Hamro Patra
टीकापुरमा रगत अभाव, बिरामी समस्यामा

टीकापुर, कार्तिक १

कैलालीको टीकापुर नगरपालिका-१ का पृथ्वीराज ढुंगाना स्वयम्सेवी रक्तदाता हुन् । उनले अहिलेसम्म २७ औं पटक रगतदान गरेका छन् ।

नियमित रक्तदाता ढुंगानाले भने शुक्रवारको दिन रगत खोज्नमै बिताए । उनका ७५ वर्षका बुवा चन्द्रप्रसाद ढुंगानालाई २ पिन्ट रगत आवश्यक  पर्यो । स्वास्थ्यकर्मीका अनुसार दुई पिन्ट रगत चढाउनु पर्ने बुवाका लागि रगत खोज्न ढुंगानालाई हम्मेहम्मे पर्‍यो । ‘रगत दिन कोही मान्दैनन् । बिरामीको संख्या बढेसँगै रगत माग भैरहेको छ’ उनले भने-‘आफूलाई पर्दा माग्ने मात्रै हैन अरुलाई पर्दा दिने पनि गरौं ।’

Khadga Memorial And Janajagriti

जानकी गाउँपालिका-७ का रुपबहादुर कठरिया तीन दिनदेखि रेडक्रसमा धाइरहेका छन् । रक्तअल्पताका कारण ५ पिन्ट रगत चढाउनु पर्ने उनी एक सातादेखि ओ पोजेटिभ रगत खोजिरहेका छन् । ‘रेडक्रसमा रगत छैन भन्छन’ उनले भने ‘रगत नपाएर निकै तनावमा छुँ ।’

टीकापुर अस्पतालमा बिरामीको संख्या दिनहुँ बढ्दो् छ । यहाँ नियमित अप्रेसन समेत हुने गरेको छ । दैनिक ६ शय बढी बिरामी आउने अस्पतालमा रगतको माग पनि बढेको छ ।

टीकापुर अस्पतालमा सिकलसेल एनिमियाका बिरामी समेत रगतका लागि दिनहुँ जसो आउने गरेका छन् । नियमित रुपमा रगत चढाउनु पर्ने त्यस्ता बिरामीका कारण समेत रगतको अभाव बढेको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका रक्त सञ्चार संयोजक सञ्जयराज भण्डारीका अनुसार रगत माग गर्नेको संख्या एक्कासी बढेको छ । उनले साउनदेखि असोजसम्म ५ शय ५६ पिन्ट रगत खपत भएकोमा ५ शय ३१ पिन्ट रगत संकलन भएको जानकारी दिएका छन ।

‘अहिले भइरहेको मागका आधारमा अझै ३० प्रतिशत कम देखिन्छ’ उनले भने ‘दैनिक जसो ६/७ पिन्ट रगतको माग छ भने दिने मान्छे मुश्किलले २/३ जना मात्रै हुन्छन् ।’

भण्डारीले रगत संकलनका लागि जनचेतनाको कमी रहेको बताए । ‘रक्तदाता संघ संस्थाहरुले समेत अचेल रक्तदान कार्यक्रम गरेका छैनन्’ उनले भने ‘हामीमा पनि जनचेतना छैन, रगत लिन्छौं तर दिनुपर्ने भए दिँदैनौं ।’

भण्डारीले रक्तदाता संघसंस्थाहरुलाई रक्तदानका लागि अनुरोध गरेका छन् । रक्तदान गर्ने बारेमा जनचेतनाको अभाव देखिन्छ । रेडक्रस लगायतका संघसंस्थाहरुले रगतदान गर्ने बारे जनचेतना जगाउने खालका कार्यक्रम गर्नुपर्ने स्थानीय बताउँछन । उनीहरु यस्ता क्रियाकलापमा रेडक्रस मुकदर्शक बनेको आरोप लगाउँछन ।

रगतको अभावका कारण कतिपय विरामीका आफन्तहरु समस्यामा पर्ने गरेका छन् । रक्त सञ्चार केन्द्र टीकापुरले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका स्थायी बासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ । केन्द्रले रगत जाँच गरे वाफतको शुल्क मिनाहा गरेको हो । सो वाफतको रकम पालिकाले केन्द्रलाई एकमुष्ठ भुक्तानी गर्ने गरेका छन ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update