेको बताउने गरेको छ । २०७४ को निर्वाचनमा भने चौधरी डा. रावलसँग पराजित भएका थिए । उनी तत्कालिन अवस्थामा राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार थिए ।

पार्टीका केन्द्रिय सदस्य रमेश विकले आफ्नो पार्टीसँग कसैको प्रतिस्पर्धा नहुने बताए । उनले आफ्नो उम्मेदवार धेरै मतले विजयी हुने दावी गरे । ‘हामीसँग कसैको प्रतिस्पर्धा हुँदैन’ उनले भने -‘हामी धेरै मतान्तरले जित्छौं ।’

नागरिक उन्मुक्तिबाट विद्रोह गरेर सो पार्टीका केन्द्रिय सदस्य रहेका गणेश चौधरी स्वतन्त्र उम्मेदवार बनेका छन । उनलाई पार्टीले कारवाही गरेको छ । उनले थारु समुदायको मत प्रभावित पार्ने अनुमान गरिन्छ । उनले थारु समुदायको मत प्रभावित पारे नागरिक उन्मुक्तिको अवस्था कमजोर हुने विपक्षी पार्टीको ठहर छ । सो पार्टीले भने उनले खाशै प्रभाव नपार्ने बताएको छ । ‘२/३ सय भन्दा बढी मत प्रभावित हुँदैन’ केन्द्रिय सदस्य विकले भने -‘हाम्रो लागि चौधरी खाशै समस्या हैनन् ।’

नेकपा एमालेले युवानेता द्वारिका न्यौपानेलाई अघि सारेको छ । एमालेसँग वडाध्यक्षले प्राप्त गरेको ४ हजार ७०४ मत छ । एमालेले आफ्नो उम्मेदवार ‘फ्रेस’ भएकाले मतदाता आकर्षित हुने दावी गरेको छ । यसका साथै उम्मेदवारले अघि सारेको विकासको मोडेल समेत मतदाता आकर्षित गर्ने खालको भएको प्रदेश ‘ख’ का इञ्चार्ज खडक साउँदले बताए । ‘मतदाताको प्रतिक्रिया सकारात्मक पाएका छौं’ उनले भने -‘हामी चुनाव जित्छौं ।’

उनले एमालेका उम्मेदवारको प्रतिस्पर्धा नागरिक उन्मुक्तिसँग हुने बताए । एमालेले गठबन्धन र नागरिक उन्मुक्तिको असन्तुष्ठ मत आफ्नो पक्षमा हुने बताउने गरेको छ । उसको गठबन्धन भित्र अन्र्तघात हुने र थारु समुदाय जातीय मुद्दाका पछि नलाग्ने दावी छ ।

वडाध्यक्षमा नेकाँ बिपीको ७८८, राप्रपाको ७७७ र स्वतन्त्रको १६६ मत छ । यो मत पनि एमालेले आफ्नो पक्षमा आउने दावी गरेको छ । एमालेका स्थानीय युवा नेता केशरबहादुर साउँद स्वतन्त्रबाट उम्मेदवार रहेका छन । उनले एमालेका मात्रै नभई काँग्रेसका समेत केही मत प्रभावित पार्ने आँकलन गरिएको छ । उनलाई एमाले र काँग्रेसका मत काट्न नागरिक उन्मुक्ति पार्टीले प्रयोग गरेको स्रोतको भनाई छ ।

टीकापुर नगरपालिकाको मेयरमा भने नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु विजयी भएका थिए । रावलले ६ हजार ६४२ र शाहले ७ हजार ९५५ मत पाएका थिए भने मेयरमा विजयी थारुले ९ हजार ६४२ मत पाएका थिए । एमालेका मेयरका उम्मेदवार श्याम खत्रीको ४ हजार ९३३ र उपमेयर उपमा केसीको ४ हजार १९८ मत थियो ।

मेयरमा स्वतन्त्र लडेका ललित थापा शिवको १ हजार ५९९ मत थियो । उनी माओवादीबाट विद्रोह गरेर स्वतन्त्र लडेका हुन । उनले गठबन्धनको मत काटेको चर्चा छ । यो पटक उनी स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update