Hamro Patra
कर्णाली नदीमा पानीको सतहले खतराको तह पार गर्यो

टीकापुर, असोज २३

कर्णाली नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । अहिले ४ बजेको मापन अनुसार नदीको सतह ११ दशमलव १० मिटर पुगेको चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले जानकारी दिएकी छन ।

पानीको सतह १० दशमवल ८० मिटर पुग्नु खतराको तह पार गरेको मानिन्छ । उनका अनुसार गएराति १२ बजेदेखी नदीमा पानीको सतह निरन्तर बढिरहेको छ । विगत पाँच दिनदेखी जारी वर्षा अझै रोकिएको छैन । अहिले पनि चिसापानी आसपास र पहाडी जिल्लामा निरन्तर वर्षा भैरहेको छ ।

उनले वर्षा निरन्तर जारी रहेकाले नदीमा पानीको सतह अझै बढ्ने सम्भावना रहेको बताईन । उनका अनुसार नदीमा पानीको सतह २०७१ भदौ ३१ गते अहिलेसम्मकै उच्च पुगेको थियो । उनले सो दिन पानीको सतह साढे १६ मिटर पुगेको जानकारी दिईन ।

अहिले पनि नदीमा पानीको सतह सोही हाराहारीमा पुग्ने अनुमान गर्न थालिएको छ । नदीमा पानीको सतह निरन्तर बढेपछि तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थान तर्फ सार्न सूचना प्रवाह गरिएको छ । उनीहरु घर छोडेर सुरक्षित स्थानतर्फ जान थालेका छन ।

कर्णाली नदीमा सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नदी मिसिन्छन । कर्णाली नदीमा पानीको सतह बढ्दा कैलालीको पूर्वी र बर्दियाको पश्चिमी क्षेत्रमा बाढीको जोखिम बढेको छ । कर्णादी नदीले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका साथै बर्दियाको राजापुर नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका थुप्रै भेगमा क्षति पुर्याउने गरेको छ ।

कर्णाली नदीमा पानीको सतह बढ्दा नेपाल–भारत सीमा क्षेत्रमा बग्ने मोहना नदीको पानी थुनिने गरेको छ । जसका कारण कैलालीको दक्षिणी क्षेत्रका थुप्रै बस्तीहरु डुबानमा परेका छन ।

भजनी नगरपालिकाको दर्जन बढी गाउँ डुबानमा परेका छन । ती ठाउँका बासिन्दा हुलाकी सडकमा आश्रय लिईरहेका छन । उनीहरु हुलाकी सडकमा पाल टाँगेर बसेका छन । बाढी प्रभावित क्षेत्रमा उद्धारको काम अझै हुन नसकेको स्थानीयले बताएका छन । उनीहरु विगत केही दिनदेखी भोकभोकै छन ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update