Hamro Patra
नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलन सफल पार्न जुट्यो टीकापुर

टीकापुर, भदौ २३
टीकापुर जेसीजको आतिथ्यतामा भोलिदेखी सुरु हुने नेपाल जेसीज क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा भएको छ । टीकापुर जेसीजले आज पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो ।

सम्मेलनको एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भदौ २४ र २५ गतेसम्म जारी रहने सम्मेलनमा क्षेत्र ‘घ’ अन्र्तगत ३३ जिल्लाका ५५ शाखाका प्रतिनिधि सहभागी हुने बताईएको छ ।

सम्मेलनमा १८ देखी ४० वर्ष उमेरका करिव ५ सय भन्दा बढी युवाहरुको सहभागिता रहनेछ । सम्मेलनले युवाहरुमा उत्प्रेरणात्मक नेतृत्व र व्यक्तित्व विकास गर्ने, बन्धुत्वको भावना सिर्जना गर्ने, आफू आवद्ध संस्थाको व्यवस्थापन र पदीय दायित्व सम्बन्धी जागरुक बनाउने, सोचमा सकारात्मक परिवर्तन गरेर जीवन रुपान्तरण गर्नुका साथै टीकापुरको धार्मिक, साँस्कृतिक, पर्यटकीय र व्यवशायिक प्रवद्र्धनमा सहयोग गर्ने विश्वास गरिएको छ ।

Khadga Memorial And Janajagriti

२०७२ को घटनापछि टीकापुरका बारेमा फैलिएको नकारात्मक धारणालाई मेट्न सम्मेलन सहयोगी हुने टीकापुर जेसीजका अध्यक्ष टोप प्रकाश विकले बताए । उनले यति ठूलो कार्यक्रम २०७२ पछि पहिलो पटक टीकापुरमा आयोजना हुन लागेको बताए ।

‘सम्मेलनले टीकापुर प्रतिको धारणा बदल्नेछ’ उनले भने–‘यो टीकापुरबासीका लागि सुखद मौका हो ।’

उनले सम्मेलन सफल पार्नमा सबै टीकापुरबासीको हातेमालो आवश्यक रहेको बताए । उनले सम्मेलनलाई सफल पारेर टीकापुरमा कुनै खालको द्वन्द्व नरहेको सन्देश दिनका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका छन ।

‘यो हाम्रो मात्रै कार्यक्रम हैन । यो हामी सबै टीकापुरबासीको कार्यक्रम हो’ उनले भने–‘हामी सबै मिलेर एकताको सन्देश दिन आवश्यक छ ।’

सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतार्थ बजार क्षेत्रका ठाउँठाउँमा स्वागतद्वारा निर्माण गरिएका छन । विभिन्न सामाजिक संघसंस्थाहरुले बजार क्षेत्रको सरसफाई गरेका छन । सम्मेलन सफल पार्न दर्जन बढी संघसंस्थाले हातेमालो गरेका छन ।

टीकापुर नगरपालिकाले कार्यपालिका बैठकबाटै सम्मेलनका लागि आर्थिक सहयोग गरेको छ । उसले बजार क्षेत्रका सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम तिब्र पारेको छ । नगरपालिकाले केही जनशक्ति सम्मेलनको तयारीमा परिचालन गरेको छ । सम्मेलन टीकापुरको पहिचानसँग जोडिएको प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले बताए । उनले सम्मेलन सफल पार्नमा नगरपालिकाका तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

टीकापुर जेसीजको स्थापना सन् १९९७ मा भएको हो । यसले यसअघि सन् २००१ मा क्षेत्र ‘घ’ सम्मेलन र सन् २०१८ मा क्षेत्र ‘घ’ अध्यक्ष सम्मेलनको आयोजना गरिसकेको छ । यसले तीनवटा जेसीजलाई मातृत्व समेत प्रदान गरेको छ ।

नेपाल जेसीज अन्र्तगत १७४ शाखा क्रियाशिल छन । ती शाखाहरुलाई विभिन्न चार क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र ‘घ’ अन्र्तगत नवलपरासी पश्चिमका ३३ जिल्ला रहेका छन ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update