हर्क विष्ट
मनमा एकाएक अचम्मको छाल आयो । मनले कहिल्यै पिउँदै नपिएको चिज पिएर एकछिन आनन्द लिन खोज्यो । साथमा चियाको तातो चुस्की पनि । भर्खर निन्द्राबाट ब्युझिन लागेको भजनी बजार, जुन बजार साँझ ७ नबज्दै निदाउँछ बिहान अबेरसम्म पनि उठ्दैन । यो बेला घडीमा विहानको ५ बजेको छ । बजार निन्द्राबाट ब्युझिन अझै दुई साढे दुई घण्टा बाँकी छ । मनले तत्काल नै चियाको चुस्की सँगै एक सर्काे धुवा उडाउन खोजिरहेको छ । त्यो उडेको धुवासँगै हेर्न खोजिरहेको छ जिन्दगीको वास्तविक चित्र । मस्तिष्कलाई थाहा छ बजार सुतेको छ, मनले जिद्दि गरिरहेको छ । आँखाहरु तृर्खाले भौतारिएको कागले पानीको घैंटो खोजे जस्तै गरेर कुदिरहेका छन, भजनी बजारतिर ।
पूरै भजनी बजार परिक्रमा गरिसक्दा पनि भेटिएन मनले आनन्द लिन खोजेको तातो चुस्की चिया पिउने र एक सर्काे धुवा उडाउने ठाउँ । बजार मस्त निन्द्रामा छ । भजनी बजार धेरै पुरानो सुनेको नाम हो । जो वर्षाैंदेखि यसरी नै सुतिरहेको छ । मस्त निन्द्रामा रंगिन सपना देख्दै । वर्षौं पहिले शिलान्यास भएको फराकिलो चिल्लो हुलाकी सडकलाई पूर्व–पश्चिम जोड्ने कान्द्रा नदी माथिको पक्की पुल बनेको पूर्व पश्चिम मालबाहक गाडी कुदेको ।
व्यापारी, पर्यटक, बटुवाहरु सुस्ताउन र विश्राम गर्न भजनीका चिया पसलहरुमा बसेको चिया पिएको । एक खिल्ली चुरोट सल्काएर एक सर्काे धुवा उडाएको । वर्षाैंदेखिको यो रंगिन सपना देख्दा देख्दै बसिरहेछ भजनी बजार । हुलाकी सडकको वर्षाैंदेखि निर्माण सम्पन्न हुन नसकेको पुलको प्रतिक्षामा । जसरी म छु अहिले एक कप चिया र एक सर्काे धुवा उडाउने तलतलमा बजार ब्युझाईको प्रतिक्षामा । बजार डुलेर थकित आँखा र दिकदार मन आफ्नै कोठामा पुगें ।
मन जस्तो बेकार यो संसारमा अरु के होला र । डुलन्ते, मुसाफिर जस्तो डुल्न पाए क्षणभरमै संसार परिक्रमा गरिदिन्छ । कोठाबाट फेरि मन जन्मभूमी बाआमा, बालापन, बालापनका साथी बालापन बितेका ती लेकबेसी, चौर, चौतारी र वनपाखातिर लाग्यो । आखा भित्तामा आफ्नै जालमा अल्झिरहेको माकुरोतिर अल्झिरहेका छन् ।
मनमा बालापनको मधुर सम्झना बुवाआमाको माया र गाँउको याद पनि आइरहेका छन् । दिदीसँग भेडा चराउन जाँदा जंगलमा गाएको एक टुक्का ठाडी भाकाको याद झन बेस्सरी आयो । एक फेर गुन गुनाउन मन लाग्यो ।
कठ दैन ......
