Hamro Patra
अछामको चुनावी माहोल बनाउन पूर्व मन्त्री बोहरा कैलालीमा

टीकापुर, असोज ३०

अछामको क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार बनेका झपटबहादुर बोहरा अछाममा चुनावी माहोल बनाउन कैलाली झरेका छन् ।

एमालेका पूर्व उपाध्यक्ष एवं पूर्वमन्त्री भीम रावलको टिकट खोसेर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका बोहराले यतिबेला चुनावी माहोल बनाउन कैलालीमा छन् ।

Khadga Memorial And Janajagriti

शनिवार मात्रै उनले कैलालीको टीकापुरमा आयोजित विभिन्न कार्यक्रममा अछाम क्षेत्र नं. १ मा चुनावी माहोल बनाई दिन आग्रह गरे ।

अछामको दर्ना घर भई टीकापुर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयहरुसँग आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री समेत रहेका बोहराले चुनावी माहोल बनाई दिन आग्रह गरेका हुन् ।

कार्यक्रममा सहभागी स्थानीय भीमबहादुर शाहले बोहराले टीकापुरलाई मिनी अछामको संज्ञा दिँदै आफूलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न आग्रह गरेको बताए ।

‘टीकापुर भनेको मिनी अछाम हो, यहाँका थुप्रै मतदाताहरु अछाममा छन्’ बोहरालाई उद्धृत गर्दै शाहले भने ‘तपाईहरुको आर्शिवाद लिनका लागि आएको हुँ, मलाई सहयोग गर्नुहोला ।’

कार्यक्रममा कैलाली क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार ललित थापा ‘शिव’ र क्षेत्र नं. १ प्रदेश सभा (ख) राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर थापा समेतको उपस्थिति रहेको थियो । उनीहरुले समेत आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

पूर्व मन्त्री बोहराले यसअघि बोहरा एकता समाजले आयोजना गरेको कार्यक्रममा समेत आफूलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

जिल्ला र प्रदेश कमिटीबाट एकल नाम सिफारिस भएका पूर्व मन्त्री रावलको टिकट अन्तिम अवस्थामा एमालेले बोहरालाई दिएपछि उनलाई चुनावी चुनौति थपिएको छ ।

अछाम क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर, स्वतन्त्र राजन कुँवर लगायतले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update