.jpg)
परमानन्द पाण्डे
टीकापुर, १३ जेठ
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ धनसिंहपुरका भीम महरको उमेर ४९ वर्ष भयो । उनी जन्मेको तीन वर्षअघि नै उनका बुवा गगनसिंह महरका नाममा कञ्चनपुर प्रधान वन कार्यालयले आँकाडा फाराम दिएको थियो । (हेर्नुहोस् फोटो)
आँकाडा फाराममा तीन विघा क्षेत्रफलमा ‘जंगल फाँडी आवादी गर्नु’ उल्लेख छ । सोही आदेश अनुसार गगनसिंहले जंगल फाँडे । घर बनाए । खेतीपाती गर्न शुरु गरे । छोराछोरी हुर्काए । आफ्नो जिन्दगी नै त्यही जमिन जोतेर बिताए । आफू परलोक भए तर पनि सो जग्गाको जग्गाधनी पूर्जा भने हेर्न पाएनन् ।
टीकापुर नगरपालिका वडा नं. ८ को श्रीलंका भनिने तोलीगाउँका सेतराज बुढाको परिवार २०२१ सालमा सुदूरको पहाडी जिल्ला अछामबाट बसाई सरी आयो । उनको परिवारसँगै गाउँका अरु पनि आए । सबैले तोलीगाउँको जंगल फाँडे । खेत बनाए । घरबार जोडे । जंगल फाँडेर जोडेको पाँच विघा जमिनमा अहिलेसम्म बुढाको परिवारले भोगचलन गर्दै आएको छ । विडम्बना उनीसँग जग्गाधनी पूर्जा नै छैन ।
धनसिंहपुरकै बञ्जरियाका अम्मरबहादुर साउँदका बाजेको १६ जना परिवारले २०२३ सालमै जंगल फडानी गर्यो । परिवारका सबैले जग्गा बनाए । भोगचलन गर्दै गए । २०३६ सालमा आएको नापी टोलीले जग्गा धनी पूर्जा समेत दियो । तर भोगचलन गर्दै आएको जग्गाको नक्सामा भने अहिले पनि जंगल छ । अर्थात् साउँदसँग जग्गा छ, जग्गाधनी पूर्जा पनि छ तर नक्सामा भने जग्गा भेटिँदैन ।
यी केही उदाहरण मात्र हुन् । टीकापुर नगरपालिका वडा नं. ८ साविक धनसिंहपुरको झण्डै ८० प्रतिशत जग्गाको समस्या माथि भनिए जस्तै छ । कसैसँग जग्गा छ, आँकाडा फाराम छ तर पूर्जा छैन । कतिपयले भोगचलन गर्दै आएका छन्, जग्गाको कुनै आधार छैन भने कतिपयसँग जग्गा पनि छ, पूर्जा पनि छ तर नक्सामा जग्गा भेटिँदैन । वडा नं. ८ का वडाअध्यक्ष दीर्घ ठकुल्लाका अनुसार साविक धनसिंहपुर गाविसका अधिकांश बासीको समस्या यस्तै हो ।
सुदूरका विभिन्न पहाडी जिल्लाबाट बसाई सरी आएकाहरुको घना बस्ती रहेको साविक धनसिंहपुरका बासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको भए पनि जग्गाधनी पूर्जा भने पाउन सकेको छैनन् । विभिन्न समयमा आएका नापी टोलीले समेत त्यहाँको जग्गाको पूर्जा दिन सकेको छैन । अध्यक्ष ठकुल्लाले भने–‘यो वडामा जग्गासम्बन्धी तीन किसिमका समस्या छन्, सबै हेर्ने हो भने झण्डै ८० प्रतिशत जग्गाको जग्गाधनी पूर्जा छैन ।’ वडाको अर्नुवा, बञ्जरिया, वनगाउँ, फाँटा, चगुर्दी र तोलीगाउँको झण्डै तीन हजार विघा जमिन भोगचलन हुँदै आए पनि लालपूर्जा विहीन रहेको छ ।
साविक धनसिंहपुर गाविसका प्राविधिक सहायक खगेन्द्रबहादुर साउँदका अनुसार सो वडाका झण्डै १ हजार ८ शय व्यक्तिसँग जग्गा छ तर पूर्जा छैन । पटक पटक जग्गाको पूर्जाका लागि पहल भए पनि त्यहाँका बासिन्दाले भने अझै जग्गाधनी पूर्जा पाउन सकेका छैनन् ।
नापी आयोः पूर्जा आएन
२०२१ सालदेखि बसोबासका रुपमा विकसित हुँदै आएको धनसिंहपुरमा पटक पटक नापी नआएको होइन् । स्थानीयका अनुसार नापी टोलीले तीन पटकसम्म जग्गाको नाप लिएको छ । २०३६ सालमा आएको सर्वे टोलीले गाउँको अधिकांश भूभाग नापी गरे पनि जग्गाधनी पूर्जा भने दिन सकेन । २०४० सालको भदौ महिनामा कर्णाली नदीमा भिषण बाढी आयो । कयौं व्यक्तिले ज्यान गुमाए । कयौं परिवारको बिचल्ली भयो । बाढी गाउँमै पसेपछि स्थानीयबासीको सयौं विघा जमिनमा अहिले पनि कर्णाली नदी बगिरहेको छ ।
