Hamro Patra
कर्मचारीले जनअपेक्षा अनुसार काम गर्न नदिएको मुख्यमन्त्री भट्टको आरोप

टीकापुर, भदौ २४
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्मचारीको असहयोगका कारण जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन ।

नेपाल जेसीजको आयोजनामा आजदेखी टीकापुरमा सुरु भएको क्षेत्र ‘घ’ सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले जनअपेक्षाका सवालमा काम गर्दा अवरोध हुने गरेको बताए ।

उनले युवाहरुलाई राजनीतिक नेतृत्वको मात्रै नभई कर्मचारीतन्त्र परिवर्तनको पक्षमा समेत आवाज उठाउन आग्रह गरे । ‘म मेरो पाँच वर्षको अनुभवले भन्दैछु । जनताका पक्षमा काम गर्न खोज्दा अवरोध भयो’ उनले भने–‘कर्मचारीतन्त्र परिवर्तनका लागि आवाज उठाउन जरुरी छ ।’
उनले लोकसेवा पास गरेकै कारण कोही पनि कुशल प्रशासक हुन नसक्ने बताए । उनले आफ्नो सम्बोधनको अधिकांश समय कर्मचारीले काम गर्न नदिएको बारेमा उल्लेख गरेका छन ।

Khadga Memorial And Janajagriti

उनले नेतृत्वका हिसाबले आफू कमजोरी स्विकार्न तयार रहेको बताउँदै कर्मचारीतन्त्रले समेत कमजोरी स्विकारेर अघि बढ्नुपर्ने बताए ।

उनले संघीयताका बारेमा नकारात्मक टीकाटिप्पणी भैरहेको प्रति चिन्ता व्यक्त गर्दै अहिले नै संघीयताका बारेमा समिक्षा गर्ने बेला नभएको बताए । उनले विकासका लागि पाँच वर्षको समय प्रयाप्त नभएको बताउँदै प्रदेश सरकारले थालनी गरेका विकासका कामको परिणाम आउन अझै केही वर्ष लाग्ने बताए ।

‘हामीले थालनी गरेका छौं । अहिले नै परिणाम खोजे हतार हुनेछ’ उनले भने–‘अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ ।’

उनले शहर बजारमा संघीयताका बारेमा नकारात्मक टिप्पणी हुने गरे पनि दूरदराजका गाउँबस्तीका बासिन्दाले संघीयताले दिएको परिवर्तनको प्रत्यक्ष महशुस गर्न पाएको बताए ।

सो अवसरमा मुख्यमन्त्री भट्टले हरेक क्षेत्रमा युवाहरुको नेतृत्वले सुखद सन्देश दिएको बताए । उनले युवाहरु नै परिवर्तनका संवाहक भएको बताउँदै युवा बिना परिवर्तन सम्भव नभएको बताए ।

सम्मेलनमा विशिष्ट अतिथि रहेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावलले समाज परिवर्तनको नेतृत्व युवाले लिनुपर्नेमा जोड दिए । उनले युवाले चाहे मात्रै परिवर्तन सम्भव हुने बताउँदै नेतृत्वका लागि युवाहरु अग्रसर हुनुपर्ने बताए ।

सम्मेलनका अर्का विशिष्ट अतिथि नेपाल जेसीजका अध्यक्ष लालमणी भण्डारीले जनताले परिवर्तनको महशुस गर्न नपाएको बताए । उनले परिवर्तनको महशुस हुने गरी काम हुन नसकेको आरोप लगाए ।

नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष अनिल शाहको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन समारोहमा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु, नेपाल जेसीजका पूर्वअध्यक्ष तेजशंकर भट्ट, टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्राडा जगतबहादुर सिँह रावल, सम्मेलन संयोजक नवराज रावल लगायतले बोलेका थिए । स्वागत टीकापुर जेसीजका अध्यक्ष टोप प्रकाश विकले गरेका थिए ।

टीकापुर जेसीजको आतिथ्यतामा भैरहेको सम्मेलनमा नेपाल जेसीजको क्षेत्र ‘घ’ अन्र्तगत ३३ जिल्लामा रहेका ५५ शाखाका अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलन भोलिसम्म चल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update