Hamro Patra
टीकापुर अस्पतालमा डेँगुका नौजना बिरामी भेटिए

टीकापुर, भदौ २०
कैलालीको टीकापुर अस्पतालमा डेँगुका नौजना बिरामी भेटिएका छन । ती मध्ये टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाका तीन/तीन जना रहेको अस्पतालले जनाएको छ ।

उनीहरु मध्ये केही उपचार गरेर घर फर्केको र केहीको अस्पतालमा उपचार भैरहेको छ । उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महशुस हुने लगायतका लक्षण देखिएका थिए । यी बिरामीहरु साउन पहिलो सातादेखी भदौ मध्यसम्म अस्पतालमा उपचार गर्न आएको अस्पतालका सह व्यवस्थापक उपेन्द्र शाहले जानकारी दिए ।

समुदायमा डेँगुका बिरामी भेटिएपछि टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले लामखुट्टे लार्भा खोज र नष्ट गर्ने अभियान थालेका छन । टीकापुर नगरपालिकाले नौवटै वडामा अभियान सुरु गरेको जनाएको छ । जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका प्रमुख बलबहादुर रावलले भदौ २४ गतेसम्म अभियान जारी रहने जानकारी दिए ।

Khadga Memorial And Janajagriti

उनले अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीयको सहभागिता रहेको बताए ।

जानकी गाउँपालिकाले भने यो अभियान भदौ पहिलो साता नै सम्पन्न गरिसकेको स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिएका छन । पालिकाले अहिले पनि समुदायमा डेँगु फैलिन नदिन सतर्कता अपनाईरहेको छ । स्वास्थ्य शाखामा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई नै डेँगु देखा परेपछि पालिकाले लार्भा नष्ट अभियान तत्काल सुरु गरेको थियो ।

काठमाण्डौंबाट फर्किए लगत्तै ती स्वास्थ्यकर्मीमा ज्वरो आउने लगायतका लक्षण देखिएका थिए । उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डेँगु पुष्टी भएको थियो । उनको स्वास्थ्य अवस्था सुधार भैरहेको छ ।

तर जोशीपुर गाउँपालिकाले भने समुदायमा डेँगु फैलिएको बारे अनभिज्ञता प्रकट गरेको छ । स्वास्थ्य शाखा प्रमुख टेकबहादुर हमालले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले टीकापुर अस्पतालमा जोशीपुर गाउँपालिका ठेगाना भएका डेँगुका बिरामीका बारेमा जानकारी नभएको बताए ।

‘यस बारेमा हामीलाई कुनै जानकारी छैन’ उनले भने–‘लार्भा नष्ट गर्ने त्यस्तो कुनै अभियान पनि थालेका छैनौं ।’

टीकापुर नगरपालिकामा जारी अभियान अन्र्तगत विभिन्न टोलमा पुगेर पानी जमेको ठाउँको पहिचान गरी लार्भा नष्ट गर्ने गरिएको छ । यो रोग एडिस जातको लामखुट्टेले मानिसमा सार्ने गर्छ । यसले सफा पानीमा फूल पार्ने र त्यहीबाट मानिसमा सार्ने गर्छ ।

लार्भाका स्रोतहरु पानी जमेका डब्बाहरु, प्लाष्टिकका बोत्तल, प्लाष्टिकका खोल, टायर, सिसी, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानीका ट्याङ्की हुन ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update