Hamro Patra
११ वर्षसम्म बनेन पुल

टीकापुर, कात्तिक १८

भजनी नगरपालिका-५ लालबोझीका अशोक साउँद कान्द्रा नदीको ठेकीमा पुल निर्माण सुरु हुँदा विद्यालय भर्ना भएका थिए । उनलाई बुबा दलबहादुरले डुंगामा तारेर भजनी नगरपालिका-३ ठेकीपुरस्थित ग्रीन बोर्डिङ स्कुलमा भर्ना गरेका थिए ।

दलबहादुरले दुई वर्ष भित्र पुल निर्माण सम्पन्न भए छोरालाई विद्यालय ओहोरदोहोरमा समस्या नहुने आशा बोकेका थिए । अहिले उनका छोरा अशोक कक्षा ११ मा पढ्छन । तर दुर्भाग्य अहिलेसम्म पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन ।

Khadga Memorial And Janajagriti

हुलाकी राजमार्ग अन्र्तगतको सो पुल २०६८ जेठ ३१ गतेदेखी निर्माण सुरु भएको हो । लामा साल्पा शेर्पा बिरुवा जेभीले २०७० मंसिर मसान्त भित्र पुल निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माणाधिन पुलको काम समयमा सम्पन्न नभएपछि पाँच पटक म्याद थप गरिएको छ । पछिल्लो समयावधि अनुसार पुल निर्माणको काम २०७९ चैत मसान्तमा सक्नुपर्नेछ । ४ करोड ४२ लाख २१ हजारको लागतमा निर्माणाधिन पुलको ७५ प्रतिशत काम मात्रै सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए ।

उनका अनुसार लगातार काम भए थप दुई महिना भित्र पुल निर्माणको काम सम्पन्न हुनेछ । पुलको तीनवटा ‘स्ल्याव’ मध्ये दुईवटा निर्माण सम्पन्न भैसकेका छन । ‘अब धेरै काम बाँकी छैन’ सूचना अधिकारी सुनारले भने -‘दुई महिनामा काम सकिने अवस्था छ ।’

पुल निर्माण भएपछि सहज होला भन्ने आशा बोकेका थुप्रै स्थानीय बासिन्दा निराश बनेका छन । भजनी नगरपालिका-५ र ७ का बासिन्दा अहिले पनि डुंगा चढेर कान्द्रा नदी वारपार गर्छन । उनीहरुले पालिकाको केन्द्र रहेको भजनी बजार आउन डुंगा चढ्नुपर्ने वाध्यता छ ।

त्यहाँका विद्यार्थीहरुले उच्च शिक्षाका लागि समेत डुंगा चढेर कान्द्रा नदी पार गर्नैपर्छ । स्थानीय रमेश बुढाले कैयौं विद्यार्थीहरु जोखिम मोल्न नसकेर पढाई छोड्न वाध्य हुनुपरेको दुखेसो पोखे । ‘सबै डुंगा तरेर पढ्न जान सक्दैनन्’ उनले भने-‘आधा भन्दा बढी विद्यार्थी पढाई छोड्छन ।’

त्यहाँका बासिन्दालाई दुःखी बिरामी हुँदा समेत समस्या छ । उनीहरुले समयमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने वाध्यता छ । भजनी बजारमा रहेको अस्पतालमा उपचारका लागि आउन त्यही कान्द्रा नदीको डुंगा तर्नुपर्छ । ‘डुंगा चढेर अस्पताल पुग्दासम्म ढिलो भैसक्छ’ स्थानीय मथुरा धामीले भनिन् -‘कैयौंले अकालमा ज्यान गुमाएका छन ।’

यो पुल भजनीका बासिन्दाका लागि मात्रै उपयोगी छैन । यो हुलाकी राजमार्ग अन्र्तगतको पुल हो । यसले पश्चिम नेपालका दुई प्रमुख ब्यापारिक केन्द्र धनगढी र नेपालगञ्जलाई जोड्ने छ । धनगढीदेखी नेपालगञ्जसम्मको हुलाकी सडक निर्माणको काम लगभग सकिएको छ । सबै सडक कालोपत्रे भैसकेको छ । अझ कतिपय ठाउँमा त सडक स्तरोन्नतीको काम समेत भैरहेको छ । यही पुलले मात्रै अहिलेसम्म हुलाकी राजमार्ग अन्र्तगत धनगढी र नेपालगञ्जको सोझो सम्बन्धलाई जोड्नबाट रोकेको छ ।

अहिले स्थानीयले धनगढीदेखी नेपालगञ्जको यात्रा पूर्वपश्चिम राजमार्ग मार्फत गर्छन । यो पुल बनेपछि धनगढीदेखी नेपालगञ्जको यात्रा आधा छोटो हुनेछ । कैलालीको पूर्वी भेगका बासिन्दालाई समेत धनगढी ओहोरदोहोरमा निकै सहज हुनेछ । उनीहरु अहिले झण्डै ८० किलोमिटर यात्रा गरेर धनगढी पुग्छन । यो पुल बनेपछि भजनी बजारबाट ४५ किलोमिटरको दूरीमा धनगढी पुगिनेछ ।

‘यो पुलले दक्षिणी भेगका बासिन्दालाई निकै सहज हुनेछ’ स्थानीय गणेश बुढाले भने-‘पुल निर्माणमा भैरहेको ढिलासुस्तीले हामीलाई निरास पारेको छ ।’ पुल निर्माणमा भैरहेको ढिलासुस्तीले स्थानीय निकै आक्रोशित बनेका छन । उनीहरु निर्माण कम्पनीलाई राजनीतिक संरक्षण रहेको आरोप लगाउँछन ।

राजनीतिक संरक्षण नभएको भए पुल निर्माणको काम समयमै सम्पन्न हुने विश्वास स्थानीयमा छ । ‘हामीले विरोध गरेर मात्रै के हुन्छ । ठेकेदारलाई नेताहरुले संरक्षण गरेका छन’ स्थानीय नेत्रबहादुर साउँदले भने -‘समयमा पुल निर्माण नहुनुमा नेताहरु पनि दोषी छन ।’

निर्माण पक्षले भने पुलको डिजाइन परिवर्तन भएका कारण निर्माण कार्यमा ढिलाई भएको दावी गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update