Hamro Patra
कैलाली–१ मा माओवादी केन्द्रको कमजोर दावी

टीकापुर, असोज ११
नेकपा (माओवादी केन्द्र) ले कैलाली–१ को प्रतिनिधि सभा उम्मेदवारमा कमजोर दावी प्रस्तुत गरेको छ । पार्टीले हालै राष्ट्रिय जनमोर्चाबाट आएका दयाराम सञ्ज्याल र सुरेन्द्र देवकरलाई सिफारिस गरेको छ ।

सञ्ज्याल पाँच महिना अघि मात्रै माओवादी केन्द्रमा आएका हुन । उनी राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष थिए भने हाल माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य हुन । देवकर भने माओवादी केन्द्रमा लामो समयदेखी आवद्ध छन । उनी कैलाली–१ संघीय निर्वाचन क्षेत्रको संयोजक हुन ।
पार्टीले लामो समयदेखी काम गरेका सिनियर नेताको ठाउँमा भरखरै पार्टी प्रवेश गरेका व्यक्तिलाई उम्मेदवारका रुपमा सिफारिस गरेपछि माओवादी केन्द्रको दावीलाई कमजोर मान्न सकिने स्रोतको भनाई छ ।

‘यो औपचारिकता निभाएको मात्रै हो’ स्रोतले भन्यो–‘सायद माओवादी डराएको पनि हुनसक्छ ।’

२०७४ मा भएको निर्वाचनमा रेशमलाल चौधरीको सानदार जित र हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीको पूर्वी भेगका चार पालिकामा जितेर नागरिक उन्मुक्ति पार्टीको उदयले ठूला दललाई झस्काएको छ । नागरिक उन्मुक्तिसँगको प्रतिस्पर्धालाई लिएर ठूला दल डराएका छन ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज हरिलाल ज्ञवालीले कसैसँग डराएको नभई गठबन्धनका कारण कमजोर दावी प्रस्तुत गरेको भन्न सकिने बताए । उनी गठबन्धन भए कैलाली–१ काँग्रेसको भागमा पर्ने बताउँछन । ‘काँग्रेससँग पूराना नेता छन । उसैको भागमा पर्ने देखिन्छ’ उनले भने–‘कसैसँग डराएको भने हैन ।’

टीकापुर नगर कमिटी अध्यक्ष खडकबहादुर शाह समेत अरुसँग डराएर कमजोर दावी प्रस्तुत गरेको कुरालाई अस्विकार गर्छन । उनले युवालाई अघि सार्नुपर्छ भन्ने मनसायले पूराना नेताको ठाउँमा युवालाई अघि सारेको बताए । ‘डराएको भन्न मिल्दैन’ उनले भने–‘युवालाई अवसर दिएको भन्दा राम्रो होला ।’

कैलाली जिल्ला इञ्चार्ज ज्ञवाली र थारु समुदायका हेभिवेट नेपबहादुर चौधरी प्रदेश सभाको उम्मेदवारमा सिफारिस भएका छन । ज्ञवाली संविधान सभा सदस्य हुन । चौधरी २०७४ मा प्रदेश सभा सदस्यमा पराजित भएका थिए । उनीहरु दुवैजना प्रदेशका लागि सिफारिस हुनुले पार्टीले प्रतिनिधि सभातर्फ खाशै महत्व नदिएको स्रोतको दावी छ ।

गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रतिनिधि सभाको उम्मेदवार काँग्रेसलाई छोडेर कैलाली–१ (ख) मा आफ्नो दावी बलियो बनाएको छ । यो ज्ञवाली र चौधरी दुवैजनाको प्रदेश क्षेत्र हो । उनीहरुले काँग्रेसबाट सिफारिस भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावललाई रोक्नुपर्ने दवाव छ । रावल २०७४ को निर्वाचनमा विजयी भएका हुन ।

माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिकाको प्रमुखमा काँग्रेस नेता नवराज रावललाई अघि सारेको थियो । गठबन्धन अन्र्तगत प्रमुखमा काँग्रेसलाई अघि सारेको माओवादी केन्द्रले उपप्रमुखमा चित्त बुझाएको थियो । प्रमुखमा काँग्रेस उम्मेदवार रावल पराजित भए भने उपप्रमुखमा माओवादी केन्द्रका नगर अध्यक्ष शाह विजयी भए ।

स्थानीय तहको निर्वाचनमा प्रमुख छोडेको माओवादी केन्द्रले टीकापुर नगरपालिका भूगोल रहेको कैलाली–१ (ख) लाई टार्गेट बनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update