Hamro Patra
छ लेन सडक १: चार वर्षमा पनि सकिएन जम्मा २ किलोमिटर सडक

टीकापुर, असोज २९

दुई किलोमिटर सडक कालोपत्रे गर्न सामान्यतया कति समय लाग्छ होला ? तपाई हामीले अनुमान लगाउन सक्छौं । दुई वर्षमा मज्जाले सकिन्छ । हाम्रो अनुमान जस्तै शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीले समेत दुई किलोमिटर सडक कालोपत्रे गर्न दुई वर्षकै अनुमान ग¥यो ।

कार्यालयको अनुमान भन्दा दोब्बर समय अर्थात् चार वर्ष बितिसक्दा समेत निर्माण कम्पनीले जम्मा दुई किलोमिटर सडक पूरा गर्न सकेको छैन । यहाँ यसो भन्दा सडकमा अवरोध होला ? निर्माणमा असहयोग भएको होला ? मुआब्जाले हो कि ? यत्ति समय त नलाग्नु पर्ने हो भन्ने कौतुहलता तपाई हामी जो कोहीलाई हुन्छ । माथि उल्लेखित कुनै पनि समस्या नहुँदा समेत टीकापुर बजारको मुख्य सडकको जमरा पुलदेखि बसपार्कसम्मको २ किलोमिटर सडक चार वर्षमा समेत पूरा हुन सकेको छैन ।

Khadga Memorial And Janajagriti

सरकारको स्मार्ट सिटी कार्यक्रम अन्तर्गतको दुई किलोमिटर लामो छ लेन सडक चार वर्षमा समेत पूरा गर्न नसक्ने निर्माण कम्पनी हो, रोमन के.एस. जे./भी. कैलाली। कम्पनीका स्थानीय सम्पर्क व्यक्ति हुन् चिसापानीका निर्माण व्यवसायी जनकबहादुर शाही ।

२०७५ असोज ११ गते शुरु भएको दुई लेन सडक २०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको थियो । संघीय सरकारको २० करोड रूपैयाँको लागतमा निर्माण हुने जमरा पुलदेखि बसपार्कसम्मको २ दशमलव ३ किलोमिटर छ लेन सडक चार चार वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन ।

कम्पनीले जमरापुल देखि बसपार्कसम्म कालोपत्रे गरेको छ । सडकको बाहिरी लेन, गार्डेन अलपत्र छ । हाटबजार नजिकै रहेको कल्भर्ट सकिएको छैन । सडकको दुबै तर्फ जथाभावी ग्राभेल र माटो थुपारिएको छ । ‘वर्षामा पानी परेपछि सडकको माटो पसलमा पुग्छ’ व्यवसायी रुपकबहादुर विष्टले भने ‘चार वर्षमा पनि जम्मा दुई किलोमिटर सडक नसक्ने ठेकेदारलाई कारवाही हुनुपर्छ ।’

इञ्जिनियर रवीन्द्र विष्टले चार वर्षसम्म निर्माण कार्य नसक्ने कम्पनीलाई कारवाही गर्न माग गरे । ‘म आफै इञ्जिनियर हो, दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षसम्म पनि पूरा भएको छैन, बनेको कालोपत्रे पनि अपूरो छ’ इञ्जिनियर विष्टले भने ‘या त निर्माण कम्पनीले सम्बन्धित निकायलाई टेरेन या उसको अरु कुनै बद्नियत छ ।’ विष्टले निर्माण कार्य तत्काल सुचारु गर्न दबाव दिनु आवश्यक रहेको बताए ।

निर्माण कम्पनीको लापरवाहीका कारण स्थानीयले सास्ती खेप्नु परेको बताउँदै टीकापुरका व्यवसायी टेकराज रेग्मीले निकै समय लगाएर समेत सडक नबनाउने निर्माण व्यवसायीको फोटो चोक चोकमा टासेर दबाव दिनुपर्ने बताए । ‘यो त अति हो, चार वर्षमा धनगढीदेखि अत्तरियासम्मको छ लेन सडक निर्माण भएको हो’ रेग्मीले भने ‘दुई किलोमिटर सडक नसक्ने कम्पनीलाई खबरदारी गर्न आवश्यक छ, चोक चोकमा निर्माण व्यवसायीको फोटो टाँसौं ।’

शिक्षक गोपाल उपाध्यायले छ लेन सडक निर्माणमा स्थानीय सरकारले समेत चासो नदिएको आरोप लगाउँदै संगठित रुपमा दबाव सिर्जना गर्नुपर्ने बताए । ‘हामी एक दुई जनाले बोलेर मात्रै भएन, संगठित रुपमै आवाज उठाउन जरुरी छ’ उनले भने ‘सडक निर्माणमा ढिलाई हुनुले यहाँका व्यवसायी निकै समस्यामा परेका छन्, पसल जाने बाटो छैन, धुलो उडेको छ, स्थानीय सरकारले समेत यसमा चासो दिएको देखिएन ।’

टीकापुर नगरपालिकाले समेत उक्त सडक तत्काल निर्माण शुरु गर्न निर्माण कम्पनीलाई दबाव दिनुपर्ने माग स्थानीयले गर्दै आएका छन् । निर्माण कम्पनीले भने पटक पटक अनेक बाहाना बनाएर आलटाल गर्दै आइरहेको छ । ‘पछिल्लो छ महिना यता निर्माण कम्पनीले सडकमा कुनै पनि काम गरेको छैन’ स्थानीय ललिता परियारले भनिन् ‘निर्माण कम्पनी लापत्ता भइसक्यो कि जस्तो लाग्छ । होइन भने खै त काम गरेको देखिँदैन ?’

समयमा सडक निर्माण नहुँदा अन्य विकास निर्माणका कार्य समेत प्रभावित बनेका छन् । निर्माण कम्पनीको ढिलासुस्तीका कारण उक्त सडकखण्ड अझै पनि निर्माण सम्पन्न हुनेमा स्थानीयले आशंका गर्दै आएका छन् । निर्माणमा चरम लापरवाही हुँदा समेत स्थानीय सरकार समेत मुकदर्शन बनेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update