Hamro Patra
उत्पादन किसानको, मुल्य निर्धारण सरकारको

टीकापुर, कात्तिक २३

सरकारले समयमा मुल्य नतोक्दा कैलालीका किसान सस्तोमा धान बेच्न वाध्य छन । उनीहरु खाद्यान्न ब्यापारीलाई सस्तोमा धान बेचिरहेका छन ।टीकापुर नगरपालिका-८ का किसान लोकबहादुर ठकुल्लाले प्रति क्विन्टल १ हजार ८ सय देखी २ हजार २ सय सम्ममा धान बेच्नु परेको बताए ।

उनले सरकारले समयमा धानको मुल्य नतोक्दा आफू जस्तै अधिकांश किसान मर्कामा परेको गुनासो गरे । उनले किसानले धान बेचिसके पछि मात्रै सरकारले मुल्य तोकेर ब्यापारीलाई मोटाउने काम गर्ने गरेको बताए । ‘हामीले बेचिसके पछि मात्रै सरकारले मुल्य तोक्छ’ उनले भने-‘यो ब्यापारीलाई मोटाउने काम मात्रै हो ।’

Khadga Memorial And Janajagriti

गतवर्ष सरकारले कात्तिक १८ गते नै धानको समर्थन मुल्य तोकेको थियो । तर यो वर्ष अहिलेसम्म धानको मुल्य तोक्ने बारेमा सरकारले पहल गरेको छैन । गतवर्ष सरकारले धानको मुल्य मोटो धान प्रति क्विन्टल २ हजार ७३५ र मध्यम धान प्रति क्विन्टल २ हजार ८८५ तोकेको थियो ।

धान बाली यहाँका किसानको नगदे बाली हो । वर्षेनी किसानले मेहनत गरेर फलाएको धानको उचित मुल्य पाउन सकेका छैनन् । उनीहरुले सस्तोमा धान बेच्नु पर्दा लागत समेत असुल नहुने गरेको दुःखेसो पोखे । समयमा बिउँबिजन र मलखाद नपाएर दुःख पाएका किसानले सस्तोमा धान बेच्नु पर्दा झन धेरै दुःख महशुस भैरहेको बताए ।

टीकापुर नगरपालिका-७ का किसान चुन्नुलाल थारुले धान बेचेरै आर्थिक जोहो गर्नुपर्ने वाध्यता रहेको बताए । उनले धान बेचेको पैसाले मलखाद किन्न समेत धौधौ हुने गरेको बताए । ‘अरु ब्यापार व्यवशाय केही छैन । यही धान बेचेको पैसाले परिवार पाल्नुपर्छ’ उनले भने-‘धान बेचेको पैसाले मलखाद किन्न समेत पुग्दैन ।’

एकातिर कैलालीको पूर्वी भेगका किसानलाई बाढीले सताउने गरेको छ । वर्षायाममा आउने बाढीले किसानको धान खेती नष्ट पार्छ । यो वर्ष दुईदुई पटक बाढी आयो । किसानको अधिकांश धान बाढीले बगायो । उनीहरुले आधा पनि धान खेती स्याहार्न पाएनन् । बाढीको मुखबाट जोगाएको धानको उचित मुल्य समेत नपाए पछि किसान मर्कामा छन । उनीहरु प्राकृतिक विपत्ती र सरकार दुवैले आफूहरुलाई दुःख दिएको बताउँछन ।

टीकापुर नगरपालिका-८ सोनाहाफाँटाका किसान कृष्णबहादुर धमालाले व्यवशायीहरुले बाढी प्रभावित क्षेत्रको धान किन्न आनाकानी गर्ने गरेको दुःखेसो पोखे । ‘बाढी प्रभावित क्षेत्रको धान भनेपछि सस्तोमा पनि किन्न मान्दैनन्’ उनले भने-‘हामी दोहोरो मारमा परेका छौं ।’

खाद्यान्न ब्यापारी बिरबल चौधरीले बाढी प्रभावित क्षेत्रको धान राम्रो नभएको बताए । उनले धानमा माटो मिसिएकाले अरु धान समेत बिग्रिने भएकाले ब्यापारीले बाढी प्रभावित क्षेत्रको धान किन्न समस्या भएको बताए । ‘धान राम्रो छैन । सबै माटो मिसिएको धान मात्रै छ’ उनले भने-‘अरु राम्रो धान समेत बिग्रिने भएकाले ब्यापारीले नकिकेको हो ।’

सरकारले धानको मुल्य तोक्ने बारेमा अहिलेसम्म कुनै पहल गरेको छैन । हरेक वर्ष सरकारले नै धानको मुल्य तोक्ने गरेको छ । सरकारले धानको मुल्य तोकेपछि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लि. ले विभिन्न ठाउँमा काँटा राखेर धान खरिद सुरु गर्छ । यस बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लि. धनगढीका प्रमुख इञ्जिला बस्नेतले जानकारी दिईन । उनले अहिलेसम्म कुनकुन ठाउँमा धान खरिदका लागि काँटा राख्ने भन्ने बारेमा समेत निणर्य नभएको बताईन ।

‘अहिलेसम्म हामीलाई कुनै जानकारी आएको छैन’ उनले भनिन्-‘सरकारले निणर्य गरेपछि आधिकारिक जानकारी आउँछ होला ।’ कैलालीको पूर्वी भेग धान उत्पादनका लागि प्रख्यात छ । यहाँको उत्पादन देशभर आपूर्ती हुन्छ । मनग्ये धान उत्पादन हुने गरेपनि सरकारले यहाँका किसानका लागि कुनै कार्यक्रम समेत ल्याउन सकेको छैन । किसानले परम्परागत ढंगले नै धान खेती गर्दै आएका छन । उनीहरुले आफ्नै क्षमताले उत्पादन गरेको धान बेच्न समेत सरकारको निणर्य पर्खिनुपर्ने वाध्यता छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update