Hamro Patra
सडक निर्माणको कामले स्थानीय आजित

योगेश रावल
टीकापुर, जेठ १८
टीकापुर नगरपालिका खक्रौलारोड आसपासका स्थानीय बासिन्दा छ लेन सडक निर्माणको कामले आजित बनेका छन । सडक निर्माणका क्रममा बिछ्याएको माटो उडेर घरभित्र बसिनसक्नु भएपछि स्थानीयले निर्माण कम्पनीको कार्यशैली प्रति तिब्र आक्रोश व्यक्त गरेका छन ।

सडक निर्माणको कामले स्थानीय बासिन्दा मात्रै नभई व्यवशायीहरु समेत समस्यामा छन । उनीहरुले सडकबाट उडेको माटो पसल भित्र छिर्ने गरेका कारण ब्यापार व्यवशाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको दुःखेसो पोखे ।
सडकबाट उडेको माटो पसल भित्रै छिर्न थालेपछि व्यवशायीहरुले माटो उड्न नदिन सडकमा पानी हाल्नुपर्ने माग गर्दै नगरपालिका कार्यालयलाई दवाव दिएका छन । उनीहरुले दवाव दिएपछि नगरपालिकाले निर्माण कम्पनीसँगको छलफलमा सडकमा पानी हाल्ने सहमति समेत भएको थियो ।

सहमति भएको पाँच दिन बितिसक्दा समेत निर्माण कम्पनीले सहमति अनुसार काम नगरेको स्थानीय ब्यापारी शिवदत्त उप्रेतीले बताए । उनले नगरपालिकाले निर्माण कम्पनीलाई दवाव दिनुपर्ने माग गरे । ‘धुलो उडेर पसलमा बस्न सक्ने अवस्था छैन । नगरपालिकाले हाम्रो मर्का बुझ्नु पर्छ’ उनले भने–‘निर्माण कम्पनीले टेरेन भनेर नगरपालिका गैरजिम्मेवार बन्न मिल्दैन ।’

CMA Staff

निर्माण कम्पनीले टिप्परमा बोकेर ल्याएको माटो सडकमा खन्याउने क्रममा झन धेरै धुलो उड्ने गरेको छ । जसका कारण सडकमा हिड्ने सवारी साधन र सर्वसाधारणलाई समेत निकै अफ्ठ्यारो हुने गरेको छ । स्थानीयले मान्छेको चहलपहल हुने बेलामा टिप्परले सडकमा माटो खन्याउने कार्य नगर्ने वातावरण बनाईदिन आग्रह गरेका छन ।

स्थानीय चण्डिमाई मेडिकलका सञ्चालक टेकनारायण पौडेलले सडकमा माटो बिछ्याउने काम रातिको समयमा गरे स्थानीयलाई केही हदसम्म सहज हुने बताए । उनले यस्ता काम दिउसोको समयमा गर्दा स्थानीयलाई निकै समस्या भैरहेको बताए ।

‘राति काम गरेको भए राम्रो हुन्थ्यो । यसो गर्दा दिउसो हिँडडुल गर्नमा खाशै समस्या हुँदैन थियो’ उनले भने–‘विगतमा यही सडक निर्माण हुँदा रातिको समयमा काम भएको थियो ।’

सडक निर्माण आसपासका व्यवशायीहरु आफै पसल अगाढी पानी फालेर धूलो उड्ने समस्याबाट केहीहदसम्म मुक्ति खोजिरहेका छन । उनीहरुको प्रयासले मात्रै सडकको धुलो उड्ने क्रम न्यून हुन सकेको छैन । अपरान्हको समयमा हावा चलेपछि सडकमा बिछ्याएको माटो उडेर टीकापुर बजार धुलाम्मे देखिने गरेको छ । जसको मारमा विद्यालयबाट घर फर्किदै गरेका विद्यार्थी र किनमेलका लागि बजार निस्किएका सर्वसाधारण पर्ने गरेका छन ।
व्यवशायी उप्रेतीले आफूहरु विकासको बाधक नभएको बताउँदै कम्तिमा सहज वातावरण बनाईदिन नगरपालिकासँग आग्रह गरे । उनले नगरपालिकाले नगरबासीको स्वास्थ्य प्रति गम्भिरता देखाउनुपर्ने बताए ।

टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले निर्माण कम्पनीले सहमति अनुसार काम नगरेको प्रति ध्यानाकर्षण भएको बताए । उनले स्थानीयले धूलो उडेर समस्या भएको गुनासो आएपछि निर्माण कम्पनीसँग छलफल गरेर सडकमा पानी हाल्ने सहमति भएको जानकारी दिए । ‘धूलो उड्न नदिने बारेमा सहमति भएको थियो’ उनले भने–‘के कति कारणले सडकमा पानी नहालेको हो, त्यस बारेमा बुझ्छु ।’

नगरपालिकाको जमरापुलदेखी बसपार्कसम्मको २ दशमलव ३ किलोमिटर सडक स्तरोन्नतीको काम भैरहेको छ । करिव २० करोडको लागतमा रमण केएस जेभीले छ लेन सडक निर्माणको काम गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update