Hamro Patra
एउटा अपत्यारिलो सपना !

पूर्वपश्चिम राजमार्गको लम्कीबाट दक्षिण लागेपछि सिक्स लेन फिलिलि सडक । सयौंको संख्यामा गाडी मोटर कुदेका छन । १४ किलोमिटर गुडेपछि एक भव्य शहर देखिन्छ । खड्ग चोक पुग्दै गर्दा जमरा नदी माथि एउटा सुन्दर पुल बनेको छ । पुल कटेपछि व्यवस्थित सडक देखिन्छ । गाडी हिड्ने लेन बेग्लै छ । साइकल यात्रीहरु खुब रमाईरहेका छन । पैदल यात्रीका लागि सडक पेटी व्यवस्थित छ । सडक आसपासमा हरियाली छ । सुन्दर फूल फूलेका छन । जमरा पुलदेखी बसपार्कहुँदै टीकापुर पार्कसम्मको दृश्य यस्तै देखिन्छ ।

मुल सडकसँगै थुप्रै सडक जोडिएका छन । ती सबै कालोपत्रे छन । यति सफा छन कि भुँईमा खसेको खानेकुरा टिपेर खान मन लाग्छ । सडकको दुवैतिर व्यवस्थित ढल निकास छ । रातिको समयमा सडक झिलिमिलि देखिन्छ । किनकी सडक बत्ती सबै ठाउँमा छ । ती सडक बत्तीको हेरचाह स्थानीय आफैले गर्छन । टोलटोलमा समूह गठन भएका छन । ती समूहबीच यो वर्ष कसको टोल सर्वोत्कृष्ठ हुने भन्ने प्रतिस्पर्धा हरेक वर्ष चल्छ ।

उद्योगधन्दा कलकारखानाको कुनै कमि छैन । जमरा पारी औद्योगिक क्षेत्र स्थापना भएको छ । नेपालका ठूलठूला औद्योगिक घरानाले उद्योग स्थापनाका लागि लिजमा जग्गाको माग गर्दै निवेदन दिएका छन रे । यति मात्रै हैन टोल टोलमा स–साना उद्योग समेत खुलेका छन । हजारौं हजारले रोजगारी पाएका छन । कोही विदेश जाँदैनन् । बसाँई सरेर आउनेको लर्को छ । जग्गाको भाउ अचाक्ली बढेको छ । यहाँको मुख्य उत्पादन केराले देशभरको बजार ओगटेको छ । काठमाण्डौं लगायतका प्रमुख शहरमा टीकापुरको केरा भनेपछि पहिलो रोजाई बनेको छ । शित भण्डार बनेपछि त किसान पनि निकै उत्साहित बनेका छन । फलफूल, तरकारीको उत्पादन ह्वात्तै बढेको छ । जतिधेरै उत्पादन भएपनि बजारको कुनै समस्या छैन । ट्रकका ट्रक बोकेर ब्यापारी किसानको बारीमै पुग्ने गरेका छन ।

Khadga Memorial And Janajagriti

यता डुँडेझारीको सडक पनि चारलेन बनेको छ । कर्णाली नदी किनारमा छुट्टै सडक निर्माण भएको छ । जुन सडक चिसापानीबाट सुरु भएर टीकापुर पार्क हुँदै कर्णाली र मोहना नदीको दोभानसम्म रहेको छ । जसले बाढी रोकथामको काम समेत गर्छ । यसलाई कर्णाली करिडोर भनिन्छ । यो सडक पर्या पर्यटनका दृष्टिकोणले पनि निकै आकर्षक बनेको छ । यो सडक हेर्न मात्रै पनि दिनहँु हजारौको संख्यामा आन्तरिक बाह्य पर्यटक आउँछन ।

