Hamro Patra
कसले जोगाउला विरासतः रामजनम वा रेशम पत्नी रञ्जिता ?

टीकापुर, असोज २५
२०७४ को आमनिर्वाचनमा कैलाली–१ बाट रेशमलाल चौधरी चमत्कारिक ढंगले विजयी भएका थिए । अन्य ११ जना उम्मेदवारको जम्मा मत भन्दा चौधरी एक्लैको झण्डै ८ हजार मत बढी थियो ।

चौधरीले ३४ हजार ३४१ मत पाएका थिए भने अरु सबैको मत जोड्दा २६ हजार ३५० हुन आउँछ । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मदनकुमारी शाह गरिमाको मत १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेसकी केन्द्रिय सदस्य इश्वरी न्यौपानेको मत ११ हजार २०३ मात्रै थियो । अरु नौजना उम्मेदवारले हजार मत पुर्याउन सकेनन् ।

२०७९ मंसिर ४ गते हुने आमनिर्वाचनमा तिनै चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चुनावी मैदानमा होमिएकी छन । चौधरी राष्ट्रिय जनता पार्टीको उम्मेदवार थिए भने श्रेष्ठ आफै नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेकी छन ।

Khadga Memorial And Janajagriti

टीकापुर घटनाका मुख्य आरोपी चौधरी हाल डिल्लीबजार कारागारमा छन । उनले जेलबाटै पार्टीको काम गरिरहेका छन । यो पटक कैलाली–१ मा उनी उम्मेदवार बनेनन् । उनले बर्दियाबाट उम्मेदवारी दर्ता गराए । उनको उम्मेदवारी विरुद्ध उजुरी परिसकेको छ । उनको उम्मेदवारी सदर नहुने निश्चित छ ।

यही कुरा थाहा पाएका चौधरीले कैलाली–१ मा पत्नीलाई अघि सारे । किनकी आफूले कैलाली–१ बाट उम्मेदवारी दिए उजुरी पथ्र्यो र बदर हुन्थ्यो । यदि त्यसो हुँदा पार्टीले मैदान छोड्नु पथ्र्यो । यी सबै कुराको पूर्वानुमान गरेर चौधरीले पत्नी श्रेष्ठलाई आफ्नो उत्तराधिकारीका रुपमा चुनावी मैदानमा उतारेका छन ।

चौधरी पत्नी श्रेष्ठको प्रतिस्पर्धा पूर्वमन्त्री समेत रहेका काँग्रेस केन्द्रिय सदस्य रामजनम चौधरीसँग हुँदैछ । उनी २०४८ सालको आमनिर्वाचनमा कैलाली–२ बाट २८ वर्षको उमेरमा साँसद भएका थिए । तत्कालिन अवस्थामा कैलाली जिल्लामा ३ निर्वाचन क्षेत्र थिए । त्यसपछि पनि उनी पटकपटक साँसद रहे ।

त्यसपछि पनि उनी २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिक तर्फबाट पटकपटक साँसद रहे । उनी २०५४ मा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री र २०७२ मा स्वास्थ्य मन्त्री समेत भए ।

उनी विजय गच्छदारसँगै काँग्रेस छोडेर नेपाल लोकतान्त्रिक फोरममा गएका थिए । उनी गच्छदारसँगै पुनः काँग्रेसमै फर्किएका हुन । उनी काँग्रेसको १४ औं महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रिय सदस्य विजयी भएका थिए ।

उनी काँग्रेसको हेभिवेट उम्मेदवार हुन । थारु मतका आधारमा स्थापित हुन खोजेको नागरिक उन्मुक्ति पार्टीलाई रोक्न काँग्रेसले चौधरीलाई अघि सारेको देखिन्छ । उनी थारु समुदायका प्रभाव राख्ने व्यक्ति हुन । उनलाई गठबन्धनको समेत साथ रहेको छ ।

उनले थारु समुदाय भित्रको आफ्नो मत मात्रै कायम राख्न सके जित्न सक्ने आँकलन गरिएको छ । उनले जातिवादको पक्षमा लाग्ने बाहेकको थारु समुदाय आफ्नो पक्षमा रहेको बताए । ‘धेरै राम्रो माहौल बनेको छ’ उनले भने–‘सद्भाव चाहनेहरु एक ठाउँमा छन ।’

नागरिक उन्मुक्तिलाई थारु मतको दम्भ छ । कैलाली–१ मा झण्डै ५५ प्रतिशत थारु मत रहेको छ । त्यो मत आफ्नो पक्षमा रहेको पार्टी प्रवक्ता दामोदर पण्डितले दावी गरे । उनले जित निश्चित भैसकेको बताए । ‘हामी जित्ने कुरामा कुनै शंका छ र ?’ उनले भने–‘घोषणाका लागि मात्रै मंसिर ४ कुुर्नुपर्ने हो ।’

तर स्रोतका अनुसार पण्डितले भने जस्तो श्रेष्ठलाई जित्न सहज भने छैन । श्रेष्ठलाई एकथरी थारु समुदायले नस्विकार्ने भन्न थालेका छन । जसले गर्दा पार्टी भित्र आन्तरिक किचलो सुरु भएको छ ।

यही मौकामा चौका हान्ने दाउमा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल छन । भरखरै टीकापुर नगरपालिकाको नेतृत्वबाट बर्हिगमन भएका रावल थारु मतको विभाजनको पर्खाईमा छन । उनी चौधरी र श्रेष्ठबीच कडा प्रतिस्पर्धा होस् भन्ने चाहन्छन ।

उनले जातीय विभाजन र गठबन्धनको मुद्दालाई अस्विकार गरेर जनताले आफ्ना पक्षमा मतदान गर्ने बताए । उनले देशैभर एमाले प्रति जनलहर जुटेको दावी गरे ।

उनले टीकापुर नगरपालिकाको मेयरका रुपमा आफूले गरेका कामको समेत जनताले मूल्याङ्कन गर्ने बताए । ‘धेरै काम गर्न सकेन होला’ उनले भने–‘बिगार्ने काम पनि केही गरेको छैन ।’

स्थानीय तह निर्वाचनमा कैलालीको पूर्वी भेगका चार पालिकाको नेतृत्व हात पारेको नागरिक उन्मुक्ति र गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने मतदाताको अनुमान छ । २०७४ को आमनिर्वाचनमा एमालेले माओवादीको साथ पाएर दोस्रो स्थान बनाएको थियो । काँग्रेस एक्लै तेस्रो स्थानमा थियो भने अहिले माओवादी सहितका दल गठनबन्धको पक्षमा छन । यसले गर्दा चौधरीले लामो समयदेखीको आफ्नो विरासत कायम राख्लान वा श्रेष्ठले पतिको विरासतलाई जोगाउने हुन कैलाली–१ को निर्वाचन रोचक बन्ने देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update