Hamro Patra
नौ जनाको हत्या गरी आफै आत्महत्या

काठमाण्डौं, जेठ ७
पूर्वी नेपाल पाँचथरको मिक्लाजुङ गाँउपालिकामा गए राति नौ जनाको विभत्स हत्या स्थानीय मानबहादुर माखिमले गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनले आफ्ना ससुरा बमबहादुर फियाक र साढु दाई धनराज शर्माका परिवारको हत्या गरेर आफै आत्महत्या गरेको बताईएको छ । उनले आत्महत्या गरेको ठाउँ नजिकै रगतमा लतपतिएको खुकुरी, लुगा र झोला भेटिएका छन ।

Khadga Memorial And Janajagriti

उनी गाउँभन्दा लगभग डेढ किलोमिटरको दुरीमा रहेको मलेदोको रूखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । माखिमको घर मिक्लाजुङकै ७ नम्बर वडामा पर्छ । उनी झुण्डिएको ठाउँभन्दा २ सय मिटर जति वर रहेको भिरजस्तो ठाउँमा रगत लतपतिएको खुकुरी, दाप, लुगा र झोला भेटिएको प्रदेश १ का डिआइजी केदार रिजालले बताए ।

ससुरा र साढुभाइको परिवार मारेपछि मानबहादुर आफै झुण्डिएको प्रहरीले अनुमान गरेको छ । यो हत्यालाई हप्ता दिन अघिको नुनमा सिसा मिसाइएको घटनासँग जोडेर हेरिएको छ । हत्या गरिएका मध्ये मुना शेर्मा, मनकुमारी फियाकले हप्तादिन अघि नै खाएको खानामा सिसायुक्त नुन मिसिएको पाइएको थियो । उनीहरू बिरामी परेपछि सिसायुक्त खाना खाएको फेला परेको थियो ।

नुनमा सिसा कसले राख्यो भन्ने विषयमा प्रहरी टुंगोमा नपुग्दै दुइजनाका परिवारै मारिएका छन् । आरुबोटेमै सञ्चालित ढाका बुनाइ तालिममा सहभागी भएका उनीहरूले खाजामा राखिएको नुनमा मिसाइएको सिसा खाएको प्रहरी अनुमान थियो । उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले माखिमले नै नुनमा सिसा मिसाएको शंका गरे पनि पक्राउ भने गरिसकेको थिएन ।

वडाध्यक्ष हस्तराज फियाकको भनाइले पनि प्रहरीको आशंकालाई पुष्टी गर्छ । ज्वाइँ मानबहादुर र ससुरा बमबहादुरको मनमुटाव भएको वडाअध्यक्ष फियाकले बताए । उनका अनुसार, कान्छि छोरी र ज्वाँइको बारम्बार झगडा भएपछी बमबहादुरले मिलाउने कोसिस गरेका थिए । उनका अर्का ज्वाइँ धनराज शेर्माले पनि झगडा मिलाउन कोसिस गर्दै आएका थिए । तर, झगडा साम्य नभएपछि दुवैजना केही समय पहिलेदेखि अलग्गै बसिरहेका थिए ।

घटनास्थल पुगेका प्रहरीले गरेको रिर्पो्टिङको आधार, घटनालाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, अपराध अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालय आइजिपीको सचिवालय टोलीले सामूहिक हत्याको कारण ‘डिभोर्स’ नै हुन सक्ने निष्कर्ष निकालेको हो । हत्या गरिएका ज्वाइँ र ससुराको घर पन्ध्र मिनेट पैदल दूरी फरकमा छ । शेर्माको घर फियाकको भन्दा दक्षिण पर्छ । वडाध्यक्ष हस्तराज फियाकका अनुसार दुवै परिवार साधारण किसान हुन् ।

हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update