Hamro Patra
बस्तीबीचमा मिनि क्रसर उद्योग

योगेश रावल
टीकापुर, जेठ २२
टीकापुर नगरपालिका–१ ब्लक नं. १४ को बीच बस्तीमा मिनि क्रसर उद्योग सञ्चालनमा आएको छ । उद्योगले बस्तीका बासिन्दालाई निकै समस्या पारेको छ । उनीहरु उद्योगबाट निस्किएको धूलो र आवाजले आजित बनेका छन ।

निराजन कन्ट्रक्सनका सञ्चालक स्थानीय ठेकेदार अम्मरबहादुर रावल डम्मरले उद्योग सञ्चालन गरेका हुन । उनी निर्माण व्यवशायी संघ कैलालीका सदस्य समेत हुन । उनले आफ्नो घर छेउको जग्गा भाडामा लिएर क्रसर उद्योग चलाईरहेका छन ।

स्थानीय बासिन्दाले उद्योग सञ्चालन नगर्न गरेको आग्रहलाई ठेकेदार रावलले वेवास्ता गरेका छन । उनको उद्योग विगत २ हप्तादेखी चलिरहेको छ ।

Khadga Memorial And Janajagriti

उद्योगबाट निस्किएको धूलो स्थानीयका घरभित्र पस्ने गरेको छ । उद्योगसँगै घर जोडिएका झपड कडायतले घरभित्र बस्नै नसक्ने अवस्था भएको दुखेसो पोखे । उनले ठेकेदार रावललाई उद्योग सञ्चालन नगर्न आग्रह गरेपनि सुनुवाई नगरेको बताए ।

‘हामीले बारम्बार उद्योग नराख्नुस् समस्या हुन्छ भन्दै आएका छौं’ उनले भने–‘तर ठेकेदारले २÷४ दिन मात्रै हो भनेर टार्दै आएका छन ।’

उद्योगको धूलोले कडायतको मात्रै हैन धेरै बासिन्दाको घरभित्र बस्न नसक्ने अवस्था छ । उनीहरुले उद्योगको धूलोले घरभित्र खाना पकाउने अवस्था समेत नरहेको बताए । स्थानीयका घरका झ्याल ढोकाबाट धूलो घरभित्र पस्ने गरेको छ ।

उद्योग नजिकै व्यवशाय गरिरहेका पुष्प देवकोटाले निकै समस्या भैरहेको बताए । उनले धूलोले पसलमा बस्न सक्ने अवस्था नरहेको गुनासो गरे । ‘पसलमा बस्नै सकिदैन’ उनले भने–‘मुख छोपेर बस्नुपर्छ ।’

उद्योगको धूलोले मात्रै हैन स्थानीयलाई त्यसको आवाजले समेत निकै समस्या पारेको छ । बालबालिकाहरु उद्योगको आवाजले तर्सिने गरेका छन । उनीहरु घरभित्र एक्लै पस्न समेत डराउने गरेका छन ।

उद्योगको आवाजले खाशगरी विद्यार्थीलाई अझ धेरै समस्या पारेको छ । उद्योगसँगै निज ठेकेदार रावलले होस्टेल समेत सञ्चालन गरेका छन । होस्टलमा बस्दै आएका विद्यार्थीलाई समेत उद्योगले निकै समस्या पारेको छ । उनीहरु पढ्न लेख्न सकिरहेका छैनन् । ‘विद्यालयबाट घर फर्किएका विद्यार्थीहरु घरभित्र बसेर पढ्न लेख्न सक्ने अवस्था छैन’ स्थानीय नमराज ज्ञवालीले भने–‘बस्तीको बिचबाट तुरुन्त हटाउनु पर्छ ।’

उद्योग सञ्चालक रावलले क्रसर उद्योग नभई ढुंगा फुटाउने सानो मेसिन भएको बताए । उनले नयाँ मेसिन भएकाले चेकजाँच गर्न सञ्चालन गरेको बताए । ‘नयाँ मेसिन हो । कस्तो काम गर्छ भनेर चलाएको हो’ उनले भने–‘चाँडै अर्को ठाउँमा सार्छु ।’

बस्तीको बीचमा क्रसर उद्योग सञ्चालन गर्दा समेत नगरपालिका मौन बसेको स्थानीयको भनाई छ । उनीहरुले नगरपालिकाले नै क्रसर सञ्चालनको स्विकृती दिएको आरोप लगाए । मेयर तपेन्द्रबहादुर रावलले भने उद्योग सञ्चालन भएको बारेमा स्थानीयले कुनै जानकारी नदिएको बताए । उनले आफ्नो जानकारीमा आएपछि क्रसर उद्योग हटाउन निर्देशन दिईसकेको बताए ।

‘हामी कहाँ लिखित मौखिक कुनै जानकारी छैन तर मैले थाहा पाउने बित्तिकै उनीहरुलाई हटाउन भनिसकेको छुँ’ उनले भने–‘ठेकेदारले हटाउँछु भनिसकेको छ ।’

स्थानीयले तत्काल बस्तीबाट क्रसर उद्योग नसारे प्रतिकार गर्ने चेतावनी दिएका छन । उनीहरुले मानव स्वास्थ्य माथि भैरहेको खेलवाड बन्द गर्न आग्रह गरेका छन ।

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update