तत्कालीन टीकापुर विकास समितिले बाढीबाट पीडितलाई घरबास दिन शुरु गर्यो । कतिपय टीकापुर सरे । कतिपय अन्तै बसाई सरे । उनीहरुले भोग चलन गर्दै आएको जग्गा खाली रह्यो । बाढीका कारण समेत जग्गाधनी पूर्जा नपाएको स्थानीयहरु बताउँछन् । स्थानीय पदम साउँदले भने–‘०४० सालमा बाढी आयो, मान्छेहरु तितरबितर भए, बस्ती घट्यो, त्यसपछि यहाँको जग्गाको पूर्जा माग्ने पनि कम भए, अहिलेसम्म हामीले पूर्जा पाउन सकेका छैनौं ।’
पूर्जा नहुँदा समस्या
साविक धनसिंहपुर गाविस पूर्वतर्फ बर्दियाको राजापुर र दक्षिणतर्फ भारतीय सीमासँग जोडिएको छ । जग्गाको लालपूर्जा नहुँदा यहाँका बासिन्दाले सीमा विवाद झेल्दै आएका छन् । ‘आफ्नो जमिनको पूर्जा छैन, दक्षिणतिरबाट भारतले सीमा मिच्दै आएको छ भने श्रीलंकामा बर्दियाको राजापुरसँग समेत हाम्रो सीमा विवाद हुँदै आएको छ’–शेरबहादुर बुढाले भने–‘जग्गा धनी पूर्जा नहुँदा साँधसीमाबारे जहिल्यै झगडा हुने गरेको छ ।’
जग्गाको पूर्जा नहुँदा बाजेको पालादेखि नै जग्गाको अंशवण्डा हुन नसकेको सेतराज बुढाले बताए । ‘बाजेकै पालादेखि अंशवण्डा हुन सकेको छैन’– बुढाले भने – ‘अंशवण्डा नहुँदा पारिवारिक कलह हुने, जग्गा बिक्री गर्न नपाइने जस्ता समस्या हामीले भोग्दै आएका छौं ।’
किसानहरुका लागि विभिन्न क्षेत्रबाट अनुदान आउने गरेको भए पनि जग्गाधनी पूर्जा नहुँदा आफूहरुले मल, विउ, विजनमा अनुदान नपाएको किसान सीताराम चौधरीले बताए । ‘वर्षौंदेखि हामी खेती किसानी गर्दै आएका छौं, जग्गा छ तर पूर्जा नहुँदा हामीले अनुदान पाउन सकेका छैनौं’–चौधरीले भने–‘पूर्जा नहुँदा हाम्रा लागि अनुदान पनि पाइँदैन ।’
पूर्जा लिन पहल
जग्गाको लालपूर्जा नहुँदा बैंकिंक कारोवार गर्न, अंशवण्डा गर्न र बेचविखन गर्न समस्या हुन थालेपछि धनसिंहपुरबासीले वर्षौंदेखि पूर्जा लिन पहल गर्दै आएका छन् । स्थानीयका अनुसार २०२३ सालदेखि नै जग्गाको पूर्जाका लागि उनीहरुले पहल गरेका छन् । शुरुमा जग्गाको आँकाडा फारामलाई पूर्जा ठानेका उनीहरुले २०३६ सालमा आएको नापीले पूर्जा दिए पछि विभिन्न निकायसँग माग गर्न थाले ।
तत्कालीन गाउँ पञ्चायत, नापी विभाग हुँदै मन्त्रालयसम्म थुप्रै पटक डेलिगेशन गएका छन् । स्थानीय शिक्षक शेरबहादुर बुढाका अनुसार गाउँका बासिन्दासँग आर्थिक सहयोग उठाएर जग्गाधनी पूर्जाका लागि मन्त्रालयसम्म डेलिगेशन गएका छन् । ‘कयौंपटक हामी डेलिगेशन गइसकेका छौं’–बुढाले भने–‘हामीले आश्वासन बाहेक अरु केही पाएका छैनौं ।’
साविक धनसिंहपुर गाविसले दुई वर्ष ती जग्गाको भूमिकर भनेर करसमेत संकलन गर्यो । प्राविधिक सहायक साउँदका अनुसार नागरिकतासहित १ हजार ८ शय जनाले जग्गाधनी पूर्जाका लागि निवेदन नै संकलन गरेका थिए ।ती निवेदनसहित जग्गाधनी पूर्जाको पहल भए पनि सार्थकता भने पाउन सकेन ।
टीकापुर नगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष ठकुल्लाले जग्गाधनी पूर्जाको लागि पहल गर्न कार्यपालिकाको पहिलो बैठकबाट निर्णय भएर प्रक्रिया शुरु गरिएको बताए । ‘हामीले कार्यपालिकाको पहिलो बैठकबाटै जग्गाधनी पूर्जाका लागि पहल गर्ने निर्णय गरेर मन्त्रालयसम्म पुर्याएका छौं, मन्त्रीलाई भेटेका छौं, विभिन्न निकायमा माग गर्दै आएका छौं’–ठकुल्लाले भने –‘जग्गाधनी पूर्जा नहुँदा हामीले कर समेत संकलन गर्न पाएका छैनौं ।’ धनसिंहपुरमा पुग्ने जो कोहीलाई त्यहाँका बासिन्दाले राख्ने माग हो, जग्गाधनी पूर्जा ।
कैलालीका अन्य ठाउँमा जंगल फाँडेर बसेकाहरुले जग्गाधनी पूर्जा पाएको वर्षौं भइसक्दा पनि धनसिंहपुरबासीले भने अझै पूर्जा पाउन सकेका छैनन् । आफैले जंगल फाँडेर घरबार बसाएका तोलिगाउँका ७० वर्षीय कालु विकले प्रश्न गरे– ‘सरकार हामीले पूर्जा कहिले पाउने ?’ लामो समयदेखि भोगचलन गर्दै आएको भए पनि जग्गाधनी पूर्जा नपाउँदा समस्या भोग्नु परेको बताउँदै उनीहरुले हरेकसँग जग्गाको पूर्जा दिलाई दिन माग गर्दै आएका छन् ।