Hamro Patra
आलुको बिऊँका लागि भारतीय भर
Khadga Memorial And Janajagriti
टीकापुर, कात्तिक २०
 
दैनिक सयौंको संख्यामा किसानहरु साइकल चढेर भारतीय बजार तिकुनीयाँ पुग्छन । उनीहरु आलुको बोरा बोकेर फर्किन्छन । यतिबेला सीमा क्षेत्रमा साइकलमा आलुको बोरा बोकेर फर्किने किसानको लर्को देख्न सकिन्छ । 
 
यो वर्ष मात्रै हैन उनीहरु यतिबेला वर्षेनी यसैगरी आलुको बोरा बोकेर फर्किन्छन । यो आलु रोप्ने समय हो । यहाँका अधिकांश किसानले आलु खेती गर्छन । कतिपयले व्यवशायका लागि आलु खेती गर्छन भने कतिपयले खानका लागि भएपनि धेरैथोरै आलु खेती गर्छन ।
 
नेपालमा आलुको बिउँ पाईदैन । आलुको बिउँका लागि किसानलाई भारतीय बजार तिकुनीयाँ नपुगेर सुख्खै छैन । भजनी नगरपालिका-३ काँडाका जयराम चौधरीलाई अहिलेसम्म आलुको बिउँ नेपाली बजारमा किनेको सम्झना छैन । उनी हरेक वर्ष भारतीय सीमावर्ती बजार तिकुनीयाँबाट आलुको बिउँ किनेर ल्याउँछन । 
 
यो वर्ष पनि उनी कुसुमघाट नजिकै साइकलमा दुई बोरा आलुको बिउँ बोकेर फर्किदै गरेको अवस्थामा भेटिए । उनी मात्रै हैन कुसुमघाटमा तिकुनीयाँबाट आलुको बिउँ किनेर फर्किने किसानको लर्को देखिन्थ्यो । यस्तै लर्को कुसुमघाटको नाकाबाट मात्रै हैन भारतीय सीमावर्ती बजारसँग जोडिएका खक्रौला, कालाकुण्डा, चन्दनचौकी, पृथ्वीपुर लगायतका ठाउँमा समेत देख्न सकिन्छ ।
 
नेपाली किसानहरु आलुको बिउँका लागि भारतीय बजारमा निर्भर छन । तिकुनीयाँमा मात्रै दैनिक एक हजार भन्दा बढी किसानले आलुको बिउँ किन्ने गरेको पाईन्छ । कैलालीमा एक सिजनमा करोडौंको आलुको बिउँ आयात हुने गरेको अनुमान गर्न सकिन्छ ।
 
नेपाली भन्दा भारतीय आलुको बिउँ सस्तो हुने भएकाले पनि किसानहरु भारतीय बजार पुग्ने गरेको पाईएको छ । भारतीय बजारमा ५० केजी प्रति बोराको ५ सय भारु पर्छ । त्यही बोरा नेपाली बजारमा एक हजार ४०० नेपाली रुपैयाँमा बिक्री हुने गरेको पाईन्छ । नेपाली आलुको बिउँ महंगो मात्रै हैन आवश्यकता अनुसार पाउन समेत निकै कठिनाई हुने गरेको किसान बताउँछन । ‘नेपालमा भनेको बेला पाउँदैन’ चौधरीले भने-‘सहज रुपमा पाईएको भए दुःख गरेर भारतीय बजार जान त पर्र्दैन थियो ।’
 
किसानहरु भारतीय आलुको बिउँ उत्पादनमा समेत निकै उपयोगी भएको बताउँछन । उनीहरु रोगब्याधीबाट जोगाउन सकिने, चाँडै फल्ने, धेरै फल्ने लगायतका फाइदा रहेको बताउँछन । भजनी नगरपालिका-६ महादेउलीका प्रेमचन्द्र चौधरीले भारतीय आलुको बिउँ रोपेको २ महिना भित्रै उत्पादन हुने बताए । ‘अहिले रोप्यौं भने माघीमा खान बन्छ’ उनले भने-‘नेपाली बिउँ जस्तो धेरै दुःख समेत गर्नु पर्दैन ।’
 
एक बोरा आलुको बिउँका लागि किसानले एक दिन खर्च गर्र्नुपर्छ । उनीहरु बिहानै खाना खाएर घरबाट हिड्छन । दिनभरको साइकल यात्रा गरेर साँझ घर फर्किन्छन । पुरुष मात्रै हैन महिलाहरु समेत आलुको बिउँ किन्न भारतीय सीमावर्ती बजार पुग्ने गरेको पाईन्छ । खासगरी श्रीमान घरमा नभएका महिलाहरु आफै आलुको बिउँ किन्न जान वाध्य छन ।
 
गाउँका सबै मान्छे गएपछि आफू पनि सस्तो पाईने लोभमा आलुको बिउँ किन्न तिकुनीयाँ गएको जोशीपुर गाउँपालिका-४ सिमरानाकी प्रतिभा चौधरीले बताईन । ‘सबैले सस्तो पाइन्छ भनेपछि म पनि गएकी हुँ’ उनले भनिन्-‘नेपाली आलुको बिउँ भन्दा साँच्चै सस्तो रहेछ ।’  
 
आलुको बिउँ भण्डारणका लागि कैलालीमा कोल्ड स्टोर छैन । किसानले महेन्द्रनगर वा नेपालगञ्ज लगेर आलुको बिउँ भण्डारण गर्नुपर्ने वाध्यता   छ । किसान आफैले आलुको बिउँ भण्डारण गरेर राख्ने परम्परागत चलन हराईसकेको छ । यसरी परम्परागत ढंगले आलुको बिउँ भण्डारण गरेर राख्ने किसानको संख्या ज्यादै न्यून छ । बाँकी सबै किसान आलुको बिउँ किन्नका लागि सीमावर्ती बजार जाने गर्छन ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update