Hamro Patra
के एउटा सडक बत्तीले टीकापुर उज्यालो होला ?

प्रसङ्गः १

धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ धरानको बजारमै पानी ल्याउन सफल भएका छन् । स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका उनले निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न आफै ढुंगा बोकेर कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए । उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै खुशीयाली मनाएको देखिन्छ । दैनिक जसो झण्डै ५/६ हजार धरानबासीको जनश्रमदानले धरानमा पानी आएको हो । पानी ल्याउन मेयर साम्पाङ्गले अरु दिन नगरपालिकामा काम गरेर शनिवार ती खोलाहरुमा श्रमदान गरेका थिए ।

प्रसङ्ग २
अब हाइमास्ट लाइटको कुरा गरौं । टीकापुरको मुख्य खडग चोकमा टीकापुर नगरपालिकाले लगाएको हाइमास्ट लाइटको चर्चा छ । भदौ २५ गते साँझपख मेयर रामलाल डगौरा थारुले उद्घाटन गरे । २८ गते नगरपालिकाका उपमेयर खडकबहादुर शाहीले उक्त लाइट फेर्न लगाए । टीकापुर नगरपालिकाको मुख्य चोक मानिने खड्ग चोकमा लगाइएको हाइमास्ड लाइट उद्घाटन गरिएको तीन दिनमै उतारियो ।

Khadga Memorial And Janajagriti

भदौ २५ गते ‘टीकापुर नगर उज्यालो कार्यक्रम’ को शुभारम्भ भएको घोषणा गरेका मेयर थारुले सडक बत्तीको उद्घाटन गरेका थिए । मेयरको उक्त कदमको विरोध गर्दै उपमेयर शाहीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसनै लेखे । ‘हाइमास्ड लाइटको कार्य पूणर् भएको छैन, लाइट अधूरो छ, केही सामग्री पूरानो प्रयोग भएको छ, त्यो परिवर्तन गर्न भनिएको छ, हतारै गर्नुपर्ने केही कारण छैन । जय होस् ।’

१७ मिटर लामो पोलमा पाँच शय वाट क्षमताका ८ वटा बत्ती एउटै पोलबाट खडग चोकको चारै दिशातर्फ उज्यालो फाल्ने गरी हाइमास्ट लाइट जडान गरिएको थियो । नगरपालिकाको ९ लाख ६४ हजार रुपैयाँको कोटेशन लागतमा अमिक इलेक्ट्रिकल एण्ड कन्स्ट्रक्सन कम्पनीले उक्त लाइट जडान गरेको हो । सडक बत्ती उद्घाटनका विषयमा मेयर र उपमेयरको फरक फरक धारणा आए पछि सडक बत्तीको चर्चा चुलिएको छ । कतिपयले बत्ती जडान कार्यको प्रशंसा गरेका छन् भने कतिपयले हतारमा गरेको भन्दै आलोचना गरेका छन् । मेयर थारुले नगरपालिकाको योजना अनुसार वडा नं. १ को मुख्य बजार क्षेत्र र प्रत्येक वडामा एउटा/एउटा गरी हाइमास्ड लाइट जडान गर्ने योजना रहेको बताउँदै आएका छन् ।

अब विषयतिर लागौं ।

के एउटा सडकमा बत्ती जडान गर्नु गलत हो ? बजार क्षेत्रको मुख्य सडकमै पर्ने मुख्य चोकमै सडक बत्ती जडान गर्दा आपत्ती जनाउनु पर्ने कुनै कारण छ ? के टीकापुरलाई उज्यालो चाहिएको होइन् ? विकास निर्माणका कार्य शुरु गर्दा कसैको टाउको दुख्नु पर्ने कारण के ? के मेयरले गल्ती गरेकै हुन् ? अथवा उपमेयरले सही गरेकै हुन् ? यस्ता प्रश्न तपाईको मनमा पनि उठ्न सक्छन् । अब यी प्रश्नहरुको उत्तर खोजौं ।

