Hamro Patra
कैलालीमा आयातीत औलोको जोखिम

 परमानन्द पाण्डे

टीकापुर, २८ वैशाख

Khadga Memorial And Janajagriti

कैलालीमा आयातीत औलोबाट संक्रमित हुने विरामीको संख्या वर्षेनी बढ्दै गएको छ । कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरुमा औलो देखिने क्रम बढेसँगै आयातीत औलोबाट संक्रमित विरामीको संख्या बढ्दै गएको हो । स्वास्य सेवा विभाग स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीको (एचएमआईएफ) तथ्यांक अनुसार कैलालीमा आर्थिक वर्ष २०७१/७२ मा २ शय ६८, २०७२/०७३ मा २ शय, २०७३/०७४ मा २ शय ७१ र ०७४ /०७५ को हालसम्ममा २ शय ८ जना विरामीमा औलो फेला परेको छ । फेला परेका कुल संक्रमितमध्ये आर्थिक वर्ष २०७१/७२ मा १ शय ६७, २०७२/०७३ मा १ शय २३, २०७३/७४ मा १ शय ७० र २०७४/०७५ को हालसम्ममा १ शय ३२ जना विरामीमा आयातित औलो देखिएको छ ।

भारतबाट काम गरेर फर्किएका नेपालीहरुमा आयातीत औलो फेला पर्ने गरेको छ । एनोफिलिज जातको संक्रमित पोथी लामुखुट्टेको टोकाईबाट औलो रोग मानिसमा सर्ने गर्दछ । नेपालमा सन् २०२५ सम्म औलो रोग निवारण गर्ने सरकारी लक्ष्य तोकिएको भए पनि वर्षेनी आयातित औलोका कारण पूरा हुन मुश्किल देखिएको छ । कैलालीमै बसोबास गर्ने भन्दा भारतबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट संक्रमित हुने बिरामीको संख्या बढी छ । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले सन् २०१६ मा गरेको अध्ययन अनुसार कैलालीका टीकापुर नगरपालिका वडा नं ८ र ९, लम्कीचुहा नगरपालिकाका वडा नम्बर, १, २, ४, ५, ६, ७, ८, ९ र १० औलो रोगको उच्च जोखिममा छन् ।

त्यस्तै गोदावरी नगरपालिकाको वडा नम्बर ९ बाहेकका सबै वडाहरु, गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ र जानकी गाउँपालिकाको वडा नं. १ र ६ औलो रोगको उच्च जोखिममा रहेको छ । आयातीत औलो रोगको जोमिख बढेसँगै सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट नेपाल आउने टीकापुरको खक्रौला, धनगढीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकामा हेल्थ डेक्स सञ्चालन गरेको छ । हेल्थ डेक्समा भारतबाट आउनेहरुलाई स्वास्थ्य परामर्श दिने, शंकास्पद विरामीको चेकजाँच गर्ने र भित्रिने सरुवा रोगहरुको पहिचान गर्दै आएको टीकापुर नगरपालिकाका स्वास्थ्य संयोजक बलबहादुर रावलले बताए ।

‘भारतबाट सरुवा रोग नेपालमा नआओस् भन्नका लागि तीन नाकाहरुमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ’–रावलले भने–‘स्वास्थ्यकर्मी खटाएर भारतबाट आउनेलाई स्वास्थ्य परामर्श दिने, चेकजाँच गर्ने र सरुवा रोग भएका विरामीको पहिचान गर्ने काम भइरहेको छ ।’ रावलका अनुसार ती नाकाहरुमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्यकर्मी खटाएर चेकजाँच हुँदै आएको छ । औलो रोग नियन्त्रणका लागि सरकारले औलोको निःशूल्क उपचार गर्ने, प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गर्ने, औषधि छर्ने, खोजपड्ताल गर्ने, जनचेतना जगाउने र औलो प्रभावितको व्यवस्थित तथ्यांक संकलन गर्ने र संक्रमित व्यक्ति वरपरका मानिसहरुको स्वास्थ्य जाँच गर्ने काम गर्दै आएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update