पर्यटकलाई टीकापुर प्रवेशमा कुनै समस्या छैन । सनकट्टीघाटमा बडेमानको पुल बनेको छ । जोशीपुरतर्फ जाने सडक समेत चारलेन भैसकेको छ । हुलाकी बाटो फोर लेन बनेको छ । टीकापुर आसपासका पालिकालाई जोड्ने गरी रिङ रोड बनेको छ । रिङ रोडमा चिल्ला र आकर्षक गाडी कुद्छन । कतिपय मानिसहरु त रिङ रोड हेर्नका लागि मात्रै भएपनि गाडीमा चढ्छन । स्वदेशी मात्रै हैन विदेशी नागरिक समेत टीकापुर हेर्न आउने गरेका छन । तेस्रो मुलुकका नागरिक विमानस्थलमा झर्छन । उनीहरु गाडी चढेर टीकापुरको फन्को मार्छन । भारतीय नागरिक तिकुनीयाँ हुँदै खक्रौला नाकाबाट टीकापुर प्रवेश गर्छन ।

मोहना नदीको पारीसम्म भारत सरकारले सिक्स लेन सडक निर्माण गरेको छ । मोहना नदी वारी पनि नेपाल सरकारले निर्माण गरेको सडक भारतको भन्दा कम छैन । खक्रौला पुल पारी पट्टी ठूलो प्रवेशद्वार निर्माण भएको छ । जसको नाम कैलाशद्वार राखिएको छ । कैलाशद्वार हुँदै थुप्रै भारतीय तीर्थयात्री समेत आउने गरेका छन । ती तीर्थ यात्रीहरु सत्तीस्थित शिवालयमा पूजा गर्न आउँछन । उनीहरु त्यही बहानामा टीकापुर घुम्छन र कैयौं दिन बसेर जान्छन ।

टीकापुर पार्क अब पार्कमा मात्रै सिमित छैन । यो नेपालको दोस्रो राजधानी हो भन्ने कुरा सबैको जनजिब्रोमा झुण्डिएको छ । यसलाई नारायणहिटी झैं संग्रालय बनाईएको छ । थुप्रै मानिसहरु स्व. राजा महेन्द्रले स्वास्थ्य लाभ गरेको ठाउँ भनेर आउँछन । यहाँ दिनको एक पटक एकोहोरो हावा चल्छ । त्यो हावा मानसरोवर हुँदै बहेर आउछ भन्ने विश्वास गरिन्छ । त्यो हावामा श्वास फेर्न पाए मात्रै पनि दम लगायतका श्वासप्रश्वास सम्बन्धी रोग निको हुन्छ भन्ने दावी आयुर्वेदका चिकित्सकहरुको छ । त्यसैले त स्व. राजा महेन्द्रलाई मुटुको समस्या भएपछि उपचारका लागि भनेर नै यहाँ राखिएको थियो । उनले २८ दिन यहीबाट देशको राजकाज सम्हालेका थिए । दरवारले चिनेको टीकापुर पार्कलाई अहिले लाखौं जनताले चिनेका छन ।

म त्यो पार्कको गेटमा उभिएको छुँ । पार्क भित्र छिर्ने र बाहिर निस्कनेको लर्को छ । सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । स्थानीयले सुरक्षाकर्मीलाई सघाईरहेका छन । थुप्रै पर्यटकहरु स्थानीयको त्यो व्यवहार देखेर निकै खुशी व्यक्त गर्दै थिए । उनीहरु पर्यटकलाई कसरी स्वागत सत्कार गर्नुपर्छ भन्ने कुरा टीकापुरबासीबाट सिक्नु पर्छ भनेर प्रशंसा गर्दै थिए ।

यत्तिकैमा कसैले कल गरेछ । मोवाइलको घण्टी बज्यो । झसङ्ग हुँदै ब्यूझिए । एउटा नेताको कल रहेछ । सोचे चुनाव आएर सम्झे होलान । कल रिसिभ गरिन । किनकी बिहानै तिनका बकम्फुसे कुरा सुनेर किन दिनभर मुड खराब गर्नु ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update