Hamro Patra
काँग्रेसले कैलाली क्षेत्र नं. १ मा थारु हेभिवेट अघि सार्ने

टीकापुर, असोज ८

नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नं. १ बाट थारु नेतालाई उम्मेदवार बनाउने भएको छ । काँगे्रसले पूर्वमन्त्री रामजनम चौधरी र सभासद बुद्धिसागर चौधरी मध्ये एक जनालाई अघि सार्ने भएको छ । चौधरीद्वय थारु समुदायबाट काँग्रेसका हेभिवेट उम्मेदवार हुन ।

काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रामजनम चौधरी २८ वर्षको उमेरमा २०४८ सालमा साँसद भएका थिए । उनी कैलालीको तत्कालिन क्षेत्र नं. २ बाट विजयी भएका थिए । त्यतिबेला कैलाली जिल्लामा तीन क्षेत्र थिए । त्यसपछि पनि उनी २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातितर्फबाट पटकपटक साँसद रहे । उनी २०५४ मा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री र २०७२ मा स्वास्थ्य मन्त्री समेत भए ।

Khadga Memorial And Janajagriti

उनी विजय गच्छदारसँगै काँग्रेस छोडेर नेपाल लोकतान्त्रिक फोरममा गएका थिए । उनी गच्छदारसँगै पुनः काँग्रेसमै फर्किएका हुन । उनी काँग्रेसको १४ औं महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रिय सदस्य विजयी भएका थिए ।

उनले आफ्नो दावी स्वभाविक रहेको बताए । उनले विगत लामो समयदेखी राजनीतिका माध्यमबाट जनताको सेवामा समर्पित रहेकाले आफूले टिकट पाउनुपर्ने बताए । उनले अरुले टिकट पाए पनि सक्दो सहयोग गर्ने बताए । ‘मैले पाउनु पर्छ । म उम्मेदवारका लागि योग्य व्यक्ति हुँ’ उनले भने -‘तर मैले नपाए पनि केही छैन । पार्टीको उम्मेदवारलाई जिताउन लाग्छु ।’

२०७० मा समानुपातिकबाट संविधान सभा सदस्य रहेका बुद्धिसागर चौधरी थारु समुदायमा परिचित एक अर्को नाम हो । उनी २०४० सालदेखी काँग्रेसको राजनीतिमा सकृय छन । उनी भद्र व्यक्तिका रुपमा चिनिन्छन ।

उनी पार्टीले आफूलाई अघि सार्नेमा ढुक्क छन । उनले विगत लामो समयदेखी पार्टीको इमान्दार कार्यकर्ता भएर काम गरेका कारण आफ्नो मुल्यांकन हुने बताए । ‘म टिकट पाउनेमा ढुक्क छु’ उनले भने -‘मेरो इमान्दारिताको कदर हुनेछ ।’

उनले पार्टीले विश्वास गरे आफ्नो जीत सुनिश्चित रहेको दावी गरे । उनले थारु र पहाडी समुदायबीचको सेतुका रुपमा काम गरेका कारण सबैले विश्वास गर्ने बताए । उनले संविधान सभा सदस्यका रुपमा रहेका बेला यस क्षेत्रको विकास निर्माणका साथै सबै समुदायबीचको सुमधुर सम्बन्धमा आफूले महत्वपूणर् भूमिका खेलेको बताए ।

‘मेरो एजेण्डा विकास र समुदायबीचको सुमधुर सम्बन्ध स्थापित गर्नु हो’ उनले भने -‘मैले विगतदेखी नै यस क्षेत्रमा काम गरेको हुँ । आगामी दिनमा समेत काम गर्छु ।’

क्षेत्रीय कार्य समितिले उनीहरु दुवैजनाको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको छ । उनीहरुसँगै नृपबहादुर खड्का र टेकेन्द्र धामीको नाम समेत सिफारिस भएको छ । तर पार्टीले थारु समुदायबाटै उम्मेदवार बनाउने भएकाले खड्का र धामीको सम्भावना न्यून रहेको स्रोतले बतायो ।

क्षेत्रीय सभापति प्रकाश शाह समेत पार्टीले थारु समुदायबाटै उम्मेदवार अघि सार्ने कुरामा गृहकार्य भैरहेको बताउँछन । उनले दुईजना मध्ये एकलाई पार्टीले अघि सार्ने बताए ।

स्रोतका अनुसार टिकट पाउनेमा पूर्वमन्त्री चौधरीको सम्भावना बढी देखिएको छ । उनी संस्थापन पक्षसँग नजिक छन । गच्छदारले समेत उनलाई नै अघि सार्न पार्टी नेतृत्वलाई दवाव दिएका छन ।

जसले टिकट पाए पनि नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निलम्वित साँसद रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसँग प्रतिस्पर्धा हुने देखिन्छ । सो पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठ बलियो उम्मेदवारका रुपमा मानिन्छन ।

स्थानीय तह निर्वाचनमा सो पार्टीले कैलालीको पूर्वी भेगका चार पालिकामा जितेपछि श्रेष्ठलाई बलियो उम्मेदवारका रुपमा विश्लेषण गर्न थालिएको हो । उनले स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूणर् भूमिका खेलेकी थिईन । यी चारवटै पालिका क्षेत्र नं. १ मा पर्छन ।

थारु समुदायको हक अधिकारको मुद्दा अघि सारेर स्थापना भएको नागरिक उन्मुक्तिले स्थानीय तहको निर्वाचनमा थारु समुदायको अधिकांश भोट आफ्नो पक्षमा पारेको देखिन्छ । जसका कारण काँग्रेस मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायकै हेभिवेट उम्मेदवार अघि सार्न चाहन्छ ।

पार्टीले काँग्रेसको सैद्धान्तिक भोटमा थारु समुदायको केही भोट समेत जोड्न सके जित्न सकिने आँकलन गरेको छ । तर नागरिक उन्मुक्तिसँग प्रतिस्पर्धा गर्न ठूला दलका उम्मेदवारलाई निकै कठिनाई हुने आम नेता कार्यकर्ताहरुको बुझाई छ ।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update