Hamro Patra
‘म स्वस्थः मेरो नगर स्वस्थ’

टीकापुर, जेठ २२
नगरबासीलाई स्वास्थ्य प्रति जिम्मेवार बनाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले टीकापुर नगरपालिकाले ‘म स्वस्थ ः मेरो नगर स्वस्थ’ अभियान सुरु गरेको छ ।

बुधवार सञ्चारकर्मीसँग स्वास्थ्य विषयक कार्यक्रम गरी नगरपालिकाले सबैलाई अभियान सफल पार्न आग्रह गरेको छ । सोही अवसरमा अभियान अन्र्तगत नगरपालिकाले सहभागीहरुलाई प्रतिवद्धता व्यक्त गर्न लगाएको छ । सहभागी सबैले आफू स्वस्थ रहने प्रतिवद्धता व्यक्त गरेका छन ।

Khadga Memorial And Janajagriti

नगरपालिकाले सुरु गरेको अभियानले विश्व स्वास्थ्य संगठनको ६५ औं महासभामा सदस्य राष्ट्रहरुले नसर्ने रोग सन् २०२५ सम्ममा २५ प्रतिशत घटाउने लक्ष्यलाई सघाउने स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए ।

सरकारले मुख्यगरी ४ वटा नसर्ने रोगलाई अनुमोदन गरेको छ । जसमध्ये मुटु तथा रक्तनली, मधुमेह (सुगर), दम र क्यान्सर रहेका छन । क्यान्सर मध्ये महिलाहरुको पाठेघर र स्तन क्यान्सरलाई सरकारले प्रमुख नसर्ने रोग मध्ये राखेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार असन्तुलित खानपान र ब्यायाम नगर्नाले नसर्ने रोगको प्रभाव बढ्दै गएको जनाएको छ । संगठनका अनुसार वर्षेनी ४ करोड १० लाख व्यक्ति नसर्ने रोगका कारण मर्ने गरेका छन । जसमध्ये १ करोड ७९ लाख मुटु तथा रक्तनली, ९० लाख क्यान्सर, ३९ लाख स्वासप्रश्वास र १६ लाख मधुमेहका बिरामी रहेका विश्व स्वास्थ्य संगठनमा कार्यरत डा. अनुप बिसीले जानकारी दिए ।

नेपालमा समेत कुल मृत्युदर मध्ये ३० प्रतिशत मुटु तथा रक्तनलीको समस्याबाट मर्ने गरेको बताईन्छ । जसमध्ये ३१ प्रतिशत पुरुष र २१ प्रतिशत महिला रहेको डा. बिसीले जानकारी दिए । त्यस्तै कुल मृत्युदरको ४ प्रतिशत मधुमेह, १० प्रतिशत दम र ९ प्रतिशत क्यान्सरका बिरामीले वर्षेनी ज्यान गुमाउने गरेका छन ।

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update