Hamro Patra
वनको हैसियत सुधार्दैै उपभोक्ता

प्रकाश कुमार
टीकापुर, जेठ १२
भजनी नगरपालिका–९ का बासिन्दा सामुदायिक वनको हैसियत सुधार्ने कार्यमा व्यस्त छन । उनीहरु सामुदायिक वनमा अग्नीरेखा निर्माण, बुढा पूराना रुख काट्ने, मिचाहा प्रजाति फडानी लगायतका काम गरिरहेका छन ।

यो कार्य बसन्ता संरक्षित वन क्षेत्रसँगै जोडिएका तीनवटै सामुदायिक वनमा भैरहेको छ । यी वन जैविक विविधताले महत्वपूर्ण छन । त्यहाँ चरा चुरुङ्गी र वन वन्यजन्तुको बासस्थान छ । कैयौं प्रजातिका चरा चुरुङ्गी र वन्यजन्तु समेत देख्न सकिन्छ ।

घोडताल सामुदायिक वनका अध्यक्ष रामप्रसाद थारुले विगत १४ दिनदेखी आफूहरु सामुदायिक वनको हैसियत सुधार्ने कार्यमा संलग्न रहेको बताए । ‘प्रचण्ड गर्मी छ तैपनि हामीहरु वन संरक्षणमा जुटेका छौं’ उनले भने–‘वनजंगल जोगाउने कुरामा हामी सचेत छौं ।’ सो सामुदायिक वनमा १४४ घरधुरी आवद्ध छन । उनीहरुले आलोपालो गर्दै वन संरक्षण अभियान सञ्चालन गर्दै आएका छन ।

CMA Staff

सरकारले आर्थिक वर्ष २०६७÷०६८ बाट वैज्ञानिक वन व्यवस्थापन योजना सञ्चालन गरिरहेको छ । त्यसैको निरन्तरता स्वरुप वन तथा वातावरण मन्त्रालय अन्र्तगतको रेड कार्यान्वयन केन्द्रले कैलाली, कञ्चनपुर र बर्दियाका १५ वटा सामुदायिक वनको हैसियत सुधार्न वन सम्वद्र्धन प्रणाली अन्र्तगत विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । जसमध्ये कैलालीमा ७, कञ्चनपुरमा २ र बर्दियामा ६ वटा सामुदायिक वन रहेका छन । यतिबेला ती सबै सामुदायिक वनमा उपभोक्ताले संरक्षण कार्य जारी राखेका छन ।

वन सम्वद्र्धन प्रणाली अन्र्तगत वनमा रहेका साल र अस्नाका रुखको गणना समेत गरिरहेका छन । ती रुखको संख्या, प्रजाति र अवस्थाका बारेमा जिपिएस सिस्टममार्फत रेकर्ड समेत राख्ने कार्य समेत भैरहेको छ ।

उपभोक्ताको यस कार्यमा रेड कार्यान्वयन केन्द्रबाट खटिएको प्राविधिक टिमले सहयोग गरिरहेको छ । ‘हामीले प्राविधिक सहयोग मात्रै गरेका छौं । बाँकी काम उपभोक्ताले आफै गरिरहेका छन’ वनस्रोत सर्भेक्षण विज्ञ बसन्तबाबु श्रेष्ठले भने–‘वन संरक्षणमा उपभोक्ताको सहभागीता उत्साहजनक रहेको छ ।’

वन सम्र्वद्धन प्रणाली लागु भएपछि देशका कुन ठाउँमा कुन प्रजातिका कति रुख छन भन्ने तथ्याङ्क संकलन हुनेछ । यसले सन् २०२२ देखी कार्बन ब्यापार गर्ने सरकारको लक्ष्यलाई सघाउ पुग्ने विज्ञ श्रेष्ठ बताउँछन । उनले वनको हैसियत सुधार नहुने हो भने कार्बन भण्डारण क्षमता घट्दै जाने र सरकारले कार्बन ब्यापार गर्न नसक्ने बताए ।

नेपालमा कुल भूभागको ४४ दशमलव ७४ प्रतिशत वन क्षेत्र छ । कैलाली वन क्षेत्र धेरै भएको जिल्ला मध्ये एक हो । विभिन्न कारणले वन क्षेत्र मासिदै गैरहेको छ । सरकारले वन संरक्षणका लागि पहल गरिरहेको छ । सरकारको पहलले मात्रै वन संरक्षण हुने सम्भावना न्यून रहेकाले उपभोक्ता आफै अग्रसर भएको जनज्योति सोनिया सामुदायिक वनका अध्यक्ष अर्जुनबहादुर बमले बताए । ‘संरक्षणको काम भैरहेको छ तर त्यो प्रभावकारी हुन सकेन’ उनले भने–‘आफ्नो वन आफै जोगाउनु पर्छ भनेर हामी सबै जुटेका छौं ।’

उपभोक्ताहरुले बिहान र साँझको समयमा वन संरक्षण अभियान गरिरहेका छन । सबै उपभोक्तालाई जुटाउने जिम्मेवारी गाउँका भलमन्साले लिएका छन । भलमन्साले भनेको काम गाउँलेले मान्नैपर्ने वाध्यात्मक चलन रहेको छ । जसका कारण पनि उपभोक्तालाई वन संरक्षण अभियानमा सकृय बनाउन सहयोग पुगेको भलमन्सा जालीराम चौधरीले बताए । उनले उपभोक्तालाई धेरै दवाव दिन नपरेको सुनाए । ‘अरु काममा सबै गाउँलेलाई एकै पटक परिचालन गर्न गाह्रो हुन्छ । तर वन जोगाउने कुरामा भने त्यस्तो गाह्रो हुँदैन’ उनले भने–‘यो उपभोक्ताको वन जोगाउनु पर्छ भन्ने सोचको परिणाम हो ।’

सरकारले सामुदायिक वनका साथै राष्ट्रिय वन क्षेत्रमा समेत वन सम्वद्र्धन प्रणाली लागु गरेर हैसियत सुधार्ने योजना बनाएको छ । सामुदायिक वनमा उपभोक्ता आफैले यस्तो कार्य सञ्चालन गरेपनि राष्ट्रिय वनमा भने सरकार आफैले पहल गर्ने गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update