टीकापुर, जेठ २०
टीकापुर नगरपालिका–१ वनगाउँस्थित सरस्वती माविका पूर्वविद्यार्थी रमेशप्रसाद भण्डारीले गोविन्द राज गौतम पुरस्कार प्राप्त गरेका छन ।
उनलाई २०७४ सालको एसईई परीक्षामा सबैभन्दा बढी अंक हासिल गरेर उत्तीर्ण भएकोमा गोविन्दराज गौतम स्मृति पुरस्कार कोषले पुरस्कार प्रदान गरेको हो । उनले जिपिए ३ दशमलव ३५ अंक हासिल गरेका थिए ।
एक समारोहकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन घर्तीमगरले ५ हजार नगद र प्रशंसापत्र प्रदान गरेका छन ।
विद्यालयका पूर्वशिक्षक गोविन्दराज गौतमका कान्छा छोरा चतुर्भुज गौतमले बुबाको सम्झनामा कोषको स्थापना गरेका हुन । सो विद्यालयबाट अवकाश प्राप्त भएका गौतमको २०६८ जेठ १८ गते निधन भएको थियो ।
उनले स्वर्गीय बुबाको जेष्ठ कृष्ण औंशी तिथिका दिन सो पुरस्कार वितरण गर्दै आएका छन । उनले २०७१ साउन १६ गते कोषको स्थापना गरेका थिए । कोषमा जम्मा भएको रकमबाट प्राप्त ब्याजले हरेक वर्ष विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएको छ ।
पुरस्कार वितरण समारोहका अध्यक्ष तथा विद्यालयका सहप्रधानाध्यापक मैनबहादुर खड्काले हरेक वर्ष गोविन्दराज गौतम स्मृति पुरस्कार प्रदान गरेर कोषले विद्यार्थीको मनोवल उकास्ने काममा सहयोग पु¥याएको बताए । उनले यस्ता क्रियाकलापले विद्यार्थीमा पढाई प्रतिको रुचि बढ्ने विश्वास व्यक्त गरे ।