Hamro Patra
कैलाली–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

टीकापुर, असोज २६
कैलाली–२ मा प्रतिनिधि सभा निर्वाचन तर्फ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । मुख्यगरी गठबन्धनका भगत बडुवाल, नेकपा एमालेका झपट रावल र नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीबीच प्रतिस्पर्धा देखिएको छ ।

स्रोतका अनुसार मंसिर ४ गते हुने आमनिर्वाचनमा तीन जना मध्ये कुनै एकले बाजी मार्ने सम्भावना छ । बडुवाल र रावल भने सँसदको अनुभव प्राप्त गरिसकेका व्यक्ति हुन ।

बडुवाल २०६४ मा संविधान सभा सदस्य विजयी भएका थिए । उनी फेरी गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका छन । उनी माथि संविधान सभा सदस्य हुँदा खाशै उपलब्धीमूलक काम गर्न नसकेको आरोप छ ।

Khadga Memorial And Janajagriti

संविधान सभा सदस्य लगत्तै उनी ब्यवशायमा समेत सकृय छन । उनले जानकी गाउँपालिकामा क्रसर उद्योग सञ्चालन गरेका छन । उनको व्यवशायीक यात्रालाई लिएर पार्टी भित्रै टिकाटिप्पणी हुने गरेको स्रोतको भनाई छ ।

नेपाली काँग्रेसको साथले उनको जित सुनिश्चित रहेको कतिपयको भनाई छ । ‘काँग्रेसले गठनबन्धनमा इमान्दारिता देखायो भने उहाँ जित्नु हुन्छ’ एक नेताले भने–‘गठबन्धन भित्रको समस्या समाधान भैरहेकाले माहौल सुध्रिएको छ ।’

२०७४ को निर्वाचन जितेका रावल फेरी जित्ने दावीका साथ चुनावी मैदानमा छन । उनी माथि समेत जनताका थुप्रै आरोप छन । विगत पाँच वर्षमा खाशै उपलब्धीमूलक काम गर्न नसकेको आरोप रावल माथि पनि छ । उनलाई काम कम प्रचार बढी गर्ने नेताका रुपमा चित्रण गरिन्छ । ‘त्यस्तो देखिने गरी केही काम गर्न सकेनन्’ एक स्थानीयले भने–‘गफ भने प्रशस्तै गरेको पाईन्छ ।’

स्रोतका अनुसार उनी प्रति कार्यकर्ता नै सन्तुष्ठ छैनन् । उनको जीवनशैली र व्यवहारले कार्यकर्ता रुष्ठ देखिन्छन । तर रावल यो आरोप अस्विकार गर्छन । उनले आफूलाई मन नपराउने दुई÷चार जनाले हल्ला फैलाएको बताए । ‘म निकै सरल र सहज छुँ’ उनले भने–‘जनताहरु मेरो प्रशंसा गर्छन ।’

उनले बेला बेलामा सदनमा देखाएको आफ्नो उपस्थितिलाई भने स्थानीयले नोटिस गरेका छन । उनले आफ्नो कुरा सदनमा प्रष्ट राख्ने गरेको एक स्थानीयले बताए । उनले विकासका थुप्रै काम गरेको दावी गरे । उनले आफ्ना जति अरुले ५ प्रतिशत विकास नगरेको बताए । उनले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गरे ।

चौधरीसँग जनप्रतिनिधिको अनुभव छैन । २०७० मा लम्कीचुहा नगरपालिकाको मेयरमा पराजित भए । लोकतान्त्रिक फोरमबाट उम्मेदवार रहेका चौधरी तेस्रो भएका थिए । उनी पार्टी एकिकरणसँगै काँग्रेस प्रवेश गरे । २०७४ को निर्वाचनमा उनी कैलाली–२ (ख) बाट उम्मेदवार भए । उनी ८ सय मतले पराजित भए ।

काँग्रेसको महासमिति सदस्य रहेका चौधरी हालै नागरिक उन्मुक्ति प्रवेश गरे । उनी नागरिक उन्मुक्तिको क्रेज देखेर अवसर छोप्न त्यता लागेको आरोप छ । उनलाई प्रतिनिधि सभा सदस्यका रुपमा स्विकार्ने माहौल नरहेको स्रोतको दावी छ ।

तर थारु समुदायको नागरिक उन्मुक्ति प्रतिको क्रेज हेर्दा उनको जित निश्चित रहेको भन्नेहरु पनि छन । कैलाली–२ मा ३५ देखी ४० प्रतिशत थारु मत छ । नागरिक उन्मुक्तिले यिनै मतका आधारमा आफ्नो जित निश्चित देखेको छ । अर्को बलियो थारु उम्मेदवार नभएका कारण थारु मत एकलौटी जान सक्ने सम्भावना रहेको स्रोतको भनाई छ । ‘थारु मत एकलौटी जान्छ’ नागरिक उन्मुक्तिका एक नेताले भने–‘बडुवाल र रावलको प्रतिस्पर्धामा अरुणजी जित्नु हुन्छ ।’

चौधरीले अन्तरजातिय विवाह गरेका छन । उनको ससुराली पहाडी समुदाय हो । उनको ससुरालीको मतमा राम्रो पकड छ । त्यस कारण पनि उनको जितलाई सहज भन्नेहरु धेरै छन । ‘ससुरालीको भरमा मात्रै मत आउने हैन’ उनले भने–‘म युवाहरु माझ लोकप्रिय छुँ । मेरो जित निश्चित छ ।’

स्थानीय तहको निर्वाचनमा धेरै मतदाता रहेका लम्कीचुहा नगरपालिका र बर्दगोरीया गाउँपालिकामा गठबन्धन सफल भएन । लम्कीचुहामा गठबन्धनका तर्फबाट मेयरमा काँग्रेसकी सुशीला शाही विजयी भईन भने उपमेयरमा माओवादीकी जानकी सिँह पराजित भईन । त्यस्तै बर्दगोरीयामा गठबन्धनका तर्फबाट उपाध्यक्षमा गणेशराज गिरी विजयी हुँदा एमालेका कर्णबहादुर कुँवर अध्यक्ष जितेका थिए ।

स्थानीय तहको निर्वाचनको असर आम निर्वाचनमा समेत पर्ने कतिपयको बुझाई छ ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update