Hamro Patra
सडक निर्माणमा बलौटे माटो प्रयोग

योगेश रावल
टीकापुर, जेठ २१
निर्माणाधिन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयले शंका व्यक्त गरेका छन । टीकापुर नगरपालिकाको जमरापुलदेखी बसपार्कसम्म २० करोडको लागतमा सडक निर्माणको काम सुरु भएको छ ।

रमण केएस जेभीले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २ दशमलव ३ किलोमिटर सडकको काम थालेको छ । निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरीयता प्रति स्थानीयले शंका व्यक्त गरेका हुन ।

सडक निर्माणका क्रममा प्रयोग गर्ने माटोको ल्याब परिक्षण गर्नुपर्नेमा निर्माण पक्षले त्यसो नगरेको पाईएको छ । माटोको ल्याब परिक्षण नगरेरै निर्माण पक्षले सडकको अधिकांश भागमा माटो पटानी गरेको छ ।

Khadga Memorial And Janajagriti

स्थानीय बासिन्दा शिवदत्त उप्रेतीले सडकमा बिछ्याएको माटो बलौटे भएको बताए । उनले बलौटे माटो प्रयोग गर्दा सडक गुणस्तरीय हुनेमा शंका उब्जिएको बताए । ‘सडक भरी बालुवा मिसिएको माटो बिछ्याईएको छ’ उनले भने–‘यसले सडक बलियो होला जस्तो लाग्दैन ।’

संघीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इन्जिनियर त्रिलोक जोशीले सडकमा प्रयोग भएको माटोको ल्याब परिक्षण नभएको बताए । उनले निर्माण पक्षले अनिवार्य दुई पटक माटोको ल्याब परिक्षण गर्नुपर्ने प्रावधान रहेको जानकारी दिए । प्रावधान अनुसार सडक निर्माणमा प्रयोग गर्नुभन्दा पहिले र निर्माण गरिसकेपछि स्थलगत रुपमा माटोको परिक्षण गरिन्छ ।

‘माटोको ल्याब परिक्षण गरेर उपयुक्त भए मात्रै सडक निर्माणमा प्रयोग गर्न पाईन्छ’ उनले भने–‘अहिलेसम्म माटोको ल्याब परिक्षण भएको छैन । हामी त्यसको पर्खाईमा छौं ।’

उनले माटोको ल्याब परिक्षण गर्दा अनपयुक्त भए ठेकेदारले सडकमा बिछ्याएको सबै माटो उठाउनुपर्ने बताए । उनले सडकमा बलौटे माटो प्रयोग भएको बारेमा जनगुनासो आएको बताए ।

प्राविधिकका अनुसार निर्माण पक्षले सडक निर्माणका क्रममा बिछ्याएको माटो रोलिङ गर्नुपर्ने हो । २० देखी २५ सेन्टिमिटर माटो बिछ्याए पछि अनिवार्य रोलिङ गर्नुपर्ने प्रावधान छ । तर निर्माण पक्षले करिव २ फिट माटो बिछ्याउँदा सम्म पनि रोलिङ गरेको छैन । स्थानीयले सडक निर्माणको काम लापरवाही ढंगले सुरु भएको आरोप लगाएका छन । जसका कारण उनीहरु सडक निर्माणको काम गुणस्तरीय हुनेमा शंका गर्न थालेका छन । ‘अन्धाधुन्द सडकमा माटो फालेको छ’ एक स्थानीयले भने–‘निर्माण पक्षले जिम्मेवार ढंगले काम सुरु गरेको देखिदैन ।’

निर्माण पक्षले आयोजनाका बारेमा विवरण सहितको सार्वजनिक सूचना समेत जारी गरेको छैन । कुनैपनि आयोजनाको आवश्यक जानकारी सहितको सूचना सार्वजनिक स्थलमा टाँस गर्नुपर्ने प्रावधान छ । स्थानीयका अनुसार कुनैपनि स्थानमा त्यस्तो सार्वजनिक सूचना देखिएको छैन ।

स्थानीय टेकनारायण पौडेलले निर्माण सम्बन्धी कुनै सार्वजनिक जानकारी नदिईएको बताए । ‘निर्माणका बारेमा सूचना दिनुपर्ने होला तर त्यस्तो सूचना कहिँ कतै छैन’ उनले भने–‘सडक निर्माण कसरी भैरहेको छ भन्ने बारेमा हामीले जान्न पाउनुपर्छ ।’

सडक निर्माणको प्रभावकारी अनुगमन समेत हुन नसकेको स्थानीयको आरोप छ । उनीहरु कुनै पनि पक्षले सडक निर्माणको काममा ध्यान नदिएको बताउँछन । तर संघीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इन्जिनियर जोशीले भने प्राविधिक टोली सडक निर्माणस्थलमा खटिएको जानकारी दिए ।

टीकापुर नगरपालिकाले सडक निर्माणको काममा समन्वय गर्ने अधिकार मात्रै छ । उसलाई सडक निर्माणको अनुगमन गर्ने अधिकार छैन । तैपनि सडक निर्माणको गुणस्तरीयता प्रति नगरपालिकाको ध्यानाकर्षण हुने मेयर तपेन्द्रबहादुर रावलले बताए । ‘यो संघीय योजना हो । हामीले अनुगमन गर्न मिल्दैन’ उनले भने–‘तैपनि सडकको गुणस्तरीयता प्रति हाम्रो ध्यानाकर्षण हुने गर्छ ।’

सडक निर्माणको काम गुणस्तर नभएको स्थानीयको शंका प्रति बुझ्न खोज्दा निर्माण कम्पनीका स्थानीय प्रतिनिधि जनक शाही सम्पर्कमा आएनन् । उनले रमण केएस जेभीको नाममा आफैले सडक निर्माणको काम लिएको बताईएको छ । उनी स्थानीय ठेकेदार समेत हुन ।

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update