लेकै लाग्यो काठ्या कुइड्यो लेकै बान्निनो छ ।
घाम लाग्याको देश मधुरो किन मान्निनो छ ।।
ओठले गीत गुनगुनायो मन अमिलो भयो आँखा रसिला भए । एकछिनमा रामारोशन तालबाट कैलाश खोला बगे जसरी आँखाबाट आशुहरु बगे । “आँसुहरु चोटले मात्र होइन, कहिले काहीं मिठो सम्झना झोक्काहरुले मुटुमाथि उडान गर्दा पनि बग्ने रहेछन् ।’’ आँखाबाट आसुहरु बगिसकेपछि एकछिनलाई मनको तलाउ हल्का भयो ।
फेरि मनले गाउँलाई सम्झिरह्यो । गाउँ यतिबेला त्यो बेलाको जस्तो छैन । हामीले दाउरा, घाँस र भेडाबाख्रा चराएको वन पनि अहिले त्यो बेलाको जस्तो छैन । हामीसँगै विरहका भाका पोख्ने न्याउली अहिले एक्लै गुन्गुनाउँछ विरहीका भाकाहरु । सँगैका साथी संगीहरु पनि गाउँमा छैनन् । त्यो बेलाका जस्ता घोगा(मकै) बारीमा फल्दैनन अचेल कोदोका बारी बन्जर भएको छन् । लेकका छानाहरु जीर्ण छन् । छानाका भित्ताहरु मक्किएका छन् ।
जीर्ण ती छानाहरु खाडी पुगेका युवापंक्तिको प्रतिक्षामा छन् फेरि बा–बाजेको युगको खोजीमा छन् । बन्जर ती जमिनहरुले बा जस्तै पौरखी कृषक खोजिरहेछन् । भत्किनै लागेको गोठले गाई भैंसी खोजिरहेका छन् । टम्म घाँस उम्रिएको भेडी गोठ (भेडा हुल्ने ठाउँ) ले फेरि एक बथान भेडा खोजिरहेको छ । पूरै सुनसान बनेका ती लेकका जीर्ण छानाहरुका अँगेनाले आगो खोजिरहेछन् । छानाका भित्ताहरुले आफुलाई सुमसुम्याउने मालिक खोजिरहेछन् । बा–बाजे हिँडेका ती गोरेटाहरुले पौखरी पैतला खोजिरहेछन् । कुनै बेला स्वर्गको एक टुक्रा जस्तै लाग्ने लेक अहिले सुनसान जीर्ण बस्ती जस्तै भएको छ । मानौं त्यो हाम्रा बा बाजे जन्मिएका हुर्केका र खाए खेलेको ठाउँ नभएर यो अन्तरिक्षको कुनै अर्कै ग्रहको एउटा कुना हो । जहाँ मानव जातिको ब्युत्पत्ति नै नभए जस्तै देखिन्छ ।
पुग्न त गाउँमा विकासका धेरै चिजहरु पुगिसकेका छन् । पढ्नलाई स्कुल पुगेको छ । हिँड्नलाई मोटरबाटो, चढ्नलाई मोटर पुगेको छ । पिउनलाई पानीको धारा, बाल्नलाई बिजुली बत्ती, उपचार गर्नलाई स्वास्थ्य चौकी ।
“विकास भनेको केबल भौतिक संरचना मात्र नरहेछ । भौतिक संरचनासँग संगै दक्ष जनशक्ति पनि अति आवश्यक रहेछ । स्कुल छ पढाउने शिक्षक छैनन् पढ्ने विद्यार्थी छैनन् हिँड्नलाई सडक बनेको छ हिँड्ने मान्छे छैनन् । मोटर गाँउसम्म जान्छ यात्रु छैनन् । धारा छ, धारामा पानी छैन । बिजुलीको तार छ बाल्नलाई बत्ती छैन । स्वास्थ्य चौकी छ उपचार गरिदिने स्वास्थ्यकर्मी छैनन खानलाई औषधी छैन । गाउँमा घर छन् घरमा बस्ने मान्छे छैनन ।’’
गाउँ हराभरा हुनलाई गाउँ, बाटो, बिजुली बत्ती, स्कुल, स्वास्थ्य चौकी यावत कुराहरु भएर मात्र नहुने रहेछ । यसको साथसाथै गाँउमा सम्भावना देखाउने दुरदर्शी नेतृत्व, केही गर्ने इच्छाशक्ति र भावना भएका युवा पनि चाहिने रहेछन् । युवामा इच्छाशक्ति छ गाँउमै बस्ने रहर छ । गाउँमा सम्भावना छैन । गाँउबाट सिंहदरबारसम्म गाँउका आवाज पुर्याउने इमान्दार नेतृत्व छैन । नतिजा गाउँ शून्य छ । कुनै ग्रहको सुनसान निर्जन बस्ती जस्तो छ । गोरेटो मक्किएको छ बा–बाजेका पैतलाका डोपहरु पुरिँदै गएका छन् ।
टीकापुर, कैलाली