पहिलो कुरा हाइमास्ट बत्ती सडकमा लगाउनु पर्ने बत्ती होइन् । यो बत्ती मुख्यगरी रंगशालाहरु, खेलमैदानहरु, बन्दरगाह, ठूला बसपार्क आदिमा लगाइन्छ । एउटै पोलबाट वरिपरि उज्यालो पुर्‍याउनु यसको उद्देश्य हो । अघिल्लो कार्यकालका केही जनप्रतिनिधिहरुले केही चोक चौतारामा हाइमास्ट बत्ती जडान गरेर चर्चा बटुलेपछि यो बत्ती जडान गर्ने फेसन नै चलेको छ भन्दा फरक नपर्ला । केही बत्तीहरु टिकटकमा समेत भाइरल भएका छन् । त्यसैको प्रभाव पो हो कि ? हामीलाई ९ लाख ६४ हजार रुपैयाँ खरिद गरेर हाइमास्ट बत्ती जडान गर्नुपर्ने ।

सडकमा बत्ती जडान गर्नु राम्रो काम हो । प्रत्येक सडकमा प्रत्येक विद्युतको पोलमा सडक बत्ती होस् नगरबासीको यो चाहना हो । टीकापुर बजारको मुख्य चोकमा सडक बत्ती लगाउँदा आपत्ती जनाउनु पर्ने कुनै कारण पनि छैन । मुख्यगरी बजार क्षेत्रका भानुचोक, सिद्धार्थ चोक, महाकवि लक्ष्मीप्रसाद देवकोटा चोक र भिमसेन चोकमा यस्ता बत्ती जडान हुन सके शहरको सुन्दरतामा सुगन्ध थपिने थियो ।

अँध्यारो रातमा उज्यालो हरेकलाई चाहिएको छ । टीकापुरलाई शहरलाई श्रृंगार दिने सडक बत्ती नचाहिने कुरै भएन । अब रह्यो विकास निर्माणका काम शुरु गर्दा कसैको टाउको दुख्नु पर्ने कारण । यो पनि जरुरी छैन । विकास निर्माणका काम गर्दा कसैले टाउको दुखाउन जरुरी छैन । विकास कुनै एक व्यक्तिको नीजि पनि हुँदैन, यो सबैका लागि हुनुपर्ने विषय हो ।

त्यसो भए माथि उठेका प्रश्नहरुमा गल्ती मेयरको हो ? अथवा उपमेयरले सही गरे ? यसमा चर्चा गरौं । नेतृत्व भनेको नीति निर्माता हो । अगुवा हो । नगर प्रमुखलाई कतिपयले नगर पिता भन्ने गरेका छन् । यो अगुवाले कस्तो बाटो देखायो ? उसको गतिविधिले कस्तो सन्देश दियो भन्ने कुरा मुख्य हो । सडक बत्ती जडानको विषयमा मेयर र उपमेयर उत्तिकै दोषी छन् ।

९ लाख ६४ हजार रुपैयाँ खर्च गरेर झण्डै २/३ महिनाको समय लगाएर सडकको एउटा चोकमा एउटा बत्ती जडान गरेर टीकापुर उज्यालो हुन्छ ? धरानका मेयर हर्क साम्पाङ्ग यदि टीकापुरका मेयर भैदिएको भए उनले आफैबाट बत्ती जडान कार्य शुरुवात गर्थे । नागरिकलाई बत्ती जडान कार्यमा सहयोग गर्न अपिल गर्थे । सामान्य बजेटमै नागरिकको सहभागितामा राम्रो काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण साम्पाङ्गले खानेपानी धरान पुगाएबाट प्रस्टै हुन्छ ।

