Hamro Patra
कर्णाली तर्न जोखिमपूर्ण डुंगाको भर

टीकापुर, कार्तिक ११

कर्णाली नदीको दौलतपुर घाटमा पक्की पुल नहुँदा स्थानीयहरु डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीयहरु जोखिमपूर्ण डुंगाबाट वारपार गर्दै आएका हुन् । हिउँदेयाममा नदीमा पानीको बहाव केही कम हुने भए पनि बर्खामा उर्लदो भेलमा भने स्थानीयहरु ज्यानकै बाजी थापेर आउजाउ गर्छन् ।

कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो । दौलतपुर घाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन् । ‘जोखिमपूर्ण डुंगा चढ्नु हाम्रो बाध्यता हो’ टीकापुर नगरपालिका वडा नं. ५ का स्थानीय मीना चौधरीले भने, ‘हामी जन्मेदेखि नै यसरी नै वारपार गर्दै आएका छौं, हिउँदमा त पानी कम हुन्छ, सजिलै हुन्छ तर बर्खामा कर्णालीको भेलमा निकै डर  लाग्छ ।’

Khadga Memorial And Janajagriti

कर्णाली नदीले दुबै प्रदेश र दुबै जिल्लाको सीमाना छुट्याएको भए पनि यहाँका स्थानीयहरुको सम्बन्ध घनिष्ट छ । टीकापुरका सयौं बासिन्दाको खेत राजापुरमा छ भने राजापुरका लागि टीकापुर नजिकको व्यापारिक केन्द्र हो ।

‘हाम्रो खाने खेत नै राजापुरको दौतलपुरमा छ, धान ल्याउनेदेखि खेती लाउन सम्म दिनमै तीन÷चार पटकसम्म ओहोरदोहोर गर्नुपर्छ’ टीकापुरका खेम धमालाले भने ‘ज्यान जोखिममै राखेर जानुपर्छ, समय पनि धेरै लाग्छ ।’ नदीमा सञ्चालन हुँदै आएका डुंगा (स्टिमर)बाट स्थानीय आवतजावत गर्छन् ।

बर्दियाको दौलतपुर उब्जनीका लागि उर्वर भूमि हो । टीकापुरमा बसोबास गर्नेहरू पनि दौलतपुरमै खेतीपाती गर्छन् । दौलतपुरमा उब्जाएको खाद्यान्न बाली डुंगाबाटै टीकापुर भित्र्याउँछन् ।

कर्णाली नदीको तीव्र बहावका कारण बेला बेलामा दुर्घटना समेत हुने गरेको छ । ‘दुई वर्ष अघि साउनको महिनामा २१ जना सवारी बोकेको स्टिमरमा समस्या आउँदा मुश्किलले एक किलोमिटर तल डुंगा पार लगायौं,’ विगत ३३ वर्षदेखि दौलतपुर घाटमा डुंगा सञ्चालन गर्दै आएका गौरी चौधरीले भने ‘के गर्नु यात्रुलाई तार्नैपर्छ अझ रातिको समयमा कयौं बिरामीलाई टर्च बालेर नदी तार्नु पर्छ ।’

स्थानीयले लामो समयदेखि दौलतपुर घाटमा पक्की पुलको माग गर्दै आएका छन् । उनीहरुले संघर्ष समिति समेत गठन गरेका थिए । समितिका सदस्य भरत साउँदले पुलका लागि धेरै निकायमा धाए पनि सम्बोधन हुन नसकेको बताए ।

‘अब त आशा पनि मरिसक्यो’ साउँदले भने, ‘सबै तहका सरकारसँग पक्की पुल माग गरेका थियौं, सबैले पहल भइरहेको छ भन्छन् तर हाम्रो समस्या उस्तै छ ।’ वर्षौंदेखि डुंगाको जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयहरुले पक्की पुल निर्माण हुनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update