Hamro Patra
कहाँ अड्कियो ब्लक ए स्तरोन्नतिको काम ?

टीकापुर, कात्तिक ५

स्मार्ट सिटी अन्र्तगत टीकापुर नगरपालिका वडा नं. १ को ब्लक ए स्तरोन्नतीको काम समयमा सम्पन्न हुन सकेको छैन । डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भएपनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो ।

समयमा काम सम्पन्न हुन नसक्दा दुई पटक म्याद थप भएको छ । पछिल्लो समय थपिएको म्याद समेत यही कात्तिक मसान्त भित्र सकिदैछ । अझै सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन भने नाली निर्माणको काम पनि अलपत्र अवस्थामा छ ।

Khadga Memorial And Janajagriti

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयको करिव ८ करोड लागतमा ब्लक ए को स्तरोन्नती अन्र्तगत ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण गर्नुपर्ने छ । ब्लक ए को तीन तिरको मुख्य सडक र केही भित्री सडक समेत कालोपत्रे हुनेछन ।

महालक्ष्मी/एम. के. जेभीले स्तरोन्नतीको जिम्मा पाएको हो । कोरोनाका कारण विगत एक वर्ष काम हुन नसकेको निर्माण पक्षले जनाएको छ । कोरोनाका कारण लकडाउन भएपछि काम हुन नसकेको बताईएको छ ।

निर्माण व्यवशायी चक्र शाहले विद्युत पोल र खानेपानीको पाईपका कारण समेत निर्माण कार्य प्रभावित भएको बताए । उनले विद्युत पोल सार्न र खानेपानीको पाइप व्यवस्थापन गर्न मात्रै दुई वर्ष लागेको जानकारी दिए । ‘दुई वर्षसम्म विद्युत पोल र खानेपानी पाइपका कारण कार्यादेश पाईएन’ उनले भने –‘काम ढिलो हुनुको मुख्य कारण यो पनि हो ।’

उनले नाली निर्माणको काम लगभग सकिएको र सडक कालोपत्रेको काम मात्रै बाँकी रहेको बताए । उनले अबको २ महिना भित्र कालोपत्रेको काम समेत सम्पन्न हुने जानकारी दिए । उनले तिहार लगत्तै निर्माणको काम सुचारु हुने बताए । ‘अबको २ महिनामा काम सकिन्छ’ उनले भने –‘कालोपत्रेका लागि आवश्यक पर्ने सबै सामान जुटाईसकेका छौं ।’

स्तरोन्नतीको काममा ढिलाई भएको मात्रै हैन निर्माण पक्षले सडकमा निर्माण सामाग्री थुपारेको छ । जसका कारण दुर्घटना हुने गरेका छन । स्थानीयले सडकमा निर्माण सामाग्री थुपारेका कारण हिँडडुलमा समेत समस्या हुने गरेको बताए ।

स्थानीय गंगाराम चपाँईले सडकमा गिट्टी बिछ्याएकाले सडकमा हिँडडुल गर्न समस्या भएको बताए । उनले निर्माण पक्षको लापरवाहीका कारण पनि यस्तो अवस्था सिर्जना भएको बताए ।

स्थानीयले समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गरेका छन । उनीहरुले विभिन्न बहानामा निर्माण पक्षले काममा ढिलासुस्ती गर्ने गरेको आरोप लगाउने गरेका छन ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update