Hamro Patra
बाढीले धान खेती बगायो

टीकापुर, असोज २२
अबिरल वर्षा पछि आएको बाढीले कैलालीमा किसानको सयौं विगाह धान खेती नष्ट पारेको छ । कतिपय किसानको काटेर राखेको धान समेत बाढीले बगाएको छ । बाढीले बढिजसो टीकापुर र भजनी नगरपालिकाका विभिन्न ठाउँमा धान खेती बगाएको छ ।

पाकेर काट्न बाँकी रहेको धान खेती समेत अविरल वर्षाले ढालेर नष्ट भएको छ । अधिकांश किसानको धान खेतमा बाढी पसेको छ । बाढीले पाकेर काट्ने तयारी अवस्थामा रहेको धान चुर्लुम्म डुबेको छ ।

भजनी नगरपालिका–८ जनकपुर दैलेखी टोलमा पदम उपाध्यायको डेढ विगाहमा लगाएको सबै धान खेती बगेको छ । उनी काटेर खेतमा सुकाउन राखेको सबै धान बाढीले बगाए पछि चिन्तामा छन । उनको परिवारको वर्षभरीको छाक टार्ने सबै धान खेती बगेको छ ।

Khadga Memorial And Janajagriti

यतिबेला यस्तो अवस्था जनकपुर दैलेखी टोलका सबै किसानले भोग्नु परेको छ । स्थानीयका अनुसार पथरैया नदीमा आएको बाढी गाउँ पसेको हो । पथरैया नदीले दैलेखी टोल मात्रै हैन यस्ता दर्जन बढी गाउँमा धान खेती बगाएको छ ।

यता टीकापुर नगरपालिका–६ भर्तापुरका किसान रामलाल चौधरीको समेत काटेर राखेको धान बाढीले बगायो । उनले दश कठ्ठामा लगाएको सबै धान बगेको बताए । भर्तापुरमा जमरा नदीमा आएको बाढी गाउँ पसेको हो ।

भर्तापुरमा समेत धेरै किसानको धान बगेको छ । ‘काटेर राखेको कसैको धान बचेन’ चौधरीले भने –‘काट्न बाँकी रहेको पनि ढलेर सोत्तर भएको छ ।’

टीकापुर नगरपालिकाका बैदी, खक्रौला, ढुंगानाटोल लगायतका ठाउँमा समेत धेरै किसानको धान बाढीले बगाएको छ ।

जानकी र जोशीपुर गाउँपालिकाका विभिन्न ठाउँमा समेत धान खेती बाढीले बगाएको छ । त्यहाँ कुलरीया, जमरा, झबही लगायतका नदीमा आएको बाढीले धान खेती बगाएको किसानले बताए ।

हरेक वर्ष बाढीले यहाँका किसानको धान बाली बगाउने गरेको छ । केही दिन अघि आएको बाढीले समेत धान खेतीमा नोक्सान पुर्याएको थियो । त्यतिबेला किसानले धान नकाटेका कारण त्यतिधेरै नोक्सान हुन पाएन । यो पटक भने अधिकांश किसानले धान काटेर राखेका थिए ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update