Hamro Patra
मुलपानीको तलाउमा नुहाउन बन्द गर्न स्थानीयको माग

टीकापुर, भदौ २०
स्थानीयले टीकापुर नगरपालिका–२ मुलपानीस्थित तलाउमा नुहाउने काम बन्द गराउन माग गरेका छन । नुहाउने क्रममा ज्यान जान थालेपछि स्थानीयले यस्तो माग गरेका हुन ।

तलाउमा नुहाउने क्रममा हालसम्म दुई जनाले ज्यान गुमाएका छन । यही भदौ १८ गते जानकी गाउँपालिका–८ पहाडीपुरका २० वर्षका पुष्पराज उपाध्याय र २०७७ कात्तिक ६ गते जानकी गाउँपालिका–६ जगतपुरका १४ वर्षका समिर चौधरीले तलाउमा नुहाउने क्रममा ज्यान गुमाएका छन ।

कर्णाली नदी किनारमा ढुंगा बालुवा निकाल्ने क्रममा परेको खाल्डोमा पानी जमेपछि तलाउ बनेको हो । तलाउमा जमिनमूनिबाट पानी निस्किने गरेको छ । यसरी जमिनमूनिबाट निस्केको पानी जमेको ठाउँलाई स्थानीयले मुलपानी नामाकरण गरेका हुन ।

Khadga Memorial And Janajagriti

मुलपानीमा दुईवटा तलाउ छन । खाशगरी त्यहाँ विदाको दिनमा नुहाउनेको घुँईचो लाग्ने गर्छ । बढीजसो युवायुवती नुहाउन जाने गरेका छन । स्थानीय जनशक्ति सामुदायिक वनले मुलपानीलाई लक्षित गरेर पार्क निर्माण गरेको छ । त्यहाँ भ्यूटावर समेत निर्माण गरिएको छ । प्रदेश र संघ सरकारले हालसम्म करिव ३० लाख खर्च गरेका छन । गत आवमा मात्रै संघको १५ र प्रदेश सरकारको ५ लाख खर्च भएको छ ।

सामुदायिक वनले पार्क प्रवेश शुल्क भन्दै हरेक व्यक्तिबाट १० रुपैयाँ असुल्ने गरेको छ । त्यहाँ पुगेपछि अधिकांशले तलाउमा नुहाउछन । तलाउमा नुहाउने काम निकै जोखिमपूर्ण छ । तलाउको गहिराई कति छ भन्ने एकिन छैन । तलाउ भित्र पानी मात्रै नभई ठूल्ठूला ढुंगा र काठ समेत छन । नुहाउने क्रममा कैयौं व्यक्ति तिनै ढुंगा र काठमा ठोक्किएर घाईते हुने गरेका छन ।

‘जसलाई गहिरो चोट लाग्छ उसले ज्यान गुमाउने गरेका छन’ स्थानीय सिद्ध ठकुल्लाले भने–‘नुहाउने काम निकै जोखिम छ ।’

टीकापुर नगरपालिकाले तत्काल तलाउको पानीको सतह घटाएको छ । मेयर रामलाल डगौरा थारु जेसिबी सहित मुलपानी पुगेका छन । उनले सामुदायिक वनलाई व्यवस्थित गरेर मात्रै पार्क सञ्चालनमा ल्याउन निर्देशन दिएका छन । ‘निकै अव्यवस्थित छ । हामीले त्यसलाई व्यवस्थित गर्न भनेका छौं’ उनले भने–‘आगामी दिनमा कुनै किसिमको जोखिम नहोस् भनेर सचेत गरेका छौं ।’

सामुदायिक वनले हाल पार्क बन्द गरेको छ । अध्यक्ष दीर्घ तिरुवाले सबैतिरबाट तलाउमा नुहाउने काम बन्द गर्न सुझाव आएपछि त्यसो गरेको बताए । उनले तलाउमा नुहाउने काम सधैंका लागि बन्द गर्ने वा व्यवस्थित ढंगले सञ्चालन गर्ने प्रस्ताव सामुदायिक वनको साधारण सभामा लैजाने जानकारी दिए । उनका अनुसार यही भदौ २७ गते सामुदायिक वनको साधारण सभा हुँदैछ । उनले साधारण सभाले दिएको निर्देशन अनुसार आफू अघि बढ्ने बताए ।

‘हामी आगामी दिनमा कुनै किसिमको जोखिम नहोस् भन्नेमा सचेत छौं’ उनले भने–‘साधारण सभाले त्यस किसिमको निर्णय गर्नेछ ।’

मुलपानी क्षेत्र पछिल्लो समय निकै भाइरल बनेको छ । त्यहाँ घुम्न जानेको घुँईचो लाग्ने गरेको छ । घुम्न आउनेको संख्या बढेसँगै अन्य जोखिम पनि बढेको छ । पिकनिक खान जानेहरुले मदिरा सेवन गरेर झैंझगडा गरेका घटना समेत हुने गरेका छन । जसले त्यहाँको सुरक्षा अवस्थामा समेत चुनौती थपेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update