Hamro Patra
टीकापुर नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद, छुट्टाछुट्टै उपलब्धी सार्वजनिक

टीकापुर, भदौ १७
टीकापुर नगरपालिकाका प्रमुख र उपप्रमुख बिच विवाद देखिएको छ । उनीहरु दुवै जनाले छुट्टाछुट्टै ढंगले एक सय दिनको उपलब्धी सार्वजनिक गरेपछि विवाद सार्वजनिक भएको हो ।

टीकापुर नगरपालिकाको लेटरप्याड प्रयोग गर्दै प्रमुख रामलाल डगौरा थारुले भदौ १६ गते १७ बुँदे र उपप्रमुख खडक बहादुर शाहले भदौ १४ गते १५ बुँदे उपलब्धी सार्वजनिक गरेका छन । उनीहरु दुवैजनाले सार्वजनिक गरेका उपलब्धीका केही बुँदामा भने समानता छ ।

प्रमुख र उपप्रमुखको छुट्टाछुट्टै उपलब्धी सार्वजनिकले उनीहरुबीच विवाद रहेको प्रष्ट हुन्छ । दुवैजना अलगअलग पार्टीबाट विजयी भएका हुन । प्रमुख डगौरा नागरिक उन्मुक्ति पार्टी र उपप्रमुख शाह नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन । प्रमुख डगौरा स्थानीय तहको निर्वाचन अघि नेकपा माओवादी केन्द्रबाटै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन । उनी यसअघि नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं. ७ का वडाध्यक्ष रहेका थिए ।

Khadga Memorial And Janajagriti

तर प्रमुख र उपप्रमुखले त्यस्तो विवाद नरहेको दावी गरेका छन । प्रमुख डगौराले विवाद झल्किने गरी नागरिकस्तरमा म्यासेज भने गएको बताए । उनले उपप्रमुखले आफ्नो काम कर्तव्य र अधिकार बिर्सेको बताए । ‘उहाँले सिस्टम बुझ्नु पुथ्र्यो । बुझ्नु भएन कि बुझ्न चाहनु भएन’ उनले भने–‘सिस्टम बुझेको भए यस्तो म्यासेज बाहिर जाने थिएन ।’

उनले उपप्रमुख राजनीतिक विचारले निर्देशित भएको महशुस भैरहेको बताए । उनले आफ्नो अनुपस्थितिमा उपप्रमुखले यस्तो काम गरेको भए स्वभाविक मान्न सकिने बताए ।

उपप्रमुख शाहले संयुक्त रुपमा उपलब्धी सार्वजनिक गरेको भए राम्रो सन्देश जाने बताए । उनले प्रमुखबाट समन्वय नभएका कारण आफ्नो अग्रसरतामा भएका काम सार्वजनिक गरेको बताए ।

‘प्रमुखबाट त्यस्तो समन्वय हुने गरी पहल हुन सकेन’ उनले भने–‘मैले एक्लै भएपनि आफ्नो कुरा राखे । यसमा कुनै अन्यथा छैन ।’
उनले आफ्नो अग्रसरता राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने विषय भएकाले पनि स्वभाविक रुपमा बुझ्नपर्ने बताए ।

उनीहरुबीचको विवाद सार्वजनिक भएपछि नागरिकस्तरमा टिकाटिप्पणी सुरु भएको छ । प्रमुख र उपप्रमुखबीचको विवादले नगरपालिकाका कामकारवाही समेत प्रभावित हुने देखिन्छ ।

नगरपालिकामा कर्मचारीहरुबीच पनि निकै ठूलो विवाद छ । विगत पाँच वर्षमा कर्मचारीहरुको विवादले कतिपय काम सम्पन्न हुन सकेनन् । प्रमुख र उपप्रमुखबीच देखिएको विवादले कर्मचारीहरुलाई झन विभाजित गर्ने सम्भावना बढेर गएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update