Hamro Patra
सुदूरपश्चिम प्रदेश सदस्य, पूर्व साँसद लगायत नागरिक उन्मुक्तिमा प्रवेश

टीकापुर, भदौ १६
कैलालीको पूर्वी भेगका विभिन्न दलका प्रभावशाली नेताहरु आज नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन ।

पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सदस्य रतन थापा, पूर्व साँसद हिमाञ्चल राज भट्टराई, पूर्व साँसद कैंया चौधरी, राजेन्द्र देवकोटा, विष्णु सापकोटा लगायत छन ।

थापा नेकपा एमाले कैलालीका निवर्तमान अध्यक्ष हुन । उनलाई पार्टीले असार १४ गते कारवाही गरेको थियो । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रुपमा चिनिन्थे ।

CMA Staff

त्यस्तै पूर्वसाँसद भट्टराई कैलाली क्षेत्र नं. १ बाट २०५१ सालको मध्यावर्ती निर्वाचनमा विजयी भएका थिए । उनी लामो समय नेकपा एमालेको राजनीतिमा सकृय थिए । उनी पछिल्लो समय पार्टीमा भूमिका बिहिन बनाएको प्रति असन्तुष्ठ थिए ।

राप्रपाको राजनीतिमा सकृय पूर्वसाँसद चौधरी थारु समुदायमा प्रभाव राख्ने व्यक्ति हुन । उनी पञ्चायती व्यवस्था देखी नै राजनीतिमा सकृय थिए । उनी २०५१ सालमा राष्ट्रिय सभाको साँसद रहेका थिए ।

यसैगरी नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य राजाराम चौधरी, नेकपा माओवादी केन्द्रका नेता तथा घोडाघोडी अस्पतालका सञ्चालक विष्णु सापकोटा, राजनीति संवाद समितिका केन्द्रिय सदस्य तथा मसुरीयाका उद्योगी राजेन्द्र देवकोटा, नेकपा एमाले कैलालीका जिल्ला सदस्य दुजराम चौधरी र बर्दियाका डा. प्रदिप ढकाल समेत पार्टी प्रवेश गरेको केन्द्रिय सदस्य लालविर चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा २३ जना पार्टी प्रवेश गरेका छन । उनले नागरिक उन्मुक्ति पार्टी प्रति धेरैको आकर्षण बढ्दै गएको दावी गरे ।

सो पार्टीको अध्यक्ष टीकापुर घटनाको मुख्य योजनाकार भनिएका निलम्बित साँसद रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ हुन । पार्टीले कैलालीका चार स्थानीय तहमा जित हात पारेको छ । उसले टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update