Hamro Patra
टीकापुरको पुरानो सडक स्तरोन्नती गरिदै

टीकापुर, कात्तिक २२

टीकापुर नगरपालिकाको पुरानो सडकको स्तरोन्नतीको काम सुरु भएको छ । वडा नं. २ को कार्यालयले झण्डै ५० वर्षभन्दा पुरानो सडक स्तरोन्नतीको काम थालेको हो ।

स्थानीयका अनुसार यो सडक २०२१ सालमा निर्माण गरिएको हो । तत्कालिन समयमा ब्यापारिक केन्द्र रहेको सत्तीबाट कटासे बजारसम्म आवतजावतका लागि यही सडक प्रयोग हुन्थ्यो । ८३ वर्षका दिलु ढुंगानाले यो कुनैबेलाको प्रमुख सडक भएको बताए । ‘त्यो बेला अरु बाटाघाटा थिएनन्’ उनले भने-‘यही बाटो भएर ओहोरदोहोर गर्थे ।’

Khadga Memorial And Janajagriti

तर पछि लम्की-टीकापुर-खक्रौला सडक बनेपछि यो सडक ओझेलमा परेको स्थानीयको भनाई छ । ओझेलमा परेसँगै यो सडक अतिक्रमणका कारण साँधुरिदै गएको हो । सडक साँघुरो भएका कारण गतिलो ग्राभेल समेत हुन सकेको छैन । केही वर्षअघि रानी जमरा कुलरीया सिँचाई आयोजनाले ग्राभेल गरेको थियो । स्थानीयका अनुसार त्यो बाहेक अरु कसैले सडकको स्तरोन्नतीका लागि पहल गरेनन् ।

२०७७ मा सडक स्तरोन्नती भन्दै नगरपालिकाले १५ लाख विनियोजन गरेको थियो । तत्कालिन वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकीले बजेट सदुपयोग गर्न सकेनन् । उनले सडकमा विवाद देखिएको भन्दै काम अघि बढाउन सकेनन् ।

हालका वडाध्यक्ष दीपक चौधरीले यही सडकको स्तरोन्नतीलाई चुनावी मुद्दा बनाए । उनले चुनावी मुद्दालाई कार्यान्वयन गर्न सुरु गरेका छन । उनका अनुसार यो वर्ष कोठापुरदेखी बन्दीपुर हुँदै सीतापुरसम्म करिव ५ किलोमिटर सडक स्तरोन्नतीको काम हुनेछ । उनले आगामी वर्ष सीतापुरबाट विजयनगर शिविरसम्म सडक स्तरोन्नती गरिने जानकारी दिए । ‘यो सडक मेरो प्राथमिकताको विषय हो’ उनले भने-‘म जसरी पनि सडक बनाएरै छोड्छु ।’

सडक स्तरोन्नतीमा समस्या छ । स्थानीयले सडक च्यापेका छन । कुनै कुनै ठाउँमा सडकको चौडाई १५ फिट मात्रै छ । जसलाई ३० फिट बनाईदैछ । वडाध्यक्ष चौधरीले प्राविधिकको सहयोगमा सडकको रेखांकन गरेका छन । सडक ३० फिट बनाउने कुरामा स्थानीय सहमत भएका छन । केही व्यक्तिहरुले विरोध गरेपनि अधिकांशले वडाध्यक्ष चौधरीको काममा समर्थन जनाएका छन । ‘केही व्यक्तिले असफल बनाउने प्रयास गरेका थिए’ चौधरीले भने-‘अधिकांश स्थानीय समर्थनमा छन ।’

सडक स्तरोन्नतीका क्रममा केही ठाउँमा स्थानीयका घर भत्काउनु पर्ने अवस्था आएको छ । वडाध्यक्ष चौधरीले स्थानीय बासिन्दा घर भत्काउन समेत तयार रहेको बताए । स्थानीय राजेश चौधरीले वडाध्यक्षको काममा समर्थन रहेको बताए । उनले सडक स्तरोन्नतीको काममा आफूहरुले सहयोगीको भूमिका खेलेको बताए । ‘राम्रो काम भैरहेको छ । हामी सबै खुशी छौं’ उनले भने-‘राम्रो काममा सबैको सहयोग हुनुपर्छ ।’

यही सडकलाई नगरपालिकाले ‘रिङरोड’ अन्र्तगत राखेको छ । जसका कारण पनि सडकको स्तरोन्नती आवश्यक भएको वडाध्यक्ष चौधरी    बताए । उनले कार्यकाल भित्र नगरपालिका भन्दा बाहिरको बजेट खोजेर भएपनि सडक कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update