Hamro Patra
हुलाकी सडक बाढी पीडितको आश्रयस्थल

टीकापुर, असोज २४
हुलाकी सडक बाढी पीडितको आश्रय स्थल बनेको छ । भजनी नगरपालिकाका मात्रै करिव तीन सय घरपरिवार विगत पाँच दिनदेखी बाढीले घर डुबाए पछि हुलाकी सडकमा बास बसेका छन ।

बाढीले सबैभन्दा धेरै वडा नं. ३ र ८ मा घर डुबानमा पारेको छ । त्यहाँका सबै हुलाकी सडकमा बसेका छन । बाढी पीडित घर डुबेपछि पशु चौपाया डोर्याएर हुलाकी सडकमा पुगेका छन । उनीहरु सडक किनारमा त्रिपाल टाँगेर बस्दै आएका छन । पशु चौपाया समेत सडककै किनारमा बाँधेका छन ।

बाढी पीडितको त्रिपाल मूनीको बास निकै कष्ठकर छ । निरन्तरको झरीले त्रिपाल भित्र समेत पानी पसेको छ । उनीहरु सुत्न सकेका छैनन् । नगरपालिकाले वितरण गरेको चाउचाउ र चिउराको भरमा छाक टार्नु परेको छ ।

Khadga Memorial And Janajagriti

बालबालिका, सुत्केरी, अपाङ्गता भएका व्यक्ति सबैभन्दा बढी समस्यामा रहेको स्थानीय खेम पाण्डेले बताए । ‘हामी त केही दिन भोकै पनि बस्न सक्छौं’ उनले भने–‘अरुको सहारा चाहिने व्यक्तिहरु समस्यामा छन ।’

नगरपालिकाले चाउचाउ र चिउरा वितरण गरेको छ । त्यो पनि सबै बाढी पीडितसम्म पुगेको छैन । नगरपालिकालाई सबै ठाउँमा पुर्याउन समेत निकै कठिनाई छ । एक ठाउँबाट अर्को ठाउँ सम्म पुग्न डुंगाको सहारा चाहिन्छ । कतिपय ठाउँमा अझै डुंगा पुग्ने अवस्था छैन । नगर प्रमुख केवल चौधरीले सबै बाढी पीडितलाई सम्बोधन हुने गरी काम गरिरहेको बताए ।

उनले लगातारको झरीका कारण यसअघि बाढी पीडितलाई भात पकाएर खुवाउन नसकिएको बताए । उनले झरी रोकिएसँगै हुलाकी सडकमा बसेका बाढी पीडितलाई लक्षित गरेर दुई ठाउँमा मेस (सामुहिक भान्सा) चलाउने व्यवस्था गरेको जानकारी दिए ।

‘सेना र प्रहरीले त्यसको प्रबन्ध गरिरहेका छन’ उनले भने–‘बाढी पीडितले भोकै बस्न नपर्ने गरी काम भैरहेको छ ।’

हुलाकी सडकसम्म पुग्न नसकेकाहरु विद्यालय भवनमा बसेका छन । वडा नं. २ का ४६ घरपरिवार राष्ट्रिय मावि पल्टुपुर र वडा नं. ३ का ३५ घरपरिवार राष्ट्रिय मावि धुसीमा बसेका छन । केही बाढी पीडितहरु आफन्तको घरमा बसेका छन ।

नगरपालिकाका नौवटै वडामा करिव २ हजार ८६ घरपरिवार बाढी प्रभावित भएको विपद सम्पर्क व्यक्ति खेम पनाडीले जानकारी दिए । उनका अनुसार ७७२ घरपरिवार विस्थापित भएका छन ।

वर्षेनी काँडा, कान्द्रा, पथरैया र मोहना नदीले नगरपालिकाका सबै वडा डुबानमा पार्छन । यो वर्ष समेत चारैवटा नदीमा एकसाथ बाढी आएको थियो । नदीमा पानीको सतह अझै कम नभएको सम्पर्क व्यक्ति पनाडीले बताए । उनले पानीको सतह कम हुन अझै केही दिन लाग्न सक्ने बताए । ‘कर्णालीमा पानीको सतह कम भए मात्रै यी नदीहरुको सतह कम हुन्छ’ उनले भने–‘कर्णालीले मोहना नदीलाई थुनेपछि सबै नदीमा पानीको सतह बढ्छ ।’

उनले नदीमा पानीको सतह कम भए मात्रै डुबानमा परेका बस्तीको पानी निकास हुने बताए ।

भजनी नगरपालिका कैलालीको सबैभन्दा धेरै बाढी प्रभावित क्षेत्र हो । यो वर्ष मात्रै यहाँ दुई पटक बाढी आएको छ । यसअघि असोज १ गते ठूलो बाढी आएको थियो । त्यतिबेला बाढीमा २ जनाले ज्यान गुमाएका थिए । सयौं घरपरिवार प्रभावित भएका थिए । उनीहरु घर फर्केर दशैं मनाउन नपाउँदै असोज १९ गते साँझ पुनः बाढीको चपेटामा परेका छन ।

दुईदुई पटक बाढीको चपेटामा परेका भजनीबासीले ठूलो क्षति ब्यहोर्नु परेको छ । सयौंका घर भत्केका छन । कतिपयको घरभित्र राखेको अन्न सबै बगाएको छ । धान बाली बाढीले सखाप पारेको छ । खेतमा काटेर राखेको धान बगाएको छ ।

‘यो वर्ष हाम्रा लागि निकै पीडादायी रह्यो’ स्थानीय कालुसिँह बोहराले भने–‘न घरको न खेतको अन्नको दाना बचाउन सकिएन ।’ उनले १ विगाहमा लगाएको सबै धान बाली कान्द्रा नदीले बगाएको बताए । उनी जस्तै कैयौं परिवारको धान बाली बाढीमा बगेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update