Hamro Patra
गाउँपालिकालाई डेढ करोड मूल्यको जग्गा दान

योगेश रावल
टीकापुर, जेठ १७
धनसम्पत्ति प्राप्तीका लागि कैयौं मान्छे जस्तोसुकै कदम चाल्न तयार हुन्छन । दाजुभाईबीच अंशबण्डाका क्रममा भएका झैझगडामा कतिपयले ज्यानै समेत गुमाएका घटना पनि छन । मान्छे आफू धनाढ्य बन्ने चाहनामा आफन्तलाई समेत ठग्न पछि पर्दैनन् ।

तर समाजमा सबै मान्छे यस्ता हुँदैनन् । कोही अर्काको लागि आफ्नो सम्पत्ति नै दान गर्न तयार हुन्छन । यस्तै मध्येका एक हुन–टीकापुर नगरपालिका–१ का उद्योगी कर्ण प्रताप राणा (७४) ।

उनले जानकी गाउँपालिकाको भवन निर्माणका लागि झण्डै डेढ करोड भन्दा माथि मूल्य पर्ने जग्गा दान गरेका छन । उनले आफ्नो साढे १५ विगाह जमिन मध्ये १ विगाह १२ कठ्ठा १० धुर जमिन गाउँपालिकाको नाममा नामसारी गरिदिएका छन ।

Khadga Memorial And Janajagriti

गाउँपालिकाले आइतवार मात्रै मालपोत कार्यालय टीकापुरबाट जग्गाधनी पूर्जा प्राप्त गरेको छ । गाउँपालिकाले मंगलवार राणालाई कार्यपालिका बैठकमा सम्मान सहित धन्यवाद व्यक्त गरेको छ । राणाको सम्मानमा भब्य समारोह गर्ने सोचमा रहेको गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले जानकारी दिए ।

उनले यो जग्गा २०६० सालमा दीप इट्टा उद्योग सञ्चालनका लागि किनेका थिए । उनी बुढ्यौलीले छोएसँगै हाल इट्टा उद्योग छोड्ने मनस्थितिमा पुगेका छन । उनले इट्टा उद्योग छोड्ने क्रममा आफूसँग भएको जग्गा गाउँपालिकालाई दान गरेको बताए । ‘म अब काम गर्न सक्दैन’ उनले भने–‘सबै ऋणसापट तिरेर ढुक्कले बस्छु ।’

यो राणाको पुख्र्यौली सम्पत्ति हैन । उनले आफ्नै बलबुताले कमाएको हो । उनले प्रयाप्त जग्गा जमिन भएर दान गरेको नभई साँघुरो भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन भएको देखेर दिएको बताए । उनले सुरुमा १० कठ्ठा जमिन दिन खोजेका थिए । त्यो अपुग हुन्छ भन्ने सोचेर डेढ विगाह दिन तयार भए । नापी कार्यालयमा कित्ताकाट गर्दै गर्दा उनले थप २ कठ्ठा १० धुर थप्न लगाए । ‘चारैतिर बाटो अपुग होला जस्तो भयो’ उनले भने–‘पास गर्ने बेलामा केही जग्गा थपिदिए ।’

उनका कान्छा छोरा अभय प्रताप राणा व्यवशायी हुन । उनी काठमाण्डौं र नेपालगञ्जमा उद्योग सञ्चालन गरिरहेका छन । जेठो छोरा तेज प्रताप राणाको निधन भैसकेको छ । उनी पनि यस क्षेत्रका सफल उद्योगी थिए ।

राणाले गाउँपालिकालाई जग्गा दिनुका पछि कुनै ठूलो स्वार्थ छैन । सोही जग्गासँग जोडिएको उनको थप १४ विगाह जमिन छ । गाउँपालिकाको भवन निर्माण भएपछि त्यही जग्गाको मूल्य बढ्ने राणाको अपेक्षा छ । उनले आफूसँग भएको जग्गा थोरै महंगोमा बेच्न पाए इट्टा उद्योग सञ्चालनका क्रममा लागेको ऋण तिर्ने इच्छा व्यक्त गरेका छन । ‘उद्योग चलाउने क्रममा ऋण लागेको छ । त्यही जग्गा बेचेर ऋण तिर्ने सोच बनाएको छु’ उनले भने–‘यो बाहेक मेरो अर्को कुनै स्वार्थ छैन ।’

उनले यो पटक मात्रै जग्गा दान गरेका हैनन् । चारवर्ष अघि बर्दियाको राजापुर नगरपालिका नयाँगाउँमा थारु संग्रालय निर्माणका लागि चार विगाह जमिन दान गरेका थिए । सो ठाउँमा अहिले संग्रालय निर्माण भैरहेको छ । त्यो जग्गा समेत उनले इट्टा उद्योग सञ्चालनका लागि किनेका थिए ।

उनी आध्यात्मिक स्वभावका छन । उनले धेरै संघसंस्थाहरुलाई सहयोग गरेका छन । ती संघसंस्थाको रेकर्ड उनीसँग छैन । उनी आफूले गरेका सहयोग सम्झिन चाहन्नन । उनीसँग आगामी दिनमा के कस्ता सहयोग गर्ने भन्ने बारेमा कुनै योजना छैन । ‘अब के गर्छु । मलाई नै थाहा छैन’ उनले भने–‘इश्वरको इच्छा के छ म त्यही गर्छु ।’

गाउँपालिकाले कार्यालय भवन निर्माणका लागि विस्तृत गुरुयोजनाको काम थालेको छ । अध्यक्ष चौधरीले एक महिना भित्रै भवन निर्माणका लागि टेण्डर गर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update