उज्यालो टीकापुर अभियानको शुरुवात गर्ने टीकापुरका मेयरले कहिंकतै नागरिकलाई यो कार्यमा सहभागी गराउन केही गरेको मलाई थाहा छैन । मुख्य बजार क्षेत्रका चार वटा चोक र मुख्य सडकका सबै पोलमा बत्ती जडानका लागि केही गरेको पनि थाहा छैन । बरु उनले भन्दै आएका छन्, यी चोकहरुलाई हामी सिँर्गाछौं ।

माथि उल्लेखित ९ लाख ६४ हजार रुपैयाँको बजेटले मात्रै कसरी धेरै उज्यालो बनाउन सकिन्छ भनेर कहिँकतै छलफल गरिएको पनि थाह छैन । नेतृत्वको कमजोरी भनौं या अज्ञानता हामी हरेक विषयको विज्ञ आफैलाई ठान्दछौं । गल्ती यहींनेर हुन्छ । यही नौ लाख रुपैयाँले नागरिकको सहभागिता बिना नै झण्डै १ शय ८० पोलमा बत्ती जडान गर्न सकिन्छ ।

हाइमास्ट लाइटकै खर्चमा ५० वाटको फल्ट बत्ती (स्ट्रिट लाइट) जडान गर्न सकिन्छ । एउटा राम्रो ब्राण्डेड कम्पनीको फल्ट बत्तीलाई अधिकतम् ५ हजार रुपैयाँसम्म पर्छ । प्रत्येक ५० मिटरको दुरीमा विद्युतको पोल छ । त्यही पोलमा ९ लाख रुपैयाँ खर्च गर्ने हो भने १ शय ८० पोलमा बत्ती बल्छ । सडक झिलिमिली हुन्छ । यसमा नागरिकको लागत सहभागिता, केही प्रतिशत अनुदान र बत्तीको संरक्षण गर्ने दायित्व स्थानीय टोल विकास समितिलाई दिने हो भने त्यो दीगो समेत हुन्छ ।

एक नेतृत्वबाट हामी नगरबासीले गरेको चाहना यस्तै हो । जसरी धरानका मेयर हर्क साम्पाङ्ग छ दिन कार्यालयको काम गरेर शनिवार खोलामा पानी ल्याउन ढुंगा बोक्छन्, उनलाई हेरेर अरु नागरिक ढुंगा बोक्न जान्छन् । त्यसैगरी हाम्रा मेयर र उपमेयरले नागरिकलाई सडक बत्तीका लागि प्रेरित गर्नु पर्छ कि पर्दैन ? यतातिर ध्यान दिन जरुरी छ ।

माफ गर्नुहोला, पाठक वृन्द !

एउटा सडकमा जडान गरिएको बत्तीलाई लिएर गन्थन मन्थन धेरै लेख्यो भन्ने सोच्नु होला । यो पद्दतिको कुरा हो । हामी चाहन्छौं हाम्रो नेतृत्वले हामीले तिरेको करको सही सदुपयोग गरोस् । आफूले तिरेको कर आफ्नै विकासका लागि हो भन्ने सन्देश नागरिकलाई परोस् । प्रत्येक सडकमा बत्ती बलोस्, हरेक नागरिकले त्यो बत्तीमा आफ्नो पन पाओस् । यो त उदाहरण मात्रै हो, विकास निर्माणका यस्ता अनेक उदाहरण छन्, जहाँ नागरिकको सहभागिता हुँदैन, त्यहाँ काम भए पनि गुणस्तरीयता हुँदैन । गुणस्तरीयता होला, दीगोपना हुँदैन । तसर्थ गुणस्तरीय र दीगोपनका लागि नागरिकको सहभागिता बढाउन जरुरी छ । जसरी धराने जनता पानी आउँदा खुशी भएका छन्, हामी पनि सडक बत्ती बल्दा खुशी हुन पाइयोस्, अँध्यारो सडकमा उज्यालो बत्तीसँगै सेल्फी लिन पाइयोस्, टिकटक बनाउन पाइयोस् ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update