Hamro Patra
१३ लाख राहत दिन हेलिकप्टरको प्रयोगः मुख्यमन्त्री सहितको टोली अछाम पुगेर फर्कियो

धनगढी, ६ असोज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले अछामका पहिरो पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्न हेलिकप्टरको प्रयोग गरेका छन् ।

मुख्यमन्त्री भट्ट तथा मन्त्री रावलले अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा पुग्न हेलिकप्टरको प्रयोग गरेका हुन् । भदौ ३१ गते र असोज १ गते आएको अविरल वर्षाका कारण तुर्माखाद, ढकारी र कमलबजारका ७ परिवारका २२ जनाको पहिरोमा परी ज्यान गएको थियो भने एकजना अझै बेपत्ता छन् ।

Khadga Memorial And Janajagriti

पीडित परिवारलाई राहत रकम र क्रिया खर्च गरी जम्मा १३ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गर्न मुख्यमन्त्री भट्ट र मन्त्री रावलले महङ्गो रकम खर्च गरेर नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका हुन् ।

बाढी पहिरोमा परी ज्यान गुमाएका एक व्यक्तिलाई क्षतिपूर्ती एक लाख र क्रिया खर्च थप २० हजार तथा एक भन्दा बढी मृत्यु भएका परिवारलाई दुई लाख क्षतिपूर्ती र क्रिया खर्च २० हजार गरी दुई लाख ४० हजारका दरले राहत रकम हस्तान्तरण गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासनीले जानकारी दिए ।

प्रदेश सरकारले राहत रकम उपलब्ध गराउनु राम्रो भए पनि थोरै रकमका लागि महङ्गो रकम खर्च गरेर हेलिकप्टर नै प्रयोग गर्नु भने उपयुक्त नभएको ढकारी गाउँ पालिकाका प्रकाश बुढाले बताए ।

‘क्षतिपूर्ति दिनु राम्रै हो, यत्तिका नेताहरु ल्याएर हेलिकप्टरमा आएपछि क्षतिपूर्ति पनि त्यही अनुसार दिनु नि’ बुढाले भने ‘एउटै परिवारमा ४/५ जनाको ज्यान गएको छ, हेलिकप्टरको खर्च बरु ती परिवारलाई दिनु पर्ने हो ।’ बुढाले विपदका बेला प्रदेश सरकार पीडितको घरमै पुग्नु पर्ने सकारात्मक भएको बताए ।

बाढी पहिरोबाट भएको क्षतिको स्थलगत अध्ययन र पीडित परिवारलाई मल्हम लगाउन मुख्यमन्त्रीसहित आफू अछाम पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रावलले हाम्रोपत्रलाई बताए । ‘बिपतका समयमा एकअर्कालाई सहयोगी भावना देखाउँदै सबैले पीडामा थोरै भए पनि मल्हम लगाउन आवश्यक छ’ मन्त्री रावलले भने ‘त्यहाँको अवस्था दयनीय छ, क्षतिको तथ्यांक यकिन गरेर थप राहतको प्याकेज नै बनाउने गरी हामी हेलिकप्टरमै गएका हौं ।’

मन्त्री रावलले सडक सञ्जालबाट जाने अवस्था नभए पछि हेलिकप्टरको प्रयोग गरिएको बताए । मुख्यमन्त्री भट्ट र मन्त्री रावलसहितको टोलीले पीडितका परिवारलाई घरमै पुगेर भेटेका थिए ।

उता पहिरो पीडितहरु घरबार सबै उजाडिएको बताएका छन् । ‘सबै घरखेत बगायो अन्नबाली र लत्ताकपडा समेत छैनन्’ कमलबजार नगरपालिका वडा नं. ८ का कल्यान्या दमाईले भने ‘हामीलाई गुजारा गर्न निकै समस्या परेको छ ।’

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोमा परी मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका वडा नं. ५ का एकै परिवारका ४५ वर्षीया नेत्रबहादुर शाही, उनकी पत्नी ३५ वर्षीया मनिषा देवी शाही, १७ वर्षीया छोरी बिमला शाही, १६ वर्षीया भतिजी जानकी शाही रहेका छन् ।

त्यस्तै सोही ठाउँका रितबहादुर शाहीकी बुहारी २३ वर्षीया भावना शाही, २० वर्षीया कल्पना शाही, १२ छोरा वर्षीय सुन्दर शाही, नातिनी ३ वर्षीया करिश्मा शाही र १ वर्षीया मेलिना शाही रहेका छन् ।

कमलबजार नगरपालिका वडा नं. ८ का २६ वर्षीया गम्भीरे दमाई, २३ वर्षीया उनकी श्रीमती भाना दमाई, छोरीहरु ६ वर्षीया डिक्रा, ४ वर्षीया कल्पना र ३ वर्षीया कलु दमाई रहेका छन् । उनीहरु एकै परिवारका हुन् ।

त्यसैगरी सोही पालिकाको वडा नम्बर ६ का एकै परिवारका तीन बहिनी २२ वर्षीया संजिता जनाला, १९ वर्षीया सरिता जनाला र १४ वर्षीया गीता रहेका छन् । त्यसैगरी ३६ वर्षीया मैनकला कामी, २१ वर्षीया बुहारी धना कामी, छोरा ९ वर्षीय निखिल कामी र १५ वर्षीया छोरी सिर्जना कामीको ज्यान गएको थियो ।

पहिरोमा परी मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नं. ६ का २ वर्षीय नविन बुढा रहेका छन् । वडा नं. १ का ४५ वर्षीय मोति बुढा जैशी अझै बेपत्ता रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update