Hamro Patra
कैलाली–१ बाट रेशमलाल चौधरीकी पत्नी रञ्जिता लड्ने

टीकापुर, असोज ७
आगामी आमनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा निलम्वित साँसद रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठलाई अघि सार्ने भएको छ ।

पार्टीको अध्यक्ष समेत रहेकी श्रेष्ठ २०७४ को आमनिर्वाचनमा आफ्ना श्रीमान चौधरी विजयी भएको क्षेत्रबाटै चुनावी मैदानमा होमिने तयारीमा छन । चौधरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा अत्याधिक मत सहित विजयी भएका थिए । उनले तत्कालिन अवस्थामा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट ३४ हजार ३४१ मत ल्याएका थिए । अन्य सबै प्रतिस्पर्धीको मत जोडे पनि उनको बराबर पुग्दैन थियो ।

पार्टी प्रवक्ता दामोदर पण्डितले श्रेष्ठको उम्मेदवारी निश्चित भएको बताए । उनले श्रेष्ठको विकल्पका बारेमा पार्टीमा कुनै छलफल नै नभएको जानकारी दिए । ‘अरुका बारेमा सोचेका पनि छैनौं’ उनले भने–‘पार्टी अध्यक्ष नै हाम्रो उम्मेदवार हो ।’

Khadga Memorial And Janajagriti

उनले कैलालीका अन्य चार निर्वाचन क्षेत्रमा समेत उम्मेदवारको लगभग टुंगो लागेको बताए । उनका अनुसार क्षेत्र नं. २ मा अरुण चौधरी, क्षेत्र नं. ३ मा गंगा चौधरी, क्षेत्र नं. ४ मा कैया चौधरी र क्षेत्र नं. ५ मा लक्ष्मण थारु रहेका छन । उनले असोज १६ गते पछि मात्रै पार्टीले आधिकारिक निर्णय गर्ने बताए ।

‘अहिलेसम्म यिनै नाममा सहमति भएको छ’ उनले भने–‘क्षेत्र नं. १ बाहेकमा कुनै परिस्थितिमा फेरबदल पनि हुनसक्छ ।’

पार्टीले प्र्रतिनिधि सभाको उम्मेदवारको लगभग टुंगो लगाए पनि प्रदेशको उम्मेदवारका हकमा भने कुनै सहमति जुटाउन सकेको छैन । प्रदेशमा लड्ने आकांक्षी धेरै भएपछि पार्टीले कसैको नाममा सहमति जुटाउन नसकेको स्रोतले बताएको छ ।

प्रवक्ता पण्डितले प्रदेशका हकमा कुनै सहमति नभएको बताए । उनले छलफलकै क्रममा रहेकाले असोज १६ गते भित्र नाम टुंगो लाग्ने जानकारी दिए । ‘प्रदेशको उम्मेदवारका हकमा अहिले कसैको नाममा सहमति भएको छैन’ उनले भने–‘हामी छलफलमै छौं ।’

पार्टीले कैलालीको क्षेत्र नं. १, २ र ३ मा प्रतिनिधि सभा र प्रदेश सभाका सबै सिट जित्ने दावी गरेको छ । उसले क्षेत्र नं. ४ र ५ मा प्रतिनिधित्व मात्रै हुने आँकलन गरेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीको पूर्वी भेगका चार पालिकामा जित हात पारेपछि पार्टीको दावी सत्यता नजिक रहेको विश्लेषण गरिन थालिएको छ । पार्टीले टीकापुर नगरपालिकाको प्रमुख लगायत अधिकांश वडाध्यक्ष र भजनी नगरपालिकाको प्रमुख र उपप्रमुख सहित अधिकांश वडाध्यक्ष जितेको छ । त्यस्तै जानकी र जोशीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित अधिकांश वडाध्यक्ष जितेको छ ।

पार्टीले थारु समुदायको हकअधिकारलाई प्रमुख मुद्दा बनाएको छ । उसले टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा जेल जीवन बिताईरहेका निलम्वित साँसद चौधरीको मुद्दालाई समेत अघि सारेको छ ।

स्थानीय निर्वाचनमा यिनै मुद्दाका आधारमा पार्टीले थारु समुदायको मत एकलौटी पाएको हो । यहाँ थारु समुदायको मतदाता संख्या लगभग अन्य समुदायको बराबरी छ ।

मंसिर ४ गते सम्पन्न हुने आमनिर्वाचनमा भने पार्टीले थारु समुदायको मात्रै नभई केही पहाडी समुदायको समेत मत पाउने अनुमान गरिन्छ । पछिल्लो समय विभिन्न राजनीतिक दलमा आवद्ध केही पहाडीया समुदायका नेताहरु सो पार्टीमा प्रवेश गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update