Hamro Patra
टीकापुर अस्पतालमा थप जनामा डेँगु

टीकापुर, भदौ २२
कैलालीको टीकापुर अस्पतालमा थप पाँच जनामा डेँगु देखिएको छ । यो संख्या पछिल्लो एकसातामा मात्रै थपिएको हो ।

डेँगुका बिरामीमा चार जना टीकापुर नगरपालिका र एकजना लम्कीचुहा नगरपालिकाका रहेका छन । उनीहरुको उपचार भैरहेको सह व्यवस्थापक उपेन्द्र शाहले जानकारी दिए ।

पछिल्लो केही दिन यता अस्पतालमा डेँगुका बिरामीको संख्या ह्वात्तै बढेको छ । अझै कतिपय बिरामीहरु उपचारका लागि अस्पताल नपुगेकाले यो संख्या धेरै हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन ।

Khadga Memorial And Janajagriti

कतिपय बिरामी भने भरपर्दो उपचारका लागि नेपालगञ्ज लगायतका ठाउँमा गएका छन । उनीहरुको आधिकारिक रेकर्ड टीकापुर नगरपालिकामा नरहेको बताईन्छ । केही व्यक्तिहरु स्वास्थ्य समस्या गम्भिर भएपछि उपचारका लागि नेपालगञ्ज पुगेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

यसअघि टीकापुर अस्पतालमा नौ जनामा डेँगु देखिएको थियो । यो संख्या साउन १ गतेदेखी भदौ १६ गतेसम्मको हो ।

नौजना मध्ये टीकापुर नगरपालिकाका ३ जना, जोशीपुर गाउँपालिकाका २ जना र जानकी गाउँपालिकाका ४ जना रहेका छन । उनीहरु मध्ये धेरैजसो उपचार पछि घर फर्किएका छन ।

उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महशुस हुने लगायतका लक्षण देखिएका थिए । यो रोग एडिस जातको लामखुट्टेले मानिसमा सार्ने गर्छ । यसले सफा पानीमा फूल पार्ने र त्यहीबाट मानिसमा सार्ने गर्छ ।

लार्भाका स्रोतहरु पानी जमेका डब्बाहरु, प्लाष्टिकका बोत्तल, प्लाष्टिकका खोल, टायर, सिसी, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानीका ट्याङ्की हुन ।

 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update