Hamro Patra
कर्णालीमा पानीको सतह घट्दै

टीकापुर, २४ असोज

निरन्तरको वर्षाका कारण हिजोदेखि उकालो लागेको कर्णाली नदीमा पानीको सतह आजै विहानैदेखि आरालो लागेको छ । यद्यपि नदीमा पानीको सतह खतराको तहभन्दा माथि रहेको छ ।

चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङले दिएको जानकारी अनुसार पानीको सतह आज विहान ४ बजे १२ दशमलव ३५ मिटर पुगेको थियो । यो यस वर्षकै सर्वाधिक रेकर्ड भएको उनले बताइन् ।

Khadga Memorial And Janajagriti

‘विहानै चारबजेदेखि नदीमा पानीको सतह घटिरहेको छ, कर्णाली नदीका सहायक नदीमा समेत सतह कम भइरहेको हुनाले अब घट्छ’ गुरुङ्गले भनिन् ‘५ बजे १२.३०, ७ बजे १२.१० हुँदै दिउँसो २ बजे ११ दशमलव २२ मिटरमा झरेको छ ।’

गुरूङ्गका अनुसार कर्णाली नदीका सहायक नदी भेरी, तिला कर्णालीमा पानीको सतह घटेको छ भने सेती नदीमा केही बढेको छ ।

‘तीनवटै नदीमा पानीको सतह बढेमात्रै कर्णालीमा बढ्छ होइन भने अब खासै असर गर्दैन’ गुरूङ्गले भनिन् ‘तर पनि कर्णालीमा अझै खतराको तहमै पानी रहेको छ ।’ कर्णाली नदीमा १० दशमलव ८० मिटर पानीलाई खतराको तह मानिन्छ ।

कर्णालीमा बाढीले खतराको तह पार गरेपछि कैलालीको टीकापुर नगरपालिका वडा नं. १, २, ५, ६, ७ र ८ का बस्तीहरु डुबानमा परेका छन् । त्यस्तै जानकी गाउँपालिकाका केही बस्तीहरु समेत डुबानमा परेका छन् ।

कर्णालीमा नदीमा पानीको सतह बढ्दा वडा नं. २ को विजयनगर, शक्तिनगर, वडा नं. ५ को बंगलापुर, बसन्ता, मनिकापुर, शाहीपुर, सिम्रेनी, वडा नं. ६ को लक्षिनापुर, वडा नं. ७ को प्रतिपुर, दिव्यपुर, वडा नं. ८ को वनगाउँ र अरुणाफाँटा लगायतका बस्तीहरु डुबानमा परेका छन् ।

ती गाउँका साढे ४ शय बढी परिवारलाई विभिन्न विद्यालय, उच्च सुरक्षा घरहरुमा राखिएको टीकापुर नगरपालिकाले जानकारी दिएको छ । कर्णाली नदीमा पानीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दाहरु रातभर जाग्रम बस्न बाध्